हरिवन (सर्लाही), फागुन ९ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोल चर्किंदै जाँदा जनताको मत मात्र हैन मतदाताबिच नयाँ र पुराना दलका दर्शन, काम र सोचको जुहारी पनि चर्कंदो छ । यतिखेर चुनावी प्रचारप्रसारका लागि मैदानमा पुराना दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेकपा (माओवादी), जनता समाजवादी पार्टी नेपाल लगायत दल आफ्नै पुरानो ढर्रामा उत्रिएका छन् । उनीहरूका घोषणापत्रमा उही पुराना र पूरा नहुने विकासे कुरा मात्र यस पटक पनि रहेको आरोप मतदाताले लगाएका छन् ।
उता पुराना नेताले देशमा सुशासन ल्याउन नसकेको, दलको आवरणमा माथिदेखि तलसम्म भ्रष्टाचार मौलाएको, युवा जनशक्तिलाई देशमा राख्न कुनै काम नगरेको रिस यस पटकको चुनावमा पोख्दै छन् । त्यस्तै जनताको सुख सुविधाभन्दा पनि आफ्ना र आसेपासेलाई वरिपरि राखेर लोकतान्त्रिक शासनलाई निरङ्कुश बनाएको भन्दै आफ्नै नयाँ राजनीतिक दल खोलेर राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दुवैथरी दलका पुराना र नयाँ सोचसँग निकट रहेका दुवै पुस्ताबिच अचेल गाउँघरका चिया पसल, बरपिपलको चौतारा, किराना पसल, स्थानीय हाटबजार जताततै आमनेसामने विचारको खिचातानी हुने गरेको छ ।
हरिवन–८ का जेनजी पुस्ताकी स्वस्तिका पोखरेलका अनुसार नेपालको शिक्षा र स्वास्थ्य अति महँगो भयो । मध्यम वर्गीय परिवारले स्नातकसम्म खर्च गरेर आधुनिक कलेज तराईमै भए पनि पढाउन सक्ने अवस्था छैन । स्वास्थ्य क्षेत्रको उपचारमा पनि धेरै जालझेल छ । सिटामोलदेखि जीवनजलसम्म सरकारले दिने भने पनि कहिले जनताले सित्तैँमा पाएको अवस्था नरहेको दुखेसो छ । उहाँले भन्नुभयो, “यी सबै कुरा कम्तीमा त्यही समस्या भोगिरहेका युवा नेताहरूले बुझून् भन्ने लागेको छ, यदि गरेनन् भने उनीहरूलाई पनि दुई वर्षपछि फिर्ता बोलाइहालिन्छ ।”
धान पसलमा युवा र पुराना पुस्ताका मतदाताबिच अर्को जुहारी चल्दै थियो । अलिक पुरानो पुस्ताको नेतृत्व गर्ने शिवशङ्कर दास भन्नुहुन्छ, “जनताले खोजेको निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगार नै हो, त्यो नपाएकाले अहिले घरभित्र बसिनसक्नुको दबाब अभिभावकहरूले खेपिरहेका छन्,” उहाँले भन्नुभयो, “छोराछोरीले नयाँलाई मत नदिए विदेश गएपछि नफर्कने भन्छन्, पहिले विश्वास गरेका नेताहरूले उनीहरूलाई यहाँ राख्ने गरी योजना नै ल्याउँदैनन्, अब के गर्नु ?”
