• ९ पुस २०८१, मङ्गलबार

पुल निर्माणको माग गर्दै पत्रकार सहनी अनशनमा

blog

अनसन बस्नुभएका स्थानीय संचारकर्मी संजय सहनी । तस्बिर : गोरखापत्र

सञ्जयकुमार मिश्र 

गौर, फागुन ३ गते । सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि लालबकैया नदीमा पुल निर्माणकार्य अलपत्र रहेकोले अविलम्ब पुल निर्माणको माग गर्दै स्थानीय पत्रकार सञ्जय सहनीले तेस्रो दिन पनि अनशन जारी राख्नुभएको छ । 

पत्रकार सहनीले बुधबार तेस्रो दिन पनि आमरण अनशन जारी राख्नुभएको हो । रौतहटको गौर नगरपालिका टिकुलियाघाटस्थित लालकबैया नदीमा अलपत्र अवस्थामा रहेको पुल निर्माणको माग गर्दै सहनीले गत सोमबार बेलुकादेखि पुल निर्माणस्थलमै आमरण अनशनमा बस्नुभएको थियो । 

गौर नगरपालिका र ईशनाथ नगरपालिकालालाई जोड्ने टिकुलियाघाटस्थित लालबकैया नदीमा पुल निर्माणको ठेक्का पाएका पप्पु कन्ट्रक्सनद्वारा निर्धारित समयमा पुलको निर्माणकार्य पूरा नगरी अलपत्र अवस्थामा रहनाले पुल यथाशीघ्र निर्माणको माग गर्दै पत्रकार सहनी अनशनमा बस्नुभएको हो ।

२०७१ असार २९ गते १४ करोड ९३ लाख रुपियाँमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गतेभित्र निर्माणकार्य पूरा गर्न सम्झौता गरेको थियो । सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्यको लगभग ६० प्रतिशत काम सम्पन्न गरेर बाँकी काम अलपत्र पारिएको छ । पुल नबन्दा स्थानियबासीले निकै कष्ट मर्का झेल्दै आइरहेकोले बाध्य भएर अनशनमा उत्रनुपरेको अनशनकर्ता सहनीले बताउनुभयो । 

उक्त टिकुलियाघाटमा पुल निर्माण नहुँदा गत भदौ ९ गते डुंगा डुर्घटनमा परेर पाँच जनाको ज्यान गएपनि समयमा उक्त पुल निर्माण नहुँदा वारिपारी गर्ने स्थानीय बासिन्दाहरु बाध्यतावश डुङ्गाको सवारी गर्नुपरेको सहनीले जानकारी दिनुभयो । 

पुल निर्धारित समयमा निमाण नहुनाले गौरबाट सीमावर्ती पश्चिमी क्षेत्रलाई जोड्न एक मात्र पक्की लालबकैया नदीमा निर्माण हुन लाग्दा स्थानीय बासिन्दाहरु निकै हर्षित थिए । तर केही वर्षअघि डुङ्गामा बसेर खोला तर्ने क्रममा पानीको भेलमा परेर निर्माणाधीन पुलको पिलरमा ठोक्किएर दुर्घटना हुँदा चार महिलासहित पाँच जनाको मृत्यु भइसकेको छ ।