• १२ मंसिर २०८१, बुधबार

‘अर्थतन्त्र उठ्न निजी क्षेत्रलाई प्रोत्साहन’

blog

महोत्सवको सम्बोधन गर्दै उद्योग मन्त्री दामोदर भण्डारी । तस्बिर : गोरखापत्र

नारद कोहार

तौलिहवा, माघ १८ गते । निजी क्षेत्रलाई प्रोत्साहित नगरी नेपालको अर्थतन्त्र माथि उठ्न नसक्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ । 

कपिलवस्तुको चारनम्बर जीतपुरस्थित बुद्ध रंगशालामा भइरहेको १३औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको मङ्गलबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभयो, “ निजी क्षेत्रलाई सरकारको अर्थतन्त्रबाट पर राख्ने हो भने नेपालको अर्थतन्त्र अधुरो होइन अपुरो हुन जान्छ ।” त्यसैले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो । 

‘‘नेपालको साना, मझौला र ठूला उद्योगहरुको अवस्था जसरी खस्किरहेको छ । हामीले उत्पादन नगर्ने र उत्पादित वस्तुहरुको मात्रै आयातले जुन समस्या र चुनौती देखापरेका छन् । त्यसलाई सरकारले गम्भीरतापूर्वक सोचिरहेको छ,’’ उहाँले भन्नुभयो । 

मन्त्री भण्डारीले कपिलवस्तुको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न आफू सदैव तयार रहेको पनि बताउनुभयो । आगामी आर्थिक वर्षमा यस क्षेत्रको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपालमा उत्पादित वस्तुहरुलाई प्रत्साहित गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । उहाँले उपलब्ध स्रोत साधानको सही पहिचान गरेर सरकारले उद्योगी व्यवसायीले महसुस गर्ने गरी काम गर्ने आश्वासन दिए ।