हुम्ला समाचारदाता
हुम्ला, जेठ २५ गते । छ महिनासम्म भरिभराउन हुने यहाँका खर्क यतिबेला प्रयोगविहीन अवस्थामा पुगेका छन् । जिल्लावासीले पशुपालन व्यवसाय कम गर्दै लगेपछि बर्खायाममा भरिभराउ हुने खर्क रित्तिन लागेका हुन् ।
नाम्खा गाउँपालिका–६ का कुन्जोक तामाङले जेठदेखि कात्तिक महिनासम्म भरिभराउ हुने खर्क हाल खाली र प्रयोगविहीन अवस्थामा पुगेको बताउनुभयो । यो समयमा खर्कमा चौँरी, जुमा, झोपा, घोडालगायतका पशुवस्तु र खर्कालुले उच्च पाटन भरिभराउ हुँदा रमाइलो देखिने भए पनि हाल भने खाली भएको उहाँले जानकारी दिनुभयो ।
पहिले प्रत्येक घरमा सबैखाले पशुवस्तु गरी एउटै घरमा २० भन्दा बढी पशु हुने गरेका भए पनि अहिले खाली जोत्नका लागि एक हलगोरु पाल्ने चलन आएपछि पशुपालन व्यवसाय नै
सङ्कटमा परेको उहाँले बताउनुभयो । एउटै घरमा एक सयभन्दा बढी चौँरीगाई पाल्ने लिमीमा हाल सीमित घरमा मात्र पालिएका र त्यो पनि २० भन्दा बढी चौँरी पाल्न छोडिएपछि पशुपालनका लागि निर्माण गरिएका खर्क खाली हुन थालेको जानकारी उहाँले दिनुभयो ।
यता नाम्खा गाउँपालिकाकै यारीगाउँका छिरिङ लामाले उच्च पाटनका १३ स्थानका खर्क खाली अवस्थामा रहेको बताउनुभयो । उहाँले आफ्नो गाउँका मात्र नभएर साबिकको सिमकोट, डाँडाफया र खगालगाउँका स्थानीयले पशुपालन गर्नका लागि यारीको ह्याङ्सी क्षेत्रको पाटनमा लाने गरिएकोमा हाल लानै छोडिएको जनाउनुभयो । उच्च पाटनमा पशुवस्तु पाल्नका लागि खर्क लिने चलन हराउँदै गएपछि प्रत्येक पशुपालक किसानले निर्माण गरेका खर्कका गोठ प्रयोगविहीन अवस्थामा पुगेका छन् । सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँका पशुपालक छिमी लामाले धेरै पशुवस्तु पाल्ने गाउँका रूपमा परिचित आफ्नो गाउँमा हाल धेरैले पशु पाल्नै छोडेका कारण खर्कको रौनक हराएको बताउनुभयो ।
पशुपालन व्यवसायी सङ्घका सचिव जानबहादुर बुढाले माथिल्लो हुम्लामा बर्खायामका लागि निर्माण गरिएका अधिकांश खर्क र गोठ खाली अवस्थामा रहेको जनाउनुभयो । पशुपालनमा परिश्रम बढी गर्नुपर्ने तर आम्दानी कम हुने भएपछि किसान यो पेसा छोड्ने अवस्थामा पुगेका छन् । माथिल्लो हुम्लामा मात्र एक हजारभन्दा बढी खर्क प्रयोगविहीन अवस्थामा रहेको सचिव बुढाले बताउनुभयो ।