हुम्ला समाचारदाता
हुम्ला, जेठ २५ गते । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपलिकाको स्याल्तडी र दुल्ली कुनमा पर्ने धुलाम्मे र हिलाम्मे सडकमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न हुँदा यातायातका साधनलाई सहज भएको छ । पानी पर्दा हिलाम्मे हुने र अरूबेला धुलाम्मे सडक हुने भएका कारण सो क्षेत्रको सडकमा ढुङ्गा बिछ्याउने कार्य गरी यातायातका साधनलाई गुड्न सहज भएको हो । सर्केगार्ड खार्पुखण्डमा बोलेरो जिप चलाउँदै आउनुभएका चालक पुरन रावतले पानी पर्दा हिलो र अरूबेला धुलाम्मे समस्या गर्दा यातायातका साधन सञ्चालन गर्न निकै समस्या भोग्नु परेका अवस्थामा सो सडकमा ढुङ्गा बिछ्याउने कार्य भएपछि सहज भएको बताउनुभयो । आफ्नो जिप तीन पटक हिलो र धुलोमा फसेका सम्झँदै अब उक्त समस्याबाट मुक्ति मिलेको उहाँको भनाइ छ ।