काठमाडौँ, साउन १३ गते । गत असार २७ गते चितवनको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका पदमबहादुर रानाको बाघको आक्रमणबाट मृत्यु भयो । अघिल्लो वर्ष घना बस्तीस्थित नारायणी नदी किनारमा घुमफिर गर्न गएका एक जनालाई बाघले आक्रमण गरेर घाइते तुल्याएको थियो । यी दुई घटनाले पाटेबाघ संरक्षित वनमा मात्र सीमित नभएर सामुदायिक वन र घना बस्तीतिर विचरण थाल्नुका साथै नेपालमा मानव–बाघ द्वन्द्वको घेरा अति निकट बनाएको देखाउँछ । संरक्षणकारी निकायको तथ्यले पनि बाघ बढ्दै गर्दा मानिसलाई आक्रमण गर्ने दरमा वृद्धि भएको दर्शाएको छ ।
बढी बाघ रहेको चितवनमा गत आर्थिक वर्ष २०८०/८१ मा बाघले आक्रमण गरेर छ जनाको ज्यान लिएको थियो । अघिल्लो आर्थिक वर्षमा बाघले सबैभन्दा बढी ११ जनाको ज्यान लिएको थियो । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट चार जनाको ज्यान गएको थियो । बाघ संरक्षणकै लागि भनेर नयाँ स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज आसपासका मानिसमा पनि बाघको आक्रमण भएका छन् । मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न पाटेबाघको दिगो व्यस्थापनमा जोड दिन थालिएको विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार संरक्षित वनक्षेत्रमा आहारा प्रजाति, घाँसे मैदान विस्तारसँगै चोरीसिकार नियन्त्रण र मानव वन्यजन्तुबिच सद्भाव बढाउने खालका कार्यक्रमलाई बढावा दिइएको छ ।
विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार एउटा बाघको भोक मेट्न हप्तामा एउटा मृग वा बँदेलको सिकार गर्नु पर्छ । त्यस हिसाबले वर्षको २१ हजार तीन सय आहारा प्रजातिको आवश्यकता पर्छ । उहाँले भन्नुभयो, “आहारा प्रजातिको अभाव छैन । सङ्ख्या बढोत्तरीले यसको वासस्थानलाई फरक पारेको छैन । एउटा बाघलाई खाना, पानी र बासको राम्रो उपलब्धता भएको खण्डमा १५ वर्गमिटरसम्म आफूलाई सीमित राख्न सक्छ । त्यतिभित्र पनि सिकार नपाएमा एक सय वर्गमिटरसम्म विचरण गर्छ ।”
नेपालमा करिब पाँच सय बाघ रहन सक्ने क्षमता छ । चितवनमा मात्र १३८ वटा बाघ राख्न सकिन्छ । त्यसैले बाघ बाहिरिएर मानवलाई आक्रमण गर्नुमा अन्य कारक बढी प्रभावी रहेको उहाँको तर्क छ । सङ्ख्या बढेसँगै बाघ–बाघबिचको द्वन्द्व र बस्ने क्षेत्र वृद्धि हुँदा मानव–बाघबिचको द्वन्द्व बढाउँदै लगेको विभिन्न अध्ययनले देखाएका छन् ।
आचार्यले भन्नुभयो, “बाघ हुर्कंदै जाँदा ठुलो भएपछि आफ्नो क्षेत्र बनाएर राज गर्न खोज्छ । त्यस्तोमा पहिले त्यस ठाउँमा बसिरहेको अर्को बाघसँग झगडा पर्न थाल्छ । बिस्तारै त्यस्ता बाघ वनबाट विस्थापित हुँदै सामुदायिक वन र नदी किनारतिर पुग्छन् र मानवसँग जम्काभेट हुँदा आक्रमण गर्छ ।”
बाघ बुढो हुँदै गएपछि सिकार गर्न नसक्दा खानाको सहज खोजीमा चरण क्षेत्रमा पुग्छ । उसले खाने मासु नै हो, घरपालुवा जनावर जस्तै उसले मान्छेलाई पनि आहारा सोचेर आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । कतिपय बिरामी बाघ मध्यवर्ती क्षेत्रमा पुग्दा मानवसँग जम्काभेट हुने गरेका छन् । यस्ता बाघको सङ्ख्या करिब तीनदेखि चार प्रतिशतको हाराहारीमा रहेको अनुमान छ । नेपालको पाँच बाघ संरक्षण क्षेत्रमध्ये चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा पाटेबाघ छन् ।