काठमाडौँ, असार २५ गते । मङ्गलबार बिहानै भोटेकोशीमा भीषण बाढी आयो तर सोमबार रातिदेखि कोरला नाकादेखि माथि तिब्बती क्षेत्र र नेपाली भूभागमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भएको थिएन । भोटेकोशी हुँदै नेपाल पसेको भीषण बाढीको वास्तविकता पत्ता लगाउन नेपाल–चीन सरकारस्तरीय र मौसम तथा विपत्जन्य संस्थाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढीले नेपालमा ठुलो जनधनको क्षति गरेपछि विभागले घटनाको अध्ययन सुरु गरेको हो ।
बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी प्रवेश गरेको देखिएको थियो । विभागकी प्रवक्ता विभूति पोखरेलले भन्नुभयो, “नेपाल र तिब्बत दुवैतिर ठुलो वर्षा भएको देखिँदैन, अन्य सम्भावित विषयमा अनुसन्धान भइरहेको छ ।” अकस्मात् आएको बाढीबारे विभागको प्रारम्भिक अध्ययन विवरण सार्वजनिक गर्दै टिमुरे जलमापन केन्द्रको तथ्याङ्क अनुसार बिहान ३ बजेर १० मिनेटमा उक्त स्थानमा जल सतह एक्कासि बढेको बाढीविज्ञ विनोद पराजुलीले बताउनुभयो ।
विभागका अनुसार भोटेकोशी नदी जलाधार क्षेत्र मानिने तिब्बतको भूभागमा थुप्रै हिमताल छन् । उच्च हिमाली भेगमा हिउँ पनि प्रशस्त छ । जलवायु परिवर्तनबाट सृजित तापक्रमको प्रभावले हिउँ पहिरोका रूपमा झरेर हिमनदीहरू थुनिँदा पछि विस्फोट भएर बाढीको रूप लिएको हुन सक्ने अनुमान गरिएको छ ।
उहाँले भन्नुभयो, “वर्षाले होइन, तिब्बत क्षेत्रमा नेपाल पानीढलो भएको कुनै हिमताल फुटेको वा हिमपहिरो गएर हिमनदी थुनिँदा भएको विस्फोटपछि भोटेकोशीमा बाढी आएको सम्भावना छ ।” कसरी ठुलो बाढी आयो भनेर थप अध्ययन गर्न उच्चस्तरीय स्याटेलाइटको तस्बिर लिन विश्व मौसम सङ्गठनलगायतसँग पहल भइरहेको जानकारी उहाँले दिनुभयो । सङ्गठनकै विभिन्न वर्षा र बाढीको मोडलहरूले पनि नेपाली तथा तिब्बती भूभागमा ठुलो वर्षा भएको देखाएको छैन ।
बहाव उच्च भएर पौने ४ नबज्दै बाढी ५.३७ मिटर पुगेको पाइएको विभागले औँल्याएको छ । लगत्तै विभागको रसुवाको स्याफ्रुबेँसीमा स्वचालित जलमापन केन्द्र बाढीले बगाएको थियो । नुवाकोटको वेत्रावतीको जलमापन केन्द्रमा बिहान ५ बजे बाढीको बहाव उच्च हुँदै करिब सोह्र सय घनमिटर प्रतिसेकेन्ड पुगेको थियो । विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीको अति प्रभाव भोटेकोशी तथा त्रिशूली नदी आसपास परेको छ । नुवाकोटको त्रिशूली हुँदै धादिङ जिल्लाको बुढीगण्डकी दोभान आसपास पनि बाढीले असर पारेको छ ।
अझै पनि त्रिशूलीको तल्लो तटीय आसपासका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन विभागले भनेको छ । नेपाल–चीन सीमानजिक रसुवाको क्यान्जिङ मौसमी केन्द्र र धुन्चे मौसम केन्द्रमा फाटफुट वर्षा भएको थियो । पराजुलीले भन्नुभयो, “हामी आफैँ पनि स्याटेलाइटबाट फोटो खिच्न कोसिस गरिरहेका छौँ, उताको सरकारले पनि केही पत्ता लगाउन सकेको छैन । यतिबेला बादल लागेर पानी पर्न थालेको छ । चिनियाँ अधिकारीले वर्षाका कारण बाढी थपिन सक्ने भएकाले सतर्क रहन मङ्गलबार साँझ सूचना पठाएको छ ।