काठमाडौं, माघ २७ गते । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भ्रातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ साथ’ वाकाथोन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कानुनमन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले बेलुनमा बाँधिएको ‘हिडौं साथ साथ’ लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर वाकाथोनको शुभारम्भ गर्नुभएको थियो ।
उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले धन्यवाद ज्ञापन गर्नुहुँदै वितगका राम्रो कामलाई अनुसरण गर्दै प्रतिष्ठानको बृहत् क्रियाकलापलाई अझ उर्जा प्राप्त होस् भन्ने हेतूले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता क्रियाकलापले अग्रजहरूबाट विचारको आदान प्रदान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
कानुनमन्त्री प्रधान, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पूर्व समादेशकहरू, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी एवम् प्रतिष्ठानका कर्मचारीको सहभागितामा प्रतिष्ठानबाट सुरु भएको पदयात्रा बालुबाटार, भाटभटेनी, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, गैरीधारा, बालुवाटार हुँदै पुनः प्रतिष्ठानमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।