• २२ पुस २०८१, सोमबार

परिवर्तनका संवाहक शहीदप्रति उच्च सम्मान छ : उपराष्ट्रपति पुन

blog

उपराष्ट्रपति पुन मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, फागुन १ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले परिवर्तनका निम्ति जीवन गुमाउनु हुने तथा आन्दोलनका क्रममा घाइतेप्रति उच्च सम्मान रहेको बताउनुभएको छ । सोमबार जनकपुरधामस्थित मधेश भवनमा मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको शहीदहरूको सम्मान कार्यक्रममा उहाँले जनयुद्ध र मधेश आन्दोलन लगायतका नेपाली क्रान्तिमा शहीद तथा घाइतेप्रति उच्च सम्मान रहेको बताउनुभयो । 

राष्ट्रपति पुनले माओवादी जनयुद्ध, मधेश आन्दोलन, थारु तथा जनजातिको आन्दोलनको बलमा सङ्घीयता प्राप्त भएको बताउँदै प्राप्त सङ्घीयतालाई बलियो बनाउनका लागि जनताको भावनाअनुसारको शासन व्यवस्था अगाडि बढाउन आवश्यक भएको भन्नुभयो । 

आन्दोलनबाट नै देशमा गणतन्त्र आएको छ । सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशिता आएको छ । सिंहदरबारमा केन्द्रित सेवाहरू प्रदेश तथा स्थानीय तहमा पुगेको हो ।

“नयाँ शासन व्यवस्थालाई हामीले जनताका जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन सकेनौ भने पक्कै पनि चुनौतीहरूको चाङ्ग लाग्ने छन् र यो परिवर्तनप्रति नै प्रश्न उठ्ने छन्” उहाँले भन्नुभयो । मधेशसहित सबै सरकारले यसमा गम्भीर ध्यान दिनपर्छ, उपराष्ट्रपति पुनले भन्नुभयो । 

हामीले हाम्रा उपलब्धिलाई संविधानमार्फत संस्थागत गरिसकेका छौँ । हाम्रो संविधान एउटा सहमतिको दस्ताबेज हो । यसलाई अग्रगामी भनेका छौँ । संविधानलाई पुरस्कृत तथा परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूर्ण कार्यान्वयन गर्न भने हामीले अझै थुप्रै प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । यो एक प्रकारको गतिशील दस्ताबेज भएकाले यसलाई समय र सन्दर्भअनुसार अझै उत्कृष्ट बनाएर जनताका मागलाई सम्बोधन गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयताको संस्थागत विकास तथा मुलुकमा विकासको गतिविधि बढाउन प्रहरी समायोजन तथा सङ्घीय निजामती ऐन चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतामाथि हुने कुनै प्रकारको षड्यन्त्रलाई आफूले स्वीकार नगर्ने प्रष्ट पार्नुभयो ।  

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनयुद्ध तथा विभिन्न आन्दोलनको मर्मअनुसार अहिलेका शासन व्यवस्था सञ्चालन हुन नसकेको उल्लेख गर्दै जनताको भावनाअनुसार विकास निर्माणमा गति दिन आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा उपराष्ट्रपति पुनले मधेश प्रदेश सरकारको तर्फबाट जनयुद्ध तथा मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त पाँच सय ४० जना शहीदका परिवारलाई जनही एक लाख रुपियाँसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।