• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सरोकार समिति बैठक

उम्मेदवार बन्न पाउने उमेरलाई १८ वर्षमा झार्नुपर्छ : पूर्व कानुनमन्त्री पौडेल

blog

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समिति । फाइल तस्बिर

काठमाडौं, माघ १८ गते । पूर्व कानुनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुुहँदै पौडेलले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताउनुभएको हो । प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने धारणा उहाँको छ ।

उहाँले भन्नुभयो, ‘‘अब हजुरहरुले संविधानमा पनि सुधार गर्न जरुरी छ । उमेर घटाउनुपर्छ । २५ वर्ष जुन प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि तोकिएको छ, यो १८ औं शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका फ्रान्समा १९, २० वर्षका मानिसहरु प्रमुख भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ ? युवाहरुलाई आकर्षित गर्न पनि २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ ।’’

पौडेलका अनुसार नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत् रहेकाले त्यसलाई सच्याउन आवश्यक छ । उहाँले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री पौडेलले प्रतिनिधि सभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताउनुभयो । विद्युतीय निर्वाचन शुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।

पौडेलले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रुपमा प्रयोग गरिरहेको बताउनुभयो ।