• १० मंसिर २०८१, सोमबार

मनोपरामर्श दिन सके आत्महत्याबाट बचाउन सकिन्छः मनोविद् महर्जन

blog

काठमाडौं, माघ १६ गते । परिवारका कोही सदस्य, छिमेकी, आफन्त वा साथीभाइले बारम्बार मृत्युको कुरा गर्नुहुन्छ ? यस्ता कुरा सुनिन्छन् भने समयमै हेक्का राखौँ, त्यसलाई बेवास्ता नगरौं । त्यस्ता व्यक्तिको खानपिन, हिