• ८ मंसिर २०८१, शनिबार

पढ्ने रहर (कथा)

blog

पवित्रा मगर 

कक्षाः ९,  ऊँ सन साइन आवासीय मावि

आँबुखैरेनी, तनहुँ

 

उदयपुरको एक गाउँमा रमा र उनकी आमा बस्दथे । उनीहरूको परिवार गरिब थिए । गरिब भएका कारणले उनीहरूलाई बिहान–बेलुका छाक टार्न पनि धौधौ पथ्र्यो । रमाको बुवा उनी सानै हुँदा यस संसारबाट बिदा भएका थिए ।

अरू बेला रमाले आमालाई घरको काममा सघाउँथिन् । शनिबारको दिन आमालाई रमाले भनिन्, “आमा, एउटा कुरा सोधू ?” 

‘सोध न के कुरा हो र ?’ आमाले थप प्रश्न गरिन् । 

“भो, सोध्दिनँ तपाईंले मलाई कराउनु हुन्छ कि ?” 

‘ए, लाटी कराउँदिन के भन न के कुरा हो ?’

रमाले डराउँदै भनिन्, “म... म स्कुल पढ्न चाहन्छु । आज सपनामा पढेर डाक्टर बनेको देखेंँ । त्यसैले म पढ्न चाहन्छु ।” 

बूढी आमाले खोक्दै भनिन्, “हामी त गरिब परिवारका मानिस । हामीसँग त्यत्रो धन कहाँ छ र ।” रमाले जिद्दी छाडिनन् ।

रमाले फेरि भनिन्, “हैन, आमा । अहिले गाह्रो भएर के भो त ? भोलि–पर्सि म तपाईंलाई सुखसँग पालिहाल्छु नि ।” 

आमाले पनि आफ्नो एउटा मात्र सन्तानले पढ्ने रुचि गरेपछि, हुन्न भन्न सकिनन् । रमा पढ्न पाउने भएपछि फुरुङ्ग हुँदै रमाउन नाच्न थालिन् । आमा पनि आफ्नो सन्तान रमाएको देखेर खुसी भइन् ।

रमाकी आमा दमको रोगी थिइन् । छोरीले पढ्ने इच्छा देखाएपछि गिट्टी कुट्ने काम थालिन् । सुरुवाती कक्षाहरूमा त गिट्टी कुटेर जसोतसो स्कुल पढाउन सजिलो भयो तर रमा ठूलो कक्षा पुग्दै जाँदा मासिक शुल्क र अरू खर्च बढ्दै आयो ।

केही वर्षपछि फेरि रमा दबाबमा परिन् । पढाइ छोडुँ धेरै पढ्न मन छ, नछाडुँ आर्थिक अवस्था कमजोर, रमा दोधारमा परिन् । आमाले गाउँलेसँग हारगुहार माग्दा पनि कसैले पनि सहयोग गर्न मानेनन् । 

आमा पनि छोरीजस्तै दोधारमा । ‘यदि मैले यो छोरीलाई पढाइनँ भने मलाई ठूलो पाप लाग्ने छ । भएको एउटा छोरीलाई पनि पढाउन सकिन भने म आमा हुनुको के अर्थ ?’ आमाले मनमनै प्रश्न गरिन् ।


जहाँ धाउँदा पनि आमालाई कसैले पनि सहयोग गर्न मान्दैनथे तर पनि आमाले हार नमाकीकन छोरीलाई पढाउन भौँतारिँदै हिँडिन् । जे गरे पनि केही सीप चलेन । उनले आफ्नो मिर्गौला बेचेर छोरीलाई पढाउने निधो गरिन् तर यसबारे रमालाई केही थाहा भएन ।

मिर्गाैला बेचेदेखि समस्याहरू सल्टिन थाले । अलिअलि भए पनि उनीहरूको जीवन खुसी छायो । दिनदिनै आमाले पैसा निकाल्न थालेको देखेर रमाको मनमा प्रश्न नाच्न थाल्यो, ‘आमाले केही गतिलै काम गर्नुभएकोे रहेछ ।’ आफ्नो बूढी आमाले गरेको दुःखलाई सुखमा परिणत गर्न रमाले मेहनत गरेर पढिन् र छात्रवृत्ति प्राप्त गरिन् ।

छात्रवृत्ति प्राप्त गरेपछि रमा मेडिकल साइन्स पढ्न अमेरिका गइन् । अमेरिकामा धेरै मेहनत गरेर पढिन् । उनले अस्पतालमा गरिब मानिसहरू आउँदा सित्तैमा उपचार गरिदिन्थिन् । बिरामीको हेरचाह र उपचार पनि राम्रो गर्थिन् । उनको यो सेवा देखेर सबै जना खुसी भए ।

त्यसरी नै काम गर्दै जाँदा उनलाई आफ्नो बूढी आमाको ज्यादै याद आयो । पाँच वर्षपछि रमा आफ्नो गाउँ उदयपुर फर्किन् । आफ्नो गाउँ फर्केपछि रमाले आफ्नो आमाको शरीर पूर्ण परीक्षण गरिन् । ‘ओहो, आमाको शरीरमा एउटा मात्र मिर्गौला,’ रमा स्तब्ध भइन् ।

रमाले पुराना दिनहरू सम्झिन् र मनमनै सोचिन्, ‘किन पहिला दिनदिनै घरमा पैसा आउँथ्यो भनेको त आमाले यस्तो काम पो गर्नुभएको थियो ?’ रमाको कुरा सुनेर आमाले भनी, “देख्यौ छोरी । मलाई केही पनि भएको छैन,” तर रमालाई आमाले आफ्नो स्वास्थ्य बिगारेको कुरा थाहा थियो ।

रमाले आफ्नो आमालाई अँगालो हाल्दै भनिन्, “आमा, तपाईंले मेरो लागि यत्रो दुःख किन गर्नुभयो ?” आफ्नो स्वास्थ्य किन ख्याल राख्नुभएन ? बूढी आमाले खोक्दै भनिन्, “मेरो एक मात्र सन्तान तिमी नै हौ । त्यसैले एउटी छोरीलाई इच्छा मार्न सकिनँ । आज मलाई डाक्टरनीको आमा भनेर चिनिन पाउँदा ज्यादै गर्व लागेको छ ।” रमाले पनि मनमनै सोचिन्, ‘एउटा मिर्गाैला भएर पनि कति धेरै मानिसहरू बाँचिरहेका छन् ।’  त्यसपछि उनले आफ्नो आमाको स्याहारसुसार गर्ने, सफा गर्ने काम गरिन् । गाउँमा अस्पताल खोलिन् । दीनदुःखीहरूको लागि उनले एउटा संस्था स्थापना गरिन् ।