• १२ मंसिर २०८१, बुधबार

बेसहारालाई सहयोग जुट्दै

blog

बुबाको मृत्युपछि अलपत्र परेका नाबालकको घरमा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल । तस्बिर : गोरखापत्र

सलिम अन्सारी 

प्युठान, माघ १८ गते । भीरबाट लडेर बुबाको मृत्यु भएपछि बेसहारा बनेका प्युठानको झिमरुक–३ बादिकोट निवासी वसन्त सामतक तीन जना सन्तानलाई फेसबुकबाटै आर्थिक सहयोग जुटेको छ ।

आर्थिक अवस्था कमजोर रहेको सामतका नाबालक छोराहरुको शिक्षा तथा जीवनयापनमा सघाउनका लागि झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले फेसबुकबाट सहयोग अपिल गर्नुभएको थियो । पोखरेलले भोलिपल्टै बालकको घर पुगेर कृयाखर्चसहित एक सय किलो चामल र २५ किलो दाल दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

त्यसपछि अभियान सुरु भएको दुई सातामै विभिन्न व्यक्तिबाट एक लाख ७५ हजार रुपियाँ रकम मृतक वसन्त सामतको कान्छो छोरा ६ वर्षीय बालक धनबहादुर सामतको खातामा जम्मा भइसकेको छ । सामतको सम्पतिको नाममा एउटा सानो घर मात्रै छ । १२ वर्षीय प्रशान्त ६, नौ वर्षका गणेश चार र धनबहादुर एक कक्षामा पढ्छन् ।   

उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘आफ्नै पालिकाबासी बालकले दु:ख पाएको मैले हेर्न सकिन, उनीहरुको पढाइ र भविस्यका लागी केहि सहयोग गर्न सकिएला कि भनेर अभियान सुरु गरेको हुँ । गरिब र सहारा बिहिनलाई सहयोग गर्न पाउँदा मलाई आत्मसन्तुष्टि मिल्छ।’’

उपाध्यक्ष पोखरेलले सङ्कलित रकम सामतको घरमै गएर हस्तान्तरण गरिने जानकारी दिँदै सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।