• ७ मंसिर २०८१, शुक्रबार

भाषामा भद्र विद्रोह

blog

भाषा सामाजिक वस्तु हो । समाजका हरेक विषयमा भाषाको कारोबार हुन्छ । त्यसैले राजनीति पनि भाषाबाट अलग हुँदैन । राजनीति समाज सुधारको मियो हो । नेपाली समाजको त्यो मियो हल्लिएको गुनासो यदाकदा सुन्ने गरिन्छ । सुनाउने माध्यम चाहिँ भाषा नै हो । खासमा भाषाले दिने अर्थ हो त्यसले गुनासो गरेको वा प्रशंसा गरेको हो अथवा गाली वा आक्रोश व्यक्त गरेको हो, जे भए पनि त्यो सन्दर्भगत हुन्छ ।

प्रतिनिधि सभाको २०७९ माघ ७ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिलालाई खासगरी महिला नेत्रीलाई पनि ‘चेली’ प्रयोग भएको भनी आपत्ति जनाउनुभयो । संसदीय भाषामा गुनासोभन्दा पनि आपत्ति नै उपयुक्त हुन्छ । संसद्मा कुनै कुराको विरोध गर्दा शिष्ट तवरबाट गर्नुपर्छ भन्ने मान्यता हो । त्यो विधि वा पद्धतिका आधारमा हुनु पर्दछ । त्यसैले त त्यहाँ गरिने आपत्तिलाई नियमापत्ति भनिन्छ ।

त्यसको लगत्तै ‘चेलो’ र ‘चेली’का पक्ष वा विपक्षमा तर्क वितर्क भए । सामाजिक सञ्जालले अहिले तर्क, वितर्क वा कुतर्क गर्न पनि सहज बनाइदिएको छ । सामाजिक सञ्जाललाई पनि नियमन गर्ने वा नियमापत्ति गर्ने स्वस्थ तर्क गर्ने बनाइनु पर्छ भन्ने बहस पनि चलेको छ । खासगरी राजनीतिक वृत्त नै यसमा हौसिएको छ ।

नेपाली समाज महिलालगायत विभिन्न जाति र समुदायका लागि विभेदकारी रहेको छ भन्ने परिचर्चा हुन्छ । समाजको वस्तु भएकै कारण भाषा विभेदकारी रहेको भन्ने चाहिँ यदाकदा सुनिन्छ, पढिन्छ । केही अधिकार सचेत महिलाले सामाजिक सञ्जालमा आफ्नो पहिचान ‘दोस्रो दर्जाकी (आफ्नो नाम)’ भनेर दिने गरेका छन् । यो उनीहरूको भद्र विद्रोह हो । 

चेलो र चेली 

‘चेलो’ शब्द संस्कृतको ‘चेटकः’ शब्दबाट बनेको हो । त्यस आधारमा नेपाल (महेन्द्र) संस्कृत विश्वविद्यालयले २०५७ मा प्रकाशन गरेको संस्कृत–नेपाली बृहद् शब्दकोशले दिएको ‘चेटकः’ को अर्थ 

१. नोकर, २. दूत ३. जादू (टुना), 

४. चटक–मटक, ५. चसका (लत), 

६. चाँडो हो (पृष्ठ ४३८) । तर त्यही संस्कृतको ‘चेटक’ शब्दलाई स्रोत देखाउँदै नेपालीमा प्रचलनमा रहेको ‘चेलो’ शब्दका अर्थ अलि भिन्नै 

दिइयो : १. गुरुसँग शिक्षादीक्षा लिने व्यक्ति; विद्यार्थी । २. गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य । ३. छोरो र छोरासरहको व्यक्ति । 

४. अनुयायी । (प्रज्ञा नेपाली बृहत् शब्दकोश, २०७९, पृष्ठ ६२१)

त्यही नेपालीको चेलोलाई मूल मानेर त्यसैका आधारमा चेली (चेलो+ई) बन्ने देखाउँदै दिइएको चेलीको अर्थ अलि भिन्नै नै 

