• ३ पुस २०८२, बिहिबार

गोरखापत्र आर्थिक बहस

blog

नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाटै आरम्भ भयो । सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरले सनद जारी गरी देशमा अखबारी पत्रकारिताको आरम्भ गर्नु अन्धकारलाई चिर्ने युगान्तकारी परिघटना थियो । सनदमा छाप्न हुने र नहुने समावेश भएका विषयमा इलमको विस्तार गर्ने विषय मात्र थिएन, कोलकाता र काठमाडौँका दरभाउ राख्ने मार्गनिर्देश थियो । त्यसमा पारदर्शी बजार र आपूर्ति प्रणालीको मार्गचित्र थियो । आजभन्दा १२५ वर्षअघि नै अर्थतन्त्रलाई दिशानिर्देश गर्न सक्ने सुकार्य गोरखापत्रको पहिलो अङ्कबाट आरम्भ भयो । सम्वत् १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा आरम्भ भएको गोरखापत्र शिक्षा र चेतनाको बिज त थियो नै, अर्थतन्त्रको स्वदेशी जग बसाउन समाचार र सूचना सम्प्रेषणमा अखबारी ब्रान्ड नै स्थापना गर्न सक्यो । साप्ताहिकबाट साता दुई, तीन र २०१७ साल फागुन ७ गतेपछि दैनिक रूपमा प्रकाशन हुँदै आएको गोरखापत्रले २०१९ सालमा गोरखापत्र संस्थान भएपछि देशले गौरव गर्न सक्ने गरी प्रकाशन गृह बन्यो । सही अर्थमा नेपाली जनमानसमा गोरखापत्र अखबारकै पर्याय बन्यो । गोरखापत्र संस्थानका रूपमा संस्थागत भएपछि अङ्ग्रेजी भाषामा नेपाललाई विश्वमा चिनाउन स्थापना गरेको ‘दी राइजिङ नेपाल’ ले समेत सफल छ दशकको यात्रा सुसम्पन्न गरेको छ । साहित्यानुरागीका निम्ति मधुपर्क मासिक, तमाम युवाको धड्कन बनेको युवामञ्च मासिक र बालबालिकाको भाषा र ज्ञान बढाउन मुना मासिक गोरखापत्र प्रकाशनको फराकिलो प्रकाशन आयाम बन्न सके । आधुनिक डिजिटल युग चुनौतीलाई सम्बोधन गर्दै गोरखापत्र र राइजिङ नेपालका अनलाइन संस्करण संसारभर नेपालको प्रतिनिधित्व गर्दै छन् । युगको चुनौतीसँगै अगाडि बढेको गोरखापत्र प्रकाशनगृह अब सार्थक आर्थिक बहसको नयाँ आयाममा समेत अग्रसर छ ।

सार्थक बहसका निम्ति आज गोरखापत्रले ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गर्दै छ । गोरखापत्र दैनिक १२५ वर्ष अर्थात् शताब्दी रजत वर्षमा अग्रसर भइरहँदा गोरखापत्र संस्थानले लामो अनुभवलाई संस्थागत गर्दै ज्ञान र अनुभव विस्तारलाई अगाडि बढाउन गोरखापत्र एकेडेमी स्थापना गरी सञ्चालनमा ल्याएको छ । यो सुखद अवसरसँगै देशको अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा योगदान पु¥याउने मूल उद्देश्यका साथ महत्वपूर्ण गोरखापत्र आर्थिक बहस–‘गोरखापत्र डिस्कोर्स’ को समुद्घाटन आज ललितपुरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने छ । यसका निम्ति सघन तयारी छ । गोरखापत्रका शताब्दी रजत वर्ष मनाइरहँदा नेपालको पहिलो अङ्ग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘दी राइजिङ नेपाल’ भव्य प्रकाशनका साथ ६१ औँ वर्षमा पुस १ गते प्रवेश गरेको छ । यो ऐतिहासिक सन्दर्भसमेतमा आयोजना गरिने सार्थक आर्थिक बहस अपरिहार्य थियो । खास गरी भदौ २३ र २४ गतेको नवपुस्ताको विद्रोहले देशलाई फरक अध्यायमा उभ्यायो । मौजुदा सरकार विस्थापित भई आगामी फागुन २१ गते प्रतिनिधि सभाको ताजा जनादेशसमेतका कार्यसूचीमा अन्तरिम सरकार स्थापना भयो । बलियो अर्थतन्त्रबिना देशले लोकतन्त्रका अभ्यासलाई समेत सार्थक बनाउन सक्दैन । बलियो अर्थतन्त्रका निम्ति लगानीको विश्वासिलो वातावरण बनाउन वाञ्छनीय नै छ । गोरखापत्र डिस्कोर्स त्यस दिशाका नवीन अग्रसरता हो ।

नवपुस्ता विद्रोहको गहन कारण खोज्नै पर्छ । सुशासन र भ्रष्टाचारमुक्त समाज नवपुस्ताको माग देखिए पनि यो वास्तविक अर्थमा सबै देशबासीको चाहना हो । देशभित्रै युवाको भाग्य र भविष्य खोज्न सुशासनसँगै आर्थिक विकास अपरिहार्य छ । त्यसका निम्ति लगानीको फराकिलो र विश्वासिलो वातावरण बनाउनु पर्छ । सुशासनको अभाव तथा साधन र स्रोतको योजनाबद्ध र प्रभावकारी सदुपयोग हुन नसक्दा नै अर्थतन्त्र अलमलिएको छ । लगानी बढ्न नसक्दा लाखौँ नेपाली बिदेसिन वाध्य छन् । वर्तमान अन्तरिम सरकारसँग निर्वाचनलाई प्राथमिकतामा राख्ने कार्यसूचीसँगै आर्थिक विकासलाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने चुनौती छ । जेनजी आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भयो । सरकारी तथ्याङ्क अनुसार ८४ अर्ब ४५ करोड रुपियाँ बराबरको आर्थिक क्षति पुगेको छ । त्यसमा सरकारी तथा सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख र निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रले लगानीका लागि सुरक्षा र विश्वासको वातावरण अपेक्षा गरेको छ । यो अपेक्षा पूरा गर्न सरकार, लगानीकर्ता, नीतिनिर्माण, अर्थतन्त्रका विज्ञ एउटै मञ्चमा बस्नु अपरिहार्य थियो । गोरखापत्र डिस्कोर्सले यो सुअवसर सिर्जना गरेको छ । अर्थतन्त्र पुनरुत्थानका निम्ति सार्थक र दीर्घकालीन मार्ग सुनिश्चित गर्न गोरखापत्र आर्थिक बहसले ठुलो आधार सिर्जना गरेको छ ।