• १२ मंसिर २०८१, बुधबार

‘पिउनयोग्य पानी बनाउँछौँ’

blog

कास्की समाचारदाता

कास्की, फागुन ७ गते । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खानेपानी नागरिकको मौलिक अधिकारको विषय भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–१९, पुरन्चौरस्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको भवन शिलान्यस गर्दै प्रमुख आचार्यले खानेपानी उपलब्धता हरेक नागरिकको अधिकार भएकोे बताउनुभएको हो । 

“खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, शुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो,” प्रमुख आचार्यले भन्नुभयो, “अब यसको उपलब्धता मात्र होइन, यो शुद्धसमेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।” 

एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यमा गम्भीर असर सिर्जना हुने गरेको उहाँले बताउनुभयो । 

हाल सञ्चालनमा रहेका खानेपानीको आयोजना समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो । 

पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको शुद्धीकरणका लागि जापानी सहयोग नियोग जाइकासँगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उहाँले त्यो परियोजना अन्तिम चरणमा रहेको बताउनुभयो । 

पानीको शुद्धीकरण, मुहानको संरक्षण र पानी वितरणका सम्बन्धमा आफूहरू निरन्तर लागिरहेको उहाँले सुनाउनुभयो । 

उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुःख झेल्नु परेको सुनाउनुभयो । “विगतमा यस क्षेत्रमा बसोबास गर्ने मानिसका लागि खानेपानी निकै समस्या थियो । स्थानीयवासीको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजना सञ्चालन गरिएपछि अहिले धेरै नै राहत मिलेको छ,” उहाँले भन्नुभयो । खानेपानी व्यवस्थापनका लागि कार्यालय भवन आवश्यक रहेकामा त्यो पनि निर्माणको क्रममा रहेकाले यसले पुरन्चौर क्षेत्रको खानेपानी वितरणमा थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी छ । यस भवनले त्यस क्षेत्रका ४१५ घरपरिवार लाभान्वित हुनेछन् ।