देखियो : १. छोरी । २. शिष्या; छात्रा । ३. दिदीबहिनी । ४. अह्राउपह्राउ मान्ने आइमाई । ५. फुपू वा फुपूकी छोरी । (प्रज्ञा नेपाली बृहत् शब्दकोश, २०७९, पृष्ठ ६२१)

यी तीनवटा शब्दको अर्थ हेर्दा केही समानता र तात्त्विक  भिन्नता पनि देखिन्छ । संस्कृतको मूल शब्द ‘चेटकः’को पहिलो अर्थ नेपालीमा प्रयोग भएको चेलोका लागि प्रयोग हुने देखिएन । त्यसको प्रकारान्तर अर्थ दिने अनुयायी मात्र चौथोमा दिइएको देखिन्छ तर त्यही ‘चेलो’बाट बन्ने भनिएको ‘चेली’ शब्दको अर्थमा भने ‘चेटकः’को पहिलो अर्थ दिने गरी चौथो नम्बरमा ‘अह्राउपह्राउ मान्ने आइमाई’ भनी राखिएको देखिन्छ । कुन सन्दर्भ वा मनसायले यस्तो लेखियो, त्यो कोशकारले नै जान्ने कुरा हो तर समाजले ‘चेलो’ र ‘चेली’को अर्थ समान्यतया नकारात्मकभन्दा सकारात्मक नै दिने गरी भाषिक प्रयोग गर्दछ । ‘चेली’ शब्दबाट बन्ने अरू शब्दहरूको प्रविष्टिले पनि सकारात्मक अर्थ नै बढी दिएको देखिन्छ (हेर्नुहोस्, (प्रज्ञा नेपाली बृहत् शब्दकोश, २०७९, पृष्ठ ६२१) ।

नेपाली संस्कृत होइन

२०७९ भदौ २३ गते बेलायतका महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासनमा रहेर ९६ वर्षको उमेरमा निधन भयो । एलिजाबेथको निधनपछि बेलायतमा चाल्र्स राजा हुनुहुने भएको थियो । 

नेपाली समयअनुसार अबेर थाहा पाएकाले गोरखापत्रका लागि समाचार तयार पारेर छाप्न पठाउँदा निकै अबेर भइसकेको थियो । समाचार पठाइसकेपछि फेसबुकमा पनि शोकाप्ति लेखेर पोस्ट्याउँदा अर्को दिन भइसकेको रहेछ अर्थात् भदौ २४ गते लाग्दा ००ः०८ बजेको रहेछ । 

प्रतिक्रिया तत्काल आउन थाले तर गोरखापत्र छापिएर पाठकको हातहातमा परेपछि सञ्चारकर्मी राजेन्द्रराज तिमिल्सिनाले बिहान ०६:१५ मा लेखेको प्रतिक्रिया अरूले शोक व्यक्त गरेजस्तो मात्र थिएन । उहाँले भाषिक प्रयोगबारे प्रश्न उठाउनु भएको थियो 

‘द्वितीया’ मात्र लेखेर । यति लेखेर पनि उहाँको मन थामिएनछ । फेरि त्यो टिप्पणीमा सम्पादन गरेर प्रश्न गर्नुभयो– “जीवनभर ‘द्वितीया’ लेखेको गोरखापत्रले आज छापा र अनलाइनमा ‘द्वितीय’ लेखेछ । एकै व्यक्तिको नाम गोरखापत्रको इतिहासमा स्त्रीलिङ्गी, वर्तमानमा पुलिङ्गी बनाउने शैली बनेको हो कि के हो ?”

