• २५ जेठ २०८२, आइतबार

पाण्डेलाई सात वर्ष कैद आदेश

blog

काठमाडौँ, माघ २४ गते । जिल्ला अदालत काठमाडौँले सौन्दर्य प्रतियोगिताको आवरणमा नाबालिगमाथि यौन शोषण अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा सात वर्ष कैद सजाय आदेश गरेको छ। न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद र ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश गरेको हो। सरकारी वकिलले पाण्डेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरेका थिए। 

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पाण्डेलाई कैद तथा जरिवानाका अतिरिक्त पीडित राहत कोषमा १३ हजार रुपियाँ भराउने आदेश गरेको छ। न्यायाधीश ढकालकै इजलासले माघ १० गते पाण्डेलाई कसुर ठहर गरेको थियो। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर ठहरपछि सजाय निर्धारण हुनुपर्ने व्यवस्थाअनुसार सोमबार सजाय निर्धारण भएको हो। 

कसुर ठहर गरेकै दिन न्यायाधीश ढकालको इजलासले बाल यौन दुव्र्यवहार मुद्दामा भने छ महिना कैद र ५० हजार रुपियाँ जरिवाना आदेश गरेको थियो। पाण्डे दुवै कसुरमा दोषी ठहर भएका थिए। जिल्लाकै फैसलाअनुसार सजाय भुक्तानी गरे पाण्डेले दुवै मुद्दामध्येको अधिकतम कैद बसे पुग्नेछ। 

आठ वर्षअघिको घटनामा पाण्डेमाथि जबर्जस्ती करणी आरोप लागे पनि प्रहरीले सङ्गठित अपराधमा मुद्दा चलाएको थियो। जबर्जस्ती करणी मुद्दाको हदम्याद कटेपछि प्रहरी मानव बेचबिखनमा अनुसन्धान गरेको थियो। सोपछि सरकारी वकिलले मुद्दा अघि बढाएको थियो। जिल्लाको फैसलामा चित्त नबुझ्ने पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।