• ९ फागुन २०८२, शनिबार

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

blog

बागमती, फागुन ९ गते।जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२ र ८३ को सात महिनाको अवधिमा  ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ ।

कार्यालयले अघिल्लो आव २०८१ र ८२ मा ट्राफिक नियम उल्लङघन गर्ने ३० हजार ३४ सवारीसाधन चालकमाथि कारबाही गरी  दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको थियो ।

प्रहरी निरीक्षक फुयाँलका अनुसार मकवानपुर जिल्लामा चालु आवमा भएका १९६ सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने ३८६ जना घाइते भएका छन् ।

अघिल्लो आव २०८१ र ८२ मा मकवानपुरमा ४०७ सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने ९६५ जना घाइते भएका थिए । पछिल्लो समय सञ्चालन गरिएको ट्राफिक सचेतना र नियमति ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा हुने मानवीय क्षतिमा कमी आउनुको साथै ट्राफिक नियम उल्लङ्घनकर्ताको सङ्ख्यासमेत घट्दै गएको प्रहरी निरीक्षक फुयाँलले बताउनुभयो ।

“हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो, “आव २०८२ र ८३ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत गरी ५४७ पटक ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । त्यसबाट ३९ हजार २४६ जनालाई सचेतना दिइएको छ ।”

यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको फुयाँलले बताउनुभयो ।

बढ्दो सवारीसाधनको चाप, साँघुरो सडक, चालकको लापर्वाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रासस