उहाँले यसरी सम्पादन गर्नुअघि मूल टिप्पणी ‘द्वितीया’ मा “कसरी ? संस्कृत हो र ?” भनी मैले प्रश्न गरेको थिएँ । उहाँले त्यसको जवाफ नदिई सम्पादन गर्नुभएको थियो । मैले उठाएको विषय नेपाली भाषा र संस्कृत भाषा अलग हुन् र तिनको नियमन गर्ने व्याकरण वा अन्य पक्षहरू बेग्लै हुन्छन् भन्ने थियो तर उहाँ त्यतातिर जान चाहनु भएन । 

उहाँ मात्र होइन, भाषाको पक्षमा खासगरी संस्कृतका आधारमा नेपाली भाषाको नियमन हुनुपर्दछ भन्ने र भाषामा परिवर्तनशीलताको गुण हुन्छ भन्ने आत्मसात् नगर्नेहरू त्यस पक्षमा बहस नै गर्दैनन् । भाषामा परिवर्तनशीलता नहुने हो भने संस्कृतबाट नेपाली भाषा नै बन्ने थिएन, संस्कृत नै रहिरहने थियो । अथवा भानुभक्तले रामायणमा प्रयोग गरेको जस्तै नेपाली अहिले पनि हुन्थ्यो । ती दुवै अवस्था अहिले छैन । 

द्वितीय वा द्वितीया ?

फेरि ‘द्वितीय’ वा ‘द्वितीया’कै कुरा गरौँ । सन्दर्भ एलिजाबेथकै उचित हुन्छ । हामी नेपाली भाषामा (संस्कृतको भनेको होइन) कोही कुनै परीक्षामा दोस्रो (सेकेन्ड) भयो भने ‘द्वितीया’ लेख्छौँ कि ‘द्वितीय’ ? त्यसो गर्दा लिङ्गका आधारमा भेद त गर्दैनौँ । खासमा अङ्ग्रेजी भाषामा लेखिने रोमन लिपिमा एलिजाबेथ (आईआई) लेखेको पनि बोल्दा दोस्रो (सेकेन्ड) नै हो । त्यसको नेपाली प्रयोग दोस्रो र द्वितीय पनि हो । 

अझ यसरी बुझौँ– हाम्रा छोरीचेली परीक्षामा दोस्रो भए भने हामी स्वाभाविक रूपमा ‘दोस्री’ भइन् भन्दैनौ ‘दोस्रो’ नै भन्छौँ । संस्कृतको जस्तो धेरै कुरामा नेपालीमा लिङ्गभेद छैन । भाषा विज्ञानले महिलाका लागि प्रयोग हुने अन्त्यको उकार (जस्तै : फुपू, माइजू) लामो उच्चारण हुने र पुरुषका लागि छोटो उच्चारण (जस्तै : फुपाजु, भिनाजु) हुने पनि भन्दैन । पुलिङ्ग ह्रस्व र स्त्रीलिङ्गमा दीर्घ लेख्ने चलन महिला र पुरुषमा देखाउन खोजिएको सामाजिक भेद हो । यो भाषा विज्ञानका आधारमा नियम होइन । यस्तै भेदले विभेद निम्त्याएको छ । व्याकरणिक नियममा रहेको विभेदबारे कमै छलफल हुन्छ ।

यो नेपाली भाषालाई नेपाली व्याकरणले नियमन नगर्ने बरु संस्कृतकै बोलवाला रहँदाको समस्या हो । विगतमा एलिजाबेथको नाममा ‘द्वितीया’ लेख्दा पनि त्यही कारण देखिन्छ । यो बुझ्न निम्न कुरालाई ख्याल गर्नु सान्दर्भिक हुन्छ : 

१. द्वितीया तिथि, द्वितीया विभक्ति र एलिजाबेथलाई बाहेक 

‘द्वितीया’ प्रयोग नेपाली भाषामा भएको देखिँदैन । संस्कृतकै तत्सम रूपमा तिथिका लागि प्रयोग भए पनि ‘द्वितीया’ दोस्रो तिथि भन्ने नै हो ।

२. विभक्तिमा पनि ‘द्वितीया’ दोस्रो नै हो । नेपाली भाषामा ‘लाई’ दोस्रो विभक्ति हो; जुन पुलिङ्ग र स्त्रीलिङ्ग दुवैमा भेद नगरी लाग्छ । पुलिङ्गमा ‘द्वितीय’ विभक्ति भनिँदैन र ‘लाई’ को बेग्लै रूप पनि छैन । यसको कारण पनि नेपाली भाषाको व्याकरण वा नियम संस्कृतकै प्रभावको भएरै हो । 