जेनजीलाई समर्थन गर्ने सुनीलकुमार साहले भन्नुभयो, “साँच्चै युवालाई दिइएन भने घरमा हामी बस्दैनौँ, बसून् एक्लै बुढाहरू ।” शिवशङ्करले जिस्क्याउँदै भन्नुभयो, “हामीसँग पनि वृद्धभत्ता छ, खाएर बस्छौ नि, एक दिन त फर्किहाल्छौँ घर ।” सुनीलकुमारका अनुसार देशमा २०४६ सालयता बन्द भएका उद्योगधन्दा र व्यवसाय सबै खोल्ने र मानवपुँजी देशमै राख्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।
बुधबार बिहान सर्लाहीको हरिवन–८ स्थित एक चिया पसलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका युवा र बुढा पुस्ताबिच त्यस्तै चर्काचर्की चल्यो । ८८ वर्षका पूर्णचन्द्र उप्रेतीले भन्नुभयो, “मङ्सिर महिनाको धान धोक्रामा हाल्दाखेरि ढाँटेरै बढी हाल्ने किसानको चाल हुन्छ, अहिले अवस्था त्यस्तै छ, जतिसक्दो एकअर्कालाई ढाँटेरै आफू अगाडि बढ्नुपर्ने अवस्था पुराना र नयाँ दुवैमा देखिएको छ ।” कहिलेकाहीँ नेताहरूकै विचार नपुग्दा अहिलेको अवस्था आएको धारणा उहाँको छ । यसरी चिया पसलमा बसेर नगफिएको धेरै भएको थियो । यो निर्वाचनको रस्साकस्सीले पुराना दलका स्थानीय जग धानेर बसेका नेताहरूलाई फेरि चियापसलमा फर्काएको उहाँ सुनाउनुहुन्छ । नेपाली कांग्रेसका स्थानीय नेता डाकुरनाथ खतिवडा नेपाली कांग्रेसले विगतदेखि वर्तमानसम्म पनि जनताका बारेमा सोचेन भन्नु गलत हुने तर्क गर्नुहुन्छ । समय अनुसार नीति र नियम केन्द्रमा पुगेका नेताहरूले नगरेको मान्नुहुन्न । दस वर्षको सशस्त्र द्वन्द्वबाट मुलुकलाई बाहिर ल्याउन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा खेलेको भूमिका जनताले बिर्सन नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अहिले पनि सर्लाहीबाट उठेका आफ्ना सभापति र अन्य उम्मेदवारले देशको सुशासन, जेनजी युवाको रोजगारीको आवश्यकता, शिक्षा र स्वास्थ्य सबै मुद्दामा जनताको साथमा रहने प्रतिबद्धता जनाउनुभएकै छ ।” जेनजी आन्दोलनपछि आफूलाई लागेको आरोप सुशासनका पक्षमा केही हदसम्म सही भएको उहाँ स्वीकार गर्नुहुन्छ । आफू युवाकै पक्षमा रहेर रास्वपामा जान खोजेको तर त्यहाँ दलको संस्कार विकास भइनसकेको देखेपछि कांग्रेसमै थप सङ्घर्ष गर्ने पक्षमा उभिएको खतिवडा बताउनुहुन्छ ।
पूर्वसांसद तथा एमाले नेता डिल्ली उप्रेती युवाले पछिल्लो समय खोजेको सुशासन नै रहेको स्पष्ट पार्नुहुन्छ । उहाँका अनुसार देशमा पुराना दलका नेताका कारण भ्रष्टाचार र बेथिति भएकै हो । रोजगारीका लागि औद्योगिकीकरण पनि नभएकै हो । कृषिमा पनि कृषि क्रान्तिको विषय धिमा भएकै हो । त्यसकै विद्रोह जेनजी आन्दोलन हो भन्नेमा दुई मत राख्नु हुन्न ।
त्यस आन्दोलनमा केही घुसपैठ भएका कारण गोली चल्ने र सिंहदरबार जल्नेसम्मको अवस्था आएको धारणा उहाँको छ । अब दलहरूले देशका लागि विकास निर्माणसँगै सुशासनको मुद्दालाई साँच्चैको कार्यान्वयनमा जाने गरी बढ्न सक्नु पर्छ ।
उहाँले थप्नुभयो, “साना कामका लागि पनि जनताले नेतालाई फोन गरेर काम अह्राउनुपर्ने, कतै पैसा तिर्नुपर्नेलगायतका कुराले मान्छेमा वितृष्णा फैलाएकै हो । जुन जुन कुराले वितृष्णा फैलिएको हो, त्यो धरातलबाट पुराना राजनीतिक पार्टीहरूले सोच्नै पर्छ ।”
रास्वपा नजिक रहेका युवा मिलन आलेमगर रास्वपासहितका जेनजी नेताहरूलाई अब शासन गर्न एक पटक पाँच वर्ष दिनै पर्ने बेला आएको सुनाउनुहुन्छ । उहाँ पीडा सुनाउनुहुन्छ, “देशमा काम पाइन्न, विदेश जाने तयारी गरेको छु, मेरो दाजु पनि जाँदै छ, अब भन्नुस् पुराना दलका नेताले हाम्रा लागि के गरे ?”