• ८ फागुन २०८२, शुक्रबार

नेता घरघरमा, मतदाता सीमापार

blog

व्यापार व्यवसायका लागि भारतको वैरगनियाँ बजार पुगेका रौतहटका स्थानीय ।

  • नेपालको भूभाग भएर पनि विकास नभएका कारण भारतको बैरगनियाँ बजारमा निर्भर हुनुपर्ने नियतिका कारण नेताहरूको जितले कुनै भूमिका नराख्ने मतदाताको गुनासो
  • नेता एक दिन भोट माग्न आउँछन् अनि जितेपछि हराउँछन्, जनतालाई के फाइदा भो ?

रौतहट (गौर), फागुन ८ गते । जसरी हिउँदको चिसोलाई बढ्दो गर्मीले माथ दिँदै छ त्यसै गरी आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा चुनावी गर्मागर्मी बढेको छ । मतदाताका लागि यो निर्वाचन थप चुनौतीपूर्ण बनेको छ । किनकि यहाँ विगतको लामो विरासत बोकेका दलका वरिष्ठ नेताहरूसँगै परिवर्तनको शङ्खघोष गर्ने नयाँ जोसजाँगरसहितका नयाँ पार्टी र नेताहरूबिच घम्साघम्सी हुने देखिएको छ । 

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल जीवनको पाँचौँ पटक निर्वाचनमा होमिएकै बेला उर्लेको नयाँ युवा लहरका कारण पनि रौतहट–१ थप चर्चामा छ । यहाँ नेता नेपालसँगै निर्वाचन प्रतिस्पर्धामा नेपाली कांग्रेसका अनिल झा, नेकपा (एमाले) का अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी, जसपा नेपालका योगेन्द्र राय यादवलगायत ३९ जना उम्मेदवार हुनुहुन्छ । 

यहाँका कतिपय मतदाता जो यहाँ बर्सौंदेखि जितिरहेका छन् उनै नेता नै फेरि आउने धारणा राख्छन् भने कतिपय साँच्चैको देश बनाउन अब युवा जोस र जाँगरलाई मतदाताले सघाउनुपर्ने मत राख्छन् । अधिकांश मतदाता भने नेपालको भूभाग भएर पनि भारतको बैरगनियाँ बजारमा निर्भर यहाँको जनजीवनमा नेताहरूको जितले कुनै भूमिका नराख्ने टिप्पणी गर्छन् । 

रौतहट–१ का पुराना मतदाता सञ्जीवकुमार केशरी भारत निर्भर अर्थ र जीवन परिवर्तन हुन नसक्दा यहाँका युवा विदेश पलायन हुनुको विकल्प नरहेको औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “यो क्षेत्रमा उद्योगधन्दाको नामोनिसान छैन, व्यापार गर्ने कोठी धमाधम खाली भइरहेका छन्, यस्तोमा नेता एक दिन भोट माग्न आउँछन् अनि जितेपछि हराउँछन्, जनतालाई के फाइदा भो ?”

उहाँका अनुसार पुराना नेताका रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यहाँको जनताका लागि केही काम नगरेको होइन । नर्सिङ कलेज, पोलिटेक्निक कलेज, घण्टाघर, सडक र केही साना पुल उहाँ प्रधानमन्त्री भएका बेला बनेका थिए तर तिनले उत्पादन गरेको जनशक्ति कहाँ जाने र काम गर्ने भन्ने नहुँदा पढेकाहरू पनि रोजगार नपाउँदा थन्किनु परेको गुनासो उहाँको छ । यहाँका बासिन्दाको प्रमुख पेसा भनेको कृषि उत्पादन, ज्यालादारी र वस्तुव्यापार हो । व्यापारका लागि भारतको बैरगनियाँबाट सामान ल्याएर यहीँको बजारमा खपत भने हुन सक्दैन । उहाँ थप्नुहुन्छ, “बिहे, पर्वको मौसम आयो भनेर पसलभरि सामान ल्यायो, स्थानीय आफैँ खुला नाकाबाट अटो भरी भरी सामान लिएर आउँछन्, कसरी चल्छ पसल ।”

