गाेरखापत्र अनलाइन
भक्तपुर, फागुन ४ गते । सरकारी कार्यालयका प्रमुखलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्सबारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका विशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग विभाग प्रमुख प्रा. डा. निदेश सापकोटाले सोबारे जानकारी गराउनुभएको हो ।
उहाँले बिर्सने रोग डिमेन्सिया लागेको थाहा पाउने तरिका र अपनाउनुपर्ने सावधानीबारे सतर्क गराएको आयोजक भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले जानकारी गराउनुभयो ।
प्रा.डा. सापकोटाले कर्मचारीले कार्यालयको बोझ बोकेर घर जानु नहुने सुझाव दिँदै अनावश्यक दबाब र तनावबाट बच्नुपर्ने बत्ताउनुभयो । बिर्सने रोगबाट बच्न मुटुलाई स्वस्थ राख्नुपर्ने, स्वास्थ्यवर्द्धक खानेकुरा खानुपर्ने, शारीरिक व्यायामका साथै मानसिक व्यायाम गर्नुपर्ने र सामाजिक क्रियाकलापमा रमाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बुढेसकालमा बिर्सने स्वभाविक भएपनि अस्वभाविकरुपले हरेक कुरा बिर्सने रोग डिमेन्सिया अल्जाइमर्स भएको उहाँले बत्ताउनुभयो । खराब प्रोटिन मस्तिष्कमा हुने न्युरोनहरूमा जम्मा हुँदै जाँदा स्मरण शक्ति हराउँदै जाने र रोगीले अस्वाभाविक रूपमा बिर्सने प्रा.डा. सापकोटाले बत्ताउनुभयो ।
आफ्नो अनुभव सुनाउँदै एक अङ्ग्रेजीका प्राध्यापकले अङ्ग्रेजी शब्द 'वाटर'को हिज्जे लेख्न समेत नसक्ने अवस्था पाइएको जानकारी गराउँदै डिमेन्सिया अल्जाइमर्समा के गर्ने र नगर्ने ?, के बोल्न हुने र नहुने ? कहाँ जानुहुने र नहुने ? भन्ने समेत रोगीले बिर्सने उहाँ बताउनुहुन्छ।
प्रा.डा. निदेश सापकोटाले अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगन र बेलायतको पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर, भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयी अल्जाइमर्स डिमेन्सिया सिकार भएको बताउनुहुँदै नेपालमा पूर्वउपप्रधान मन्त्री शैलजा आचार्य यस रोगबाट ग्रस्त भएकी र उहाँकै स्मृतिमा अल्जाइमर्स डिमेन्सियासम्बन्धी सचेतना र उपचार संस्थाहरू नेपालमा सञ्चालित रहेका जानकारी दिनुभयो ।
उहाँले भक्तपुर अस्पतालमा अल्जाइमर्स डिमेन्सियाको निःशुल्क उपचार हुने भन्दै त्यसका लागि सिफारिस दिन कन्जुस्याइँ नगर्न स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतहरूलाई आग्रह गर्नुभयो ।
विश्वमा प्रत्येक ३ सेकेन्डमा एकका दरले डिमेन्सिया रोगीहरू बढिरहेका बताउँदै उहाँले यसबारे ज्ञान नै नभएका वा भएर पनि उपचार प्रक्रियामा आउन नसक्ने वा नचाहनेहरूलाई उपचारका लागि हौसला प्रदान गर्नुपर्ने आवश्यकता समेत औँल्यानुभयाे ।
सो अवसरमा भक्तपुर जिल्ला प्रशासन अधिकारी खगेन्द्र प्रसाद रिजालले डिमेन्सिया सचेतना कक्षाले लाभ मिलेको बताउँदै तनाव व्यवस्थापनका लागि समेत कर्मचारीका लागि छुट्टै तालिम दिन प्रा.डा. सापकोटा र भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमलाई आग्रह गर्नुभयो ।
उहाँले डिमेन्सिया अल्जाइमर्स रोगीलाई भक्तपुर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क उपचार र स्मरणशक्ति ताजगी तालिम प्राप्त हुने कुराको प्रचारप्रसार गर्नुपर्ने र अधिकतम मानिसलाई जाँचका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, कार्यक्रममा सहायक जिल्ला प्रशासन अधिकारी माधवप्रसाद शर्मा, भक्तपुर क्यान्सर अस्पतालका प्रमुख प्रा.डा. विष्णुदत्त पौडेल, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेशप्रसाद मैनाली, एसपी प्रजित केसीलगायतले डिमेन्सियाबारे विविध जिज्ञासा राख्नुभयो । – समाचार र फाेटाे साैजन्य– सञ्जिव शुभचिन्तककाे सहयाेगमा