गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ९ गते । नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यले मतदाताहरूमा आफ्नो लागि ठुलो उत्साह र भरोसा पाएको बताउनुभएको छ । ‘काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आम नागरिकले एक जना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यन्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘म सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठुला भाषण गर्नमा विश्वास गर्दिनँ, म जे गर्न सक्छु, त्यो मात्र बोल्छु । त्यसैले उहाँहरूले देखाउनुभएको यो अगाध माया र सम्मानले मलाई थप जिम्मेवार बनाएको छ ।’
उहाँले जनप्रतिनिधि रहँदा वा नरहँदा, सधैँ समाजसेवा र अध्ययन–अनुसन्धानमै आफ्नो समय बित्नेगरेको भन्दै ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’ भन्ने भावनाका साथ राष्ट्र र जनताको सेवामा समर्पित भएको उल्लेख गर्नुभयो ।
‘मेरा लागि राजनीति पेशा होइन विशुद्ध सेवा हो । म यही काठमाडौंको माटोमा जन्मिएँ । यहीँको हावापानीमा हुर्किएँ । त्यसैले यस क्षेत्रप्रति मेरो दायित्व अगाध छ’ उहाँले भन्नुभयो, ‘मेरो मूलध्येय यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नु हो ।’
उहाँले काठमाडौंको मुटु मानिने यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा संम्बर्धन पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । ‘म यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई के विश्वास दिलाउन चाहन्छु भने म जे बोल्छु, त्यो पूरा गर्छु र मेरो बाँकी जीवन यहीँको माटोको सेवामा समर्पित रहनेछ ।’
उहाँले सम्पदा पुनरुत्थान, शैक्षिक सुधार, पूर्वाधार र वातावरणलगायतका क्षेत्रमा गरेको कामलाई मतदाताले मुल्याङ्कन गर्ने अपेक्षा पनि गर्नुभयो । ‘मैले गरेका कामहरू केवल तथ्याङ्क मात्र होइनन्, यस क्षेत्रको विकासप्रतिको मेरो इमान्दार प्रयासका प्रमाणहरू हुन्’ उहाँले भन्नुभयो, ‘आज जनताको घरदैलोमा पुग्दा यही कामहरुको सूचि लिएर गएको छु । मैले पहिलो जनप्रतिनिधि हुँदा गरेको काम सम्झेर मलाई गरेको माया र समर्थनले मलाई थप हौसला मिलेको छ ।’
उहाँले भन्नुभयो, ‘म विगत तीन दशकदेखि अविचलित रूपमा यही माटो र यहाँका जनताको सुखदुःखमा एकाकार छु । मेरो यस पटकको उम्मेदवारी केवल संसद्को एक सिटका लागि मात्र नभई, अनुभव, विज्ञता र विकासको त्रिवेणीमार्फत यस क्षेत्रको मुहार फेर्नका लागि हो ।’