चिनी, मदिरा, चिसो पेयपदार्थ, चुरोटलगायतका सामग्री पारि भारतमा आधा मूल्यमा आउँछ । यता रौतहटमा सरकारको १३ प्रतिशत करसहित नागरिकले किन्नुपर्दा महँगो पर्छ । हरेक दिनजसो नै रौतहटका मतदाता घरायसी सामान खरिद गर्न लाम लागेर विभिन्न नाका हुँदै बैरगनियाँ पुग्ने गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको उम्मेदवारका रूपमा मत माग्नका लागि पूर्वप्रधानमन्त्री नेपाल पनि यतै हुनुहुन्छ । उहाँको घरमा कार्यकर्ता आवतजावत गरिरहँदा छेवैका घर पसलमा भने चुनावभन्दा दैनिकी र विगतमा नेताले गरेको नकामको चर्चा चल्दै थियो । मतदाता जगरनाथ मुखियाका अनुसार रौतहटमा उद्योग नभए पनि पर्सा, परवानीपुरका चिनी मिल, डाल्डा, खाद्य उद्योगमा उतिबेला यहाँबाट काम गर्न जानेको लर्को लाग्थ्यो । त्यस्ता उद्योग यहाँ पनि खोल्नुपर्नेमा भएका पनि सबै नेताकै बेइमानीका कारण बन्द हुँदा आज आफ्ना छोराछोरी खाडी र मलेसियाको भरपर्नु परेको पीडा उहाँ पोख्नुहुन्छ । 

उहाँका दौँतरी राजेशकुमार सिन्हा भने मधेशको राजस्वमा नेपाल सरकारमा रहेर नेताले हालीमुहाली गरेको आरोप लगाउनुहुन्छ । मधेशले ८२ प्रतिशत सरकारलाई राजस्व भर्दा पनि यहाँबाट जितेर गएका नेताले १२ प्रतिशत बजेट मात्र फर्काउने गरेको दुखेसो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “यदि साउदी, कतार र मलेसिया गएर काम गर्न नपाउने हो भने र भारतको बैरगनियाँको सस्तो बेसाहा नपाउने हो भने यहाँका मान्छेले एकअर्कालाई लुटेरै खान्छन्, नेताहरू त आफ्ना छोराछोरी लिएर काठमाडौँ गइहाल्छन् ।”

रौतहट–१, बागमतीको बाढीको उच्च जोखिमको क्षेत्र पनि हो । यहाँका किसानले लगाउने मकै, गहुँ, धान र तरकारी खेतीमा बारम्बार बाढीले बगाउने र डुबाउने गरेको गुनासो मतदाताको छ । गत असोजमा आएको बाढीले किसानको धेरै धान डुबायो, कम्तीमा राम्रो बाँध र पिलर मात्र बनेको पुल त पूरा गर्नुपथ्र्यो । त्यो पनि कुनै नेताले गराउन नसकेको उहाँ सुनाउनुहुन्छ । 

बढ्दो वितृष्णाको आड नयाँ युवा 

पुराना नेताप्रति बढेको वितृष्णाका बारेमा गौर अस्पतालका तीन जना चिकित्सक तथा मतदाताको फरक मत छ । चिकित्सा शिक्षा पढेर आफ्नै घरपायक गौर अस्पतालमा काम गर्न आउनुभएका डा. विक्रान्त मेहताका अनुसार पहिलेको भन्दा यहाँको जनस्वास्थ्यको अवस्था केही हदसम्म सुधार त भएको छ । उहाँले भन्नुभयो, “त्यसमा नेताहरूको भूमिका छ तर भएको कानुन कार्यान्वयन गरेर जनताको जीवनस्तर बढाउन भने उनीहरूले सकेनन् ।”

उहाँले भन्नुभयो, “एउटा पेसागत व्यक्तिले काम गर्छ र गर्न जान्दछ भन्ने विश्वासमा नै नयाँ दल तथा युवा नेताप्रति पछिल्लो समय मतदाताको आकर्षण बढेको जस्तो लाग्छ । उहाँसँगै काम गर्ने अर्का चिकित्सक डा. अभिषेक ठाकुर पनि पुराना नेताले नीति बनाए पनि त्यही अनुसारको सोच आफूमा विकास गर्न नसकेको टिप्पणी गर्नुहुन्छ । 

निर्वाचनलाई पछि कमाउने धन्दाभन्दा पनि जनताको जीवनस्तर उकास्ने नीतिको सही पालना गराउन सक्ने नेता अबको आवश्यकता भएको उहाँ औँल्याउनुहुन्छ । पुराना नेताले अब पार्टी र देशको थिङ्क ट्याङ्का रूपमा काम गरेर नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गर्नुपर्नेमा उहाँ जस्तै युवा मतदाताको जोड छ ।