• १३ साउन २०८१, आइतबार

‘सहकारीलाई वितरणको माध्यम बनाउनुपर्छ'

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ २९ गते । प्रदेश १ का  उद्योग, वाणिज्य र सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि र उद्योगलाई उत्पादनमा र सहकारीलाई वितरणको माध्यम बनाउनुपर्ने बताउनुभएको छ । मोरङको उर्लाबारीमा उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको प्रादेशिक महोत्सवको आज आइतबार समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सहकारीको नियमन गर्न आवश्यक रहेको बताउँदै सहकारीहरू कमाउने उद्देश्यलेभन्दा समुदायको आर्थिक, वृद्धिको स्थापना भएको उल्लेख गर्नुभयो । कृषि ज्ञान केन्द्र उदास भएर बसेको भन्दै उहाँले थप्नुभयो, “उत्पादन वृद्धिको अभियानमा जोडिनुभन्दा अनुदान मिलाइदिनु भन्दै मन्त्रालय आउनेको सङ्ख्या बढी छ ।”  मन्त्री सिटौलाले कृषि अनुदानका लागि आउनेलाई मन्त्रालयको ढोका बन्द रहेको बताउनुभयो । उत्पादनमा जोडिने किसानलाई प्रोत्साहनको व्यवस्था गरिने बताउँदै मन्त्री सिटौलाले भन्नुभयो, “पालिकास्तरबाटै कृषि क्षेत्रमा हुने उत्पादनको अभिलेखीकरण हुनुपर्छ ।”

उहाँले रुग्ण उद्योगको पुरस्थापना र साना उद्योग सञ्चालनका लागि आवश्यक कच्चापदार्थ गाउँमै उत्पादन गर्नुपर्नेमा जोड्दिनुभयो । सहकारीबाट शोषित हुनेहरूले सिधै सम्पर्क गर्न अनुरोध गर्दै उहाँले  केही सहकारीहरू मापदण्डअनुसार नचल्दा समुदायमा आधारित आमसहकारीको बदनाम भएको चर्चा गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवम् सार्क वाणिज्य महासङ्घका उपाध्यक्ष चण्डीराज ढकालले नेपालको अर्थ व्यवस्था कमजोर भएका बेला प्रादेशिक महोत्सवले आम उद्योग, व्यवसायिलाई ऊर्जा प्रदान गरेको बताउनुभयो । 

देशको १२ हजार व्यवसायी कालोसूचीमा परेको बताउँदै नेपालको अर्थतन्त्र छियाछिया भएको उहाँले चर्चा गर्नुभयो । जडीबुटी, पर्यटन र कृषि उत्पादनलाई बढाउन सके मात्रै परनिर्भरता अन्त्य हुने उहाँको भनाइ छ । 

उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको समापन समारोहमा प्रदेश सांसद विद्यादेवी चाम्लिङ, उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरू तेजकुमार रिजाल, महेन्द्रजंग तामाङ, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईँले धारणा राख्नुभयो ।