• १३ साउन २०८१, आइतबार

एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति : उपप्रधानमन्त्री पौडेल

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १० गते । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले नै जित्ने दाबी गर्नुभएको छ । 

नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग बुधबार संक्षिप्त कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । यसअघि भएको सहमति अनुसार राष्ट्रपति निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र सोही उम्मेदवार नै साझा उम्मेदवार हुने उहाँले बताउनुभयो ।

वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने उहाँले बताउनुभयो । सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘यो सरकार जुन पृष्ठभुमिमा बन्यो । सरकार बन्दा जेजस्तो सहमति भयो,  त्यो सहमति नै एमालेको तर्फबाट अघि सारेको उम्मेदवारको जितको आधार हो ।’  सरकार गठनको पृष्ठभुमिमा सरकारमा सहभागी, सरकारलाई समर्थन गर्ने दलहरुबीचमा जुन सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन्छ उहाँले भन्नुभयो, “एमालेका तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढंगले जित हासिल गर्नुहुन्छ ।’