• १३ वैशाख २०८१, बिहिबार

मनाइयो प्रदेश स्थापना दिवस

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, माघ २२ गते । कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवस शनिबार मनाइएको छ। २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो।  

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले जनताको हित र विकास निर्माणमा दत्तचित्त भएर सिर्जनात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले अधुरा योजना सपन्न गर्न र कार्यक्रमहरू जनताको आधारभूत आवश्यकताअनुसार बनाउन आग्रह गर्नुभयो।  त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा सरकारको ध्यानाकर्षण गराउनुभयो। विकासका पूर्वाधार, विद्युतीयकरण, सिँचाइलगायतका निर्माण गर्न तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको समृद्धिका लागि एकता हुन आवश्यक रहेको बताउनुभयो। 

उहाँले कुराभन्दा पनि जनताले काम गर्न पठाएकाले नीति, ऐन, कानुन र संविधानमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “जनताले हामीलाई काम गर्न पठाएका हुन्। परम्परागतभन्दा पनि नीति ऐन, कानुनमा टेकेर काम गर्न आवश्यक छ। हामीले कर्णाली समृद्धिका कुरा गरेका छौँ। हामी सबैबीच एकता भए मात्रै कर्णाली समृद्ध हुन सक्छ।”

उहाँले एकता नै राष्ट्रिय सहमतिको बाटो भएको समेत बताउनुभयो। जनता र राष्ट्रको आवश्यकतालाई आत्मसात् गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। संविधानमा समाजवाद उन्मुख व्यवस्था उल्लेख गरिएको स्मरण गर्दै उहाँले अब, के गरेपछि समाजवाद उन्मुख हुन्छ भनेर बहस गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।  

सभामुख नन्दा गुरुङले कर्णालीको समृद्धि र विकासका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। 

कर्णाली प्रदेश सभाले पहिलो कार्यकालले प्रदेशको नाम र राजधानीको नाम टुङ्गो लगाएको थियो। पाँच वर्षको अवधिमा प्रदेश सभाले ५३ वटा विभिन्न कानुन निर्माण गरेको छ।