इलाम, फागुन ४ गते । देशका हरेक निर्वाचन क्षेत्रमा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको रौनक बढ्दै छ । हरिया चिया बगानले भरिएको इलाममा भने राजनीति शान्त छ । कन्याम चियाबगाननजिकै होटल गरेर बस्नुभएकी अनिता लामा भन्नुहुन्छ, “अहं हाम्रोतिर अरू ठाउँको जस्तो चुनाव कहिल्यै भएन, यहाँ भोट माग्नेहरू माग्छन्, जान्छन्, दिनेहरूले पनि दिने दिन दिन्छन् अनि चुप लागेर काममै फर्कन्छन् ।”
चियाका बुटाहरूमा नयाँ पालुवा पलाओस् भनेर काँटछाँट भएका छन् । कतै कतै अब पर्ने पानीले चियामा किरा नलागोस् भनेर औषधी पनि छरिँदै छ । दक्षिण तर्पायाँ परेका भिरालाका चियाका बोट भने घामको रापले राता हुँदै छन् । उत्तरतिरको चिसो हावामा हरिया मुना पलाउँन आँटेका छन् । अनिता थप्नुहुन्छ, “विदेश जाऊँ वा सहरमा काम गर्न जाऊँ तर बुढेसकालमा फर्केर यही चियाको पातसँग नखेली हामीलाई सुख र शान्ति आउँदैन ।”
उहाँका श्रीमान् पनि वैदेशिक रोजगारीबाट फर्केपछि फेरि चियाबगानकै काममा हेलिनुभएको छ । चिया बगानले धानेका मानिसका जिन्दगानीहरूले सहरियाहरूलाई चियाको चुस्कीमा मस्त पार्न थरिथरिका चियाका पोका कोसेली पठाउन ठिक्क थिए । चिया चुस्कीको बयान र बगानको बखान गरेर स्थानीयवासी कहिले थाक्दैनन् । फिक्कलका सवारीचालक प्रेम मगर सुनाउनुहुन्छ, “आउनेहरू हेरेर फर्किजान्छन्, हामी यहीँ रहन्छौँ, चियाको बोटसँगै, त्यसैले यसैलाई कसरी राम्रो बनाउने भनेर भोट माग्नेहरूसँग पनि भनिरहन्छौँ ।”
उहाँ दैनिक जसो नै धरानदेखि इलामसम्म यात्रु र घुमन्तेहरूलाई ओहोरदोहोर गराउनुहुन्छ । यता झापाको जस्तो कचकच नभएको उहाँको तर्क छ । दुई वटा क्षेत्रमा पुराना र नयाँ दुवै पार्टीले युवालाई नै उठाएका छन् । त्यसैले जसले जिते पनि फरक नपर्ने सोच स्थानीयवासीको छ ।
जेनजी पुस्ताकै विनिता थामी जसले जिते पनि गाउँका युवा गाउँमै रहेर काम गरिखान पाउनुपर्नेमा विश्वास राख्नुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँमा पढ्नेसँगै काम गरेर बस्दा नर्सिङ गरेर २० हजार कमाउँथे, १२ हजार होस्टललाई तिर्थें, अब आठ हजारले के गर्दो हुँ, सकिएन बाँच्न ।”
त्यसपछि उहाँ गाउँ फर्किनुभयो । हेल्थपोस्टमा जागिर खुल्यो । करारमै भए पनि जानेको स्वास्थ्य सिप गाउँमै बाँड्दै हुनुहुन्छ । अब स्थायीको विज्ञापन खुलेपछि यहीँ बसेर परीक्षा पास गर्ने सोच उहाँको छ । आमाबुवा र आफूसँगै भाइ पनि गाउँमै बस्ने उहाँको सपना छ । किनभने गाउँका अधिकांश युवा विदेश छन् । त्यही लर्कोमा भाइ गयो भने मर्का पर्दा सघाउने मान्छे हुँदैनन् । चुनावमा जित्नेले गाउँमै बस्न मिल्ने बनाइदिए हुन्थ्यो भन्ने आशा उहाँको छ ।
जम्मा दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा कुल मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना छन् । जसमा एक लाख १२ हजार १५८ महिला मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयँलका अनुसार अहिलेसम्म एकाधबाहेक गुनासाहरू आएका छैनन् । चारगतेपछि गर्नुपर्ने प्रचारका लागि बनाइएका दलका नमुना मतपत्र भेटिएपछि अहिले प्रयोग नगर्न भनेर सचेत बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही उम्मेदवार घरदैलो गर्दै छन्, हामी भने मतदाता शिक्षा आइतबारदेखि सुरु गर्दै छौँ ।” असी जना मतदाता शिक्षकले दुरदराजसम्म पुगेर कसरी मतदातालाई भोट हाल्ने भनेर सिकाउन सहज बनाउने उपायहरूका बारेमा भने अझै छलफल जारी नै छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका मानकाजी खड्का, नेपाली कांग्रेसका निश्कल राई, राप्रपाका ज्वाला नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गडालसहित १३ जना उम्मेदवार हुनुहुन्छ । उता इलाम २ मा नेपाली कांग्रेसका भेषराज आचार्य, एमालेका सुहाङ नेम्वाङ, राप्रपाका गणेशप्रसाद दुलाल, रास्वपाका गोकुलबहादुर राईसहित १४ जना उम्मेदवार हुनुहुन्छ ।