धनगढी समाचारदाता
धनगढी, माघ २४ गते । रानाथारू समुदायको होरी पर्व सुरु भएको छ। माघ पूर्णिमाका दिन आइतबार राति होलिकाको पूजाअर्चनापछि होरी पर्व सुरु हुन्छ। रानाथारू समुदायका मानिसले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्छन्।
रानाथारू समुदायसम्बन्धी जानकार नारायण रानाका अनुसार माघ पूर्णिमाको दिन आकाशमा पूर्णिमा देखिएपछि सार्वजनिक स्थानमा होलिकाको प्रतिमा स्थापना गरेर पूजा हुने गरेको छ। गाउँका भर्रा (गुरुवा)ले भलमन्सा, गाउँका युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा होलिकाको पूजाआजा गर्ने गर्छन्। पूजाआजापछि होरीको गीत गाउँदै केहीबेर होरी खेलिन्छ। त्यसै बेलाबाट जिन्दा होरी सुरु हुने गर्छ।
अब फागु पूर्णिमाको दिन एक महिनासम्म ‘जिन्दा होरी’ खेलिने जनाइएको छ। जिन्दा होरी अवधिभरि रानाथारू समुदायका युवायुवतीलगायतले राति मात्रै होरी खेल्ने (होरी नाच देखाउने) रानाले बताउनुभयो। उनीहरूले होरी गीत गाउँदै तालमा ताल मिलाएर नृत्य गर्ने गर्छन्। साथै, हरेक साँझ होलिकाको पूजाआजा गर्दै त्यसमा पराल, झारपात थुपार्ने जनाइएको छ। यसरी थुपारिएको झारपातलाई होलिकाका रूपमा दहन गर्ने गरिन्छ। फागु पूर्णिमाको दिन होलिका दहनपछि ‘मरी होरी’ सुरु हुन्छ। मरी होरीको अवधि आठ दिनसम्म रहने गरेको जनाइएको छ। यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन रहेको छ। जसलाई ‘हट्कना’ भन्ने गरिएको छ। हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मीठा–मीठा पाकवान खुवाउने चलन रहेको रानाले बताउनुभयो।
होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ। खख्डेहरा सबैभन्दा महत्वपूर्ण दिन भएकाले सुदूरपश्चिम प्रदेश सरकारले यो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ। खख्डेहरापछि औपचारिक रूपमा होरी पर्व समापन हुने गरे पनि अनौपचारिक रूपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “चराँई चैत शुक्ल चतुर्थीका दिन परेको छ र कतै–कतै अनौपचारिक रूपमा यही दिनसम्म होरी खेलिन्छ।” सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रानाथारू समुदायको बसोबास रहेको छ।