• २१ पुस २०८१, आइतबार

हात्तीपाइलेविरुद्धको अभियान सफल पार्ने प्रतिवद्धता

blog

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, फागुन १० गते । नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ आयोजित मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको छ । 

बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिए पनि नेपालगञ्जकै मुस्लिम र मधेशी समुदायले हात्तीपाइलेको औषधी खान नमान्दा सो अभियान असफल हुँदैआएको थियो । स्वास्थ्य कार्यालयद्वारा हात्तीपाइले रोगको अवस्था र औषधिको महत्वबारे गराइएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागी मौलाना, हाफिज र कारीलगायतका धर्मगुरुले औषधि सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाउनुभयो ।  

सो कार्यक्रममा सहभागी मौलानाले बिहीबारदेखि शुरु हुने हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्न सबैलाई औषधि लिन आग्रह गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालयका कर्मचारी र मौलानाहरुले हात्तीपाइले रोगविरुद्धको औषधि पनि सेवन गर्नुभयो ।  

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले नेपालगञ्जको मुस्लिम समुदायमा हात्तीपाइलेको औषधि खाँदा प्रतिकुल असर गर्छ भन्ने भ्रम फैलिएकाले चिर्न आवश्यक रहेको बताउनुभयो । धार्मिक गुरुको सहयोगले यस पटक अभियान पूर्ण रुपमा सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, हात्तीपाइले रोग अभियानका फोकल पर्सन दुर्गा गौतम, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीलगायतले अभियानबारे जानकारी गराउनुभयो ।   

सो अवसरमा विश्व स्वास्थ्य संगठनका डा. वन्दना पाण्डे, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, स्वास्थ्य कार्यालयका मानबहादुर नेपाली, केशव ज्ञवाली, तेज ओली, सुन्दर विसी र मानस्वी बासकोटा लगायतको उपस्थिति थियो । 

कार्यक्रममा मदिना मस्जिदका प्रमुख मौलाना नसिरुद्दिन अन्सारी, गौसिया मस्जिदका प्रमुख मौलाना जमाल, जैसपुरका मौलाना समिउल्ला, हाफिज साकिर, कारी अब्दुल कैयुम, मेराज अहमद कादरी, अमिर रजा कादरी लगायतका धर्मगुरुहरुको सहभागिता थियो ।