३. बेलायतको इतिहासमा एलिजाबेथ नाम गरेका महारानी दुईजना भए । पहिलोबारे नेपालीमा सायदै लेखियो होला । दोस्रोबारे धेरै लेखियो । उहाँले दुई पटक नेपाल भ्रमण गर्नुभएकाले पनि बढी लेखियो तर अब प्रश्न उठ्छ, एलिजाबेथ पहिलोबारे लेखिएको भए ‘प्रथम’ कि ‘प्रथमा’ के लेखिन्थ्यो होला ? ‘प्रथमा’ लेखिने भए ‘मेरी छोरी प्रथमा (पहिलो) भइन् ।’ भन्ने वाक्य स्वाभाविक हुँदैन होला । लिङ्गभेद गर्दा त ‘प्रथमा भइन्’ नै हुनुपथ्र्यो । अझ ‘द्वितीया’ शब्दको कोशीय अर्थ त ‘दोस्रो दर्जाकी’ भन्ने पनि छ (हेर्नुहोस् प्रज्ञा नेपाली बृहत् शब्दकोश, २०७९, पृष्ठ ९९१) । बेलायतकी महाराजी दोस्रो दर्जाकी हुनुहुन्नथ्यो ।

४. पहिले किन एलिजाबेथ दोस्रोका लागि ‘द्वितीया’ लेखिएको थियो होला भन्ने अनुमान गरौँ । नेपालमा राजतन्त्रलाई जे जसरी मान, सम्मान, उपाधि, प्रशस्ति आदि दिने प्रचलन हुन्थ्यो, अरू देशका राजा महाराजालाई (राजा महाराजा नै हो है, किनभने राजतन्त्रको सर्वाेच्च पदमा महारानीको प्रयोग नेपाली सन्दर्भमा प्रयुक्त छैन । रानी महारानी प्रयोग भए पनि सर्वोच्च राजकीय पद नेपालको होइन) पनि त्यसैअनुरूप बनाइन्थ्यो । 

‘एलिजाबेथ’को लिप्यन्तरण भयो र ‘सेकेन्ड’को अनुवाद भयो । लिप्यन्तरण र अनुवाद ज्यादै भिन्न कुरा हुन् र कुरो यहीँ आएर एउटै बनाइदिँदा गडबड भयो । 

यसलाई यसरी बुझौँ : ‘एलिजाबेथ सेकेन्ड’ पुरै व्यक्तिवाचक नाम हो । व्यक्तिवाचक नाम मानेर नेपालीमा लेख्दा ‘एलिजाबेथ सेकेन्ड’ नै भनेको भए हुन्थ्यो जसरी एलिजाबेथको अनुवाद हुँदैन थियो । ‘सेकेन्ड’को अनुवाद दरबारी प्रभावमा संस्कृतमा भयो । दुवै एलिजाबेथ अङ्ग्रेजीमा ‘क्विन’ हुन्, महारानीका लागि खोजिने ‘ग्रेट क्विन’ वा अरू होइनन् । ‘क्विन’को नेपाली अनुवाद सामान्यमा रानी हो तर किन महारानी प्रयोग भयो भन्ने पनि यसैमा निहित छ । अहिले बेलायतमा ‘किङ’ अर्थात् राजा (महाराजा होइन र एलिजाबेथलाई जस्तो हामी पनि महाराजा भन्दैनौँ, कति फरक है) चाल्र्स हुनुहुन्छ । 

चाल्र्स उही नामका ‘तेस्रो’ राजा हुनुहुन्छ तर त्यसैले उहाँको नाम चाल्र्स (आईआईआई) अर्थात् तेस्रो नै लेख्ने कि उहाँले रोजेको अरू लेख्ने भनेर त्यसबेला बेलायत अनिर्णित थियो । यसले पनि त्यस्ता नाममा सम्बन्धित व्यक्तिले नै निर्णय गर्ने नितान्त व्यक्तिवाचक हुन् भन्ने स्पष्ट हुन्छ । राजा चाल्र्सले ‘तेस्रो’ नै चलाउने निर्णय आफैले गर्नुभएको हो । त्यसलाई ‘तेस्रो’ मानिए पनि नेपालीमा ‘तृतीय’ चल्ने हो, चल्यो । यसअघिका जर्जलाई ‘पाँचौँ’ भनेर नेपालीकरण गरिएकै थियो, ‘पञ्चम’ नै मात्र लेखिएन ।

अध्यक्ष कि अध्यक्षा ?

