• २५ जेठ २०८२, आइतबार

भाडाका कारण यातायात ठप्प

blog

फाइल तस्बिर

नवलपरासी समाचारदाता

बुलिङटार, जेठ २५ गते । बाटोघाटो राम्रो भए पनि बुलिङटार र बौदीकाली गाउँपालिकाका स्थानीय बासिन्दा यातायात व्यवसायीको मनलाग्दी र चर्को भाडादरको मारमा परिरहेका छन् ।

कालीगण्डकी कोरिडोर गैँडाकोटबाट सुरु भएर जिल्लाका दुई गाउँपालिका हुँदै पाल्पा, स्याङ्जा, बागलुङ, गुल्मी भएर म्याग्दी पुग्ने सडक कालोपत्रे भइसकेको छ तर सवारीसाधनको भाडादर भने मनलाग्दी छ । यो रुटमा चल्ने यातायातका साधनले प्रतिकिलोमिटर १३ रुपियाँ उठाउने गरेपछि स्थानीय आक्रोशित भएका छन् । सवारीसाधनले मनलाग्दी भाडा उठाउन थालेपछि स्थानीयले विरोधस्वरूप त्यस्ता सवारीसाधनलाई चल्नबाट रोकेर उचित भाडादर कायम गर्न माग गरेको बुलिङटारका समाजसेवी बेलबहादुर दराईले बताउनुभयो ।

गैँडाकोटबाट बुलिङटार ४५ किलोमिटर यात्रा गर्दा ५४५ रुपियाँ भाडा उठाउन थालेपछि आक्रोशित बनेका स्थानीयले १० वटा गाडी कब्जामा लिएर सवारीसाधन चल्नमा रोक लगाएको दराईले जानकारी दिनुभयो । गैँडाकोटबाट कावासोती ३५ किलोमिटरको यात्रा गर्दा एक सय रुपियाँ भाडा लिने गर्दछन् तर कालीगण्डकी कोरिडोरको भाडा भने प्रतिकिलोमिटर १३ रुपियाँ लिएको स्थानीय बताउँछन् । भाडा समायोजन नभएसम्म यो बाटोमा सवारीसाधन चल्न नदिने अडानमा स्थानीय रहेको कोटथरका स्थानीयवासी चेसराम आलेमगरले बताउनुभयो । कालीगण्डकी कोरिडोरको अहिले सबै सडकखण्ड कालोपत्रे भइसकेको छ भने यो सडक राम्रो अवस्थामा रहेकाले पनि भाडादर भने अचाक्ली मनपरी लिने गरेको हुँदा स्थानीय आन्दोलित भएको बुलिङटारका स्थानीय मनिलाल गौतमले दुःखेसो गर्नुभयो । 

सवारीसाधनको भाडादरमा एकरूपता नभएको र मनपरी उठाउने गरेका बौदीकाली गाउँपालिकाका डिल्ली रानामगरले बताउनुभयो । पटक पटक भाडादरमा समायोजन गर्न स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराएको तर प्रशासनले व्यवसायीसँग कुनै पनि किसिमको वार्ता नगरेकाले स्थानीयवासीले चर्को भाडा तिर्नु परिरहेको बुलिङटार गाउँपालिकाका पूर्वउपाध्यक्ष मैना विश्वकर्माले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेलाई यस सम्बन्धमा टेलिफोनमा पटक पटक कुरा भएको तर यातायात व्यवसायी सङ्घका अध्यक्ष युवराज बस्यालले मोबाइल नै नलाग्ने गरेर राखेको पाइएको स्थानीय बताउँछन् । कालोपत्रे सडकमा भाडादरमा गरेको मनपरीले यात्रु मर्कामा परेको भन्दै स्थानीय भविलाल रानामगरले तुरुन्त समितिलाई बोलाएर यसको समाधान निकाल्न प्रशासनले भूमिका खेल्न आग्रह गर्नुभयो ।