• १२ असार २०८१, बुधबार

सुधारोन्मुख अर्थतन्त्र

blog

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले मुलुकको अर्थतन्त्र दबाबमा रहेको कसैबाट लुकेको छैन । अर्थतन्त्रलाई सुधारोन्मुख दिशामा अग्रसर गराउन सरकारलगायत सम्बद्ध पक्षबाट समय मौकामा विभिन्न सुधारात्मक नीति अख्तियार गरिँदै आएको छ । फलस्वरूप मुलुकको आर्थिक स्थितिमा सुधार हुन थालेको परिसूचक आउने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले मुलुकी अर्थतन्त्रका कतिपय परिसूचक सुधार हुन थालेको देखिएको छ । विप्रेषण बढ्न थालेको, शोधनान्तर स्थिति अनुकूल हुँदै गएको र कुल विदेशी मुद्रा सञ्चितिमा सुधार आएको आँकडा सार्वजनिक भएबाट अर्थतन्त्रमा विश्वासको वातावरण बन्दै गएको देखिएको छ । नयाँ परिसूचकबाट हालका दिनमा अर्थतन्त्र सुधारका निम्ति गरिएका प्रयास सफलीभूत हुने दिशामा केन्द्रित रहेको अथ्र्याउन सकिन्छ । 


मुलुकको अर्थतन्त्रको स्वास्थ्यका निमित्त विदेशी विनिमय सञ्चितिको आधारलाई महत्त्वपूर्ण सूचाङ्कका रूपमा लिने गरिन्छ । यस अर्थमा गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ रहेको कुल विदेशी विनिमय सञ्चिति छ महिनामा १० प्रतिशतले वृद्धि भएर पुस मसान्तसम्म १३ खर्ब ३७ अर्ब २९ करोड रुपियाँ पुग्नु सकारात्मक रूपमा लिन सकिन्छ । यसबाट मुलुकले १० महिनाभन्दा बढीको वस्तु आयात तथा झन्डै १० महिना बराबरकै वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने क्षमता राख्छ । यस तथ्याङ्कले विगत केही महिनाको दाँजोमा विदेशी विनिमयको सञ्चिति तथा आयात धान्ने क्षमतामा उल्लेखनीय रूपमा वृद्धि भएको अवस्था प्रस्ट छ । आयातमा आधारित नेपाली अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चितिले ठूलो अर्थ राख्छ र यसले अर्थतन्त्रको आत्मविश्वासलाई बलियो बनाउँछ ।


अर्थतन्त्र र अरू क्षेत्रमा समेत सुधार हुँदै गएको छ । मङ्सिर मसान्तसम्म करिब ३८ अर्ब रुपियाँले घाटामा रहेको चालू खाता पुस मसान्तमा घटेर साढे २९ अर्ब रुपियाँको हारहारीमा झर्नुले पनि मुलुकको आर्थिक स्थिति सुधारतर्फ अग्रसर रहेको सङ्केत गरेको छ । यसैगरी मुलुकको शोधनान्तर स्थितिमा समेत उल्लेख्य सुधार आएको देखिएको छ । मङ्सिर मसान्तसम्म ४५ अर्ब ८७ करोड रुपियाँ बचत रहेको शोधनान्तर स्थितिमा एक महिनाकै अवधिमा ५२ अर्ब रुपियाँले सुधार आएर ९७ अर्ब रुपियाँभन्दा माथि पुगेको छ । अघिल्लो पुस मसान्तमा शोधनान्तर स्थिति २९ अर्ब ४७ करोड रुपियाँले घाटामा रहेकोमा अहिलेको स्थितिलाई सुधारात्मक तथा उत्साहजनक रूपमा लिनुपर्छ । विगत केही समय यतादेखि नेपाली अर्थतन्त्रको आधारस्तम्भको रूपमा रहँदै आएको विप्रेषण आप्रवाहमा समेत २४ प्रतिशतले वृद्धि भएको स्थिति देखिएको छ । मङ्सिर मसान्तमा चार खर्ब ८० अर्ब रुपियाँ रहेको विप्रेषण आप्रवाह बढेर पुस मसान्तमा पाँच खर्ब ८५ अर्ब रुपियाँ पुगेको तथ्याङ्क छ । यसले पनि राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ तथा सबल बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको अवस्था हो । यसैगरी चालू आर्थिक वर्षको पुस मसान्तसम्म विभिन्न सरकारी खातामा करिब दुई खर्ब रुपियाँ नगद मौज्दात रहेको स्थिति छ । 


विभिन्न आर्थिक सूचाङ्कमा सुधारको स्थिति देखिए पनि चालू आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक व्यापार भने सन्तोषजनक छैन । खास गरी निर्यातमा सुधार हुन सकेको छैन । निर्यातमा ३२ प्रतिशतले ह्रास आएर ८० अर्ब रुपियाँमा सीमित भएको छ, जुन चिन्ताजनक विषय बनेको छ । अघिल्लो वर्ष सोही अवधिमा ९५ प्रतिशतले वृद्धि भएको निर्यात अहिले आएर ह्रास हुनुको कारण सबै पक्षले खोज्नु जरुरी देखिन्छ । महँगीको अवस्था अझै उच्च छ । पुस महिनामा मुद्रास्फीति दर बढेर सात दशमलव २६ प्रतिशत पुगेका कारण सर्वसाधारणलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको स्थिति हो । यसै कारण भान्छालगायतका सामग्रीमा भएको वृद्धिका कारण सामान्य जनता निकै मारमा परिरहेका छन् । खाद्य तथा पेय पदार्थका अतिरिक्त गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीतिमा भएको वृद्धिले दैनिक जीवनयापन महंँगिँदै गएको यथार्थ हो । चालू आर्थिक वर्षको छ महिनामा अर्थतन्त्रका मुख्य सूचाङ्कमा सुधार हुनु वास्तवमै उत्साहजनक विषय हो । यसले मुलुकको अर्थतन्त्रलाई सुदृढ तथा सबल बनाउन विशेष भूमिका खेल्नेमा विश्वस्त हुन सकिन्छ । यससँगै घट्दो निर्यातलाई वृद्धि गर्न गराउन ठोस नीति लिनु आवश्यक देखिन्छ भने बढ्दो मुद्रास्फीतिका कारण महँगो हुँदै गएको बजार भाउ नियन्त्रणका निम्ति पनि सम्बद्ध पक्षको ध्यानाकर्षण हुनु जरुरी छ ।