• १२ मंसिर २०८१, बुधबार

विमानस्थलमा कन्भेयर बेल्ट प्रणाली सुरु

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, माघ २८ गते । देशकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये अग्र स्थानमा रहेको नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा शुक्रबारदेखि अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।  दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको यो प्रणालीको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभयो । 

सो अवसरमा बोल्दै उपमहानिर्देशक पाण्डेले विमानस्थलको सेवासुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले अब विभिन्न ठाउँबाट नेपालगञ्ज पुगेका यात्रुको सामानलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन सकिएको बताउनुभयो । 

यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँले अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको बताउनुभयो । नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवासुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढीमा ब्यागेज हैन्डलिङ सिस्टमअन्तर्गत कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०.६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार ४०० देखि तीन हजारसम्म रहेको छ ।