• ११ मंसिर २०८१, मङ्गलबार

प्रसूति गृहमा सुत्केरीलाई हातमै भत्ता

blog

सुत्केरीलाई भत्ता उपलब्ध गराउँदै स्वास्थ्यकर्मी । तस्बिर : गोरखापत्र

राजन रावत 

हुम्ला माघ १८ गते । सरकारद्वारा प्रदान गरिँदै आएको सुत्केरी महिलालाई दिने भत्ता प्रसूति गृहमा सुत्केरी भएर घर फर्कने बेला हातहातमा दिन थालिएको छ । 

सुत्केरी महिलाले पोषणयुक्त खानेकुराको ब्यवस्था गर्न सहज होस भन्नका लागि पहिलो पटक सुत्केरी भएकै दिन उक्त भत्ता दिन थालिएको हो ।

खार्पुनाथ गाउँपालिका–३ को रायाँ गाउँकी लालमति टमटाले पहिलो पटक स्वास्थ्य चौकीको प्रसूति गृहमा सुत्केरी भएपछि पाउने सुविधा तत्काल पाएको बताउनुुभयो । तीन वर्ष अघि उहाँले पहिलो सन्तान जन्माउँदा सुत्केरी भएको एक वर्षपछि भत्ता पाउनुभएको थियो ।

उहाँले यस पटक भने सुत्केरी भएकै दिन पाउने तीन हजार र गर्भजाँच गरे बापत पाउने आठ सय गरी तीन हजार आठ सय रुपियाँ प्रसूति गृहको बेडमै पाएको बताउनुभयो । 

यस कार्यबाट सुत्केरीलाई पोषणयुक्त खानेकुरा किन्न सहज भएको छ । यता सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी सुत्केरी भएकी महिला नानी बोहराले स्वास्थ्य चौकीले सुत्केरी भएको समयमा भत्ता उपलब्ध गराउने कार्यले सकारात्मक सन्देश दिएको बताउनुभयो । 

उहाँले कार्यक्रमको लक्ष अनुसार समयमै भत्ता दिने ब्यवस्थाले रकम सही रुपमा सदुपयोग हुने गरेको पनि बताउनुभयो । सुत्केरी भत्ता अन्य बेला प्रदान गर्दा नवजात शिशु र आमाको पोषणका लागि प्रयोग हुन नसक्ने निष्कर्ष निकाल्दै सुत्केरी भएकै दिन भत्ता उपलब्ध गराउन थालिएको देखिन्छ । 

सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा ५० जना गर्भवती महिला हुनुहुन्छ । केही समय अगाडिसम्म संस्थागत सुत्केरी हुनु भएकी सुत्केरी आमाले स्वास्थ्य संस्थामा भत्ताको रुपियाँ माग्न जानुुपर्ने अवस्था थियो ।

खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले सुत्केरी भत्ता समयमै उपलब्ध गराउने कार्यका लागि गाउँपालिकाले आर्थिक अधिकार नै स्वास्थ्य संस्थालाई दिइएको बताउनुभयो । उहाँले यसले गर्दा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाले सुत्केरी महिलालाई तोकिएकै दिन भत्ता दिने ब्यवस्था गर्न सहज भएको बताउनुुभयो । 

यसअघि आर्थिक अधिकार गाउँपालिकासँगै हुँदा वर्षको एक पटक मात्र उक्त भत्ता वितरण गरिन्थ्यो । उहाँले सुत्केरी भएकै दिन भत्ता पाउने ब्यवस्थाले संस्थागत सुत्केरी गराउने कार्यमा समेत सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।