• १६ चैत २०८०, शुक्रबार

छ कार्यालय प्रमुखको सरुवा एकसाथ

blog

कर्मचारी मिलन केन्द्रद्वारा सरुवा हुने कार्यालय प्रमुखको बिदाइ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २६ गते । 
ताप्लेजुङमा चार सुरक्षा अधिकारीसहित छ जना कार्यालय प्रमुखको एक साथ सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीसहित जिल्लाबाट नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुखलगायतको सरुवा भएको हो ।

ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेल अन्यत्र सरुवा भएको छ । पोखरेलको सरुवा भएपछि नयाँ प्रजिअमा गोमादेवी चेम्जोङ आउनुभएको छ । चेम्जोङ ताप्लेजुङको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुभएको छ ।

यस्तै, नेपाली सेनाको जिल्लास्थित भीमकाली गुल्मका गुल्मपति सेनानी अदित श्रेष्ठको पनि सरुवा भएको छ । उहाँको ठाउँमा सेनानी पवन नगरकोटी आउनुभएको छ । प्रमुख सेनानीमा पदोन्नति भएसँगै श्रेष्ठको यहाँबाट सरुवा भएको हो ।

ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईको पनि सरुवा भएको छ । राईको सरुवा भएपछि प्रहरी प्रमुखका रूपमा राजन लिम्बू यहाँ आउनुहुने भएको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख रमेश अधिकारीको पनि सरुवा भएको छ । प्रमुख अनुसन्धान अधिकृत अधिकारीको सुनसरी जिल्ला सरुवा भएपछि दुर्गाप्रसाद चापागाईँ ताप्लेजुङ आउनुहुने भएको छ ।

त्यस्तै, यहाँबाट जिल्ला निर्वाचन अधिकृत दिनेश खनालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा प्रमुख तुलमाया लोवाको पनि झापाको बिर्तामोड सरुवा भएको छ । यहाँ आउने नयाँ जिल्ला निर्वाचन अधिकारी र खाद्य शाखा प्रमुखको भने टुङ्गो लागिनसकेको बताइएको छ ।

यता कर्मचारी सरुवा भएर जाने र आउने क्रमसँगै ताप्लेजुङमा हाल तीनवटा मुख्य जिम्मेवारीमा महिलाको नेतृत्व भएको छ । तीन महिला नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला न्यायाधीशमा निर्मला योङ्या र जिल्ला न्यायाधिवक्तामा मोना सिंह हुनुहुन्छ । प्रजिअ चेम्जोङ, जिल्ला न्यायाधीश योङ्या र जिल्ला न्यायाधिवक्ता सिंह जिल्लामा पहिलो पटक सम्बन्धित कार्यालयको महिला कार्यालय प्रमुख बन्नुभएको छ ।