‘द्वितीय’ वा ‘द्वितीया’ जस्तै नेपाली भाषामा लिङ्गभेद जनाउने ठानिएका तत्सम प्रयोगका अरू शब्द पनि छन् । पुरुषलाई 

‘अध्यक्ष’ र महिलालाई ‘अध्यक्षा’ लेख्नु शुद्ध हुन्छ भन्ने दाबी पनि हुन्छ । त्यस्तै हो भने ‘प्रमुख’ र ‘प्रमुखा’ लेखिनु पर्ने हुन्थ्यो । ‘वर्षीय’ र 

‘वर्षीया’ तथा ‘विवाहित’ र ‘विवाहिता’ पनि उही कोटीका शब्द हुन् । ‘छात्र’ र ‘छात्रा’मा भेद पनि नेपाली व्याकरणिक नियमनमा संस्कृतको प्रभाव र सामाजिक रूपमा महिला र पुरुषबीच भिन्नता देखाउनै पर्छ भन्ने सोचको उपज हो । एउटै कक्षामा एउटै शिक्षकबाट एउटै विषय पढ्नेमा पनि भेद हुन्छ र ? तर त्यस्तो विभेदकारी सोच जानाजान वा अन्जानमा पनि प्रकटीकरण हुने हो । 

माथि उल्लेख गरिएका प्रायः पदहरू नेपालीमा नपुंसक लिङ्गमा पर्छ । त्यसैले लैङ्गिकता निरपेक्ष हुन्छन् । त्यसैले पदमा महिला रहँदा पनि ‘प्रमुखा’, ‘अध्यक्षा’ आदि लेखिँदैन । त्यसो गर्ने हो भने त राष्ट्रपति पदमा बित्याँस पर्छ । त्यसो गर्ने नै हो भने ‘आदरणीया माता’, ‘शिक्षिता स्त्री’, ‘प्रथमा महिला’ आदि लेख्नुपर्ने हुन्छ । 

अर्थ सङ्कुचन र अर्थ विस्तार 

भानुभक्त आचार्यले लेख्य परम्परा बसाएको नेपाली भाषा र अहिलेको लेख्य नेपाली भाषा मिल्दैन । कथ्यको त झन् आनका तान फरक छ । त्यो हुँदैमा त्यो वा यो गलत वा सही भन्ने हुँदैन । समयक्रममा देखिएको नेपाली भाषाको फरक हो । यो नेपालीमा मात्र होइन, सबै भाषामा हुने परिवर्तनशीलता हो ।

भाषिक प्रयोगमा शब्दको अर्थ साँघुरिने वा फैलने हुन्छ । त्यसको सम्बन्ध सकारात्मकता र नकारात्मकतासँग हुन्छ । त्यसै आधारमा विस्तार र सङ्कुचन दुवै हुने हुँदा सन्दर्भगत अर्थ नै प्रयोगमा आउँछ । कोशीय अर्थ विस्थापन हुँदै पनि जान्छ । संस्कृत र नेपालीको प्रयोग त्यही आधारको मान्नु पर्ने हुन्छ तर ‘चेली’ शब्द नेपाली सन्दर्भगत अर्थमा विभेदकारी पनि रहेको महसुस महिला वर्गबाट भएको छ, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था चाहिँ छ । 

यस्ता धेरै शब्द र व्याकरणिक नियमहरू नै छन् । महिलाका लागि मात्र होइन, सामाजिक विभेदकारी भाषा र व्याकरणका नियमहरूमा सुधार गर्नुपर्ने खाँचो छ । त्यो कार्य नेपाल र नेपालीको मौलिक विशेषता अनेकतामा एकता खोज्दै सबैलाई सम्मान गर्ने आधारकै हुनु पर्दछ ।