प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन ९ गते । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको तयारी गरिएको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी तीव्र पारिएको छ । निर्वाचन कार्यालय सल्यानका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा आइपुगेको छ भने व्यवस्थापनको काम पनि तीव्र गतिमा अघि बढाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले मतदान स्थलहरूमा आवश्यक सामग्री व्यवस्थापन तथा समन्वयको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था, सामग्री ढुवानी तथा प्राविधिक तयारीलाई विशेष प्राथमिकता दिइएको छ ।
त्यसैगरी, मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले मतपत्र प्याकेजिङ कार्य सुरु गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्लाह कुमार योगीका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको जिम्मेवारी निर्धारण गरिसकिएको छ । निर्वाचनमा खटिने कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
यस निर्वाचनका लागि सल्यान जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको छ। ती केन्द्रहरूमा कुल एक हजार दुई सय ३० जना कर्मचारी परिचालन गरिने जनाइएको छ ।
जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला मतदाता छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।