• १२ मंसिर २०८१, बुधबार

फोहोर व्यवस्थापनबारे काठमाडौँ महानगर र अमेरिकाको फेडरिसबर्ग नगरबीच छलफल

blog

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसबर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदानप्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गर्नुभएको थियो ।  

प्रस्तुतीकरणमा फोहोर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन, स्रोतमा भएको फोहोर घटाउने विधि, फोहोरको  प्रकृति, रेष्टुरेन्टलगायत ठाउँबाट उत्पादन हुने तेल र खाद्य फोहोर फोहोर, उद्योगबाट उत्पादन हुने औद्योगिक फोहोर, हानीकारक र साधारण फोहोर, प्लाष्टिक, शिशा, कागजलगायत बस्तुको गुण र व्यवस्थापन विधि समेटिएका थिए । 

दुवै नगरविच भएको प्रस्तुतिमा फोहोर व्यवस्थापनमा हुने खर्च, फोहोरसँग लगाइने शुल्क तथा दस्तुर, यसबाट प्राप्त भएको रकमबाट व्यवस्थापनमा पुग्ने योगदान, ल्याण्डफिल साइट र यसको दिगो व्यवस्थापनका विषयमा आफ्ना आफ्ना अनुभव सुनाइएको थियो । 

अनुभव आदान प्रदानका क्रममा काठमाडौं महानगर उपप्रमुख सुनिता डङ्गोलले, स्वच्छ, सफा र हरियाली सहर निर्माणका लािग आपसी ज्ञान, सीप र अनुभवबाट नतिजाका लागि क्षमता बढ्ने बताउनुभयो । 

दुवै नगरले साझा मुद्दामाथि छलफल गरेका थिए । ती मुद्दा सुल्झाउन आपसी नीतिगत प्रबन्ध र व्यावहारिक क्रियाकलापको निष्कर्ष दुवै पक्षलाई काम लाग्ने हुन्छन् । यसबाट दुवै नगरको लाभ हुने निष्कर्ष निकालेको थियो । 

फेडरिसबर्ग नगरका तर्फबाट मेयर मेरी क्याथरिन ग्रीन ल ले धारणा राख्नुभएको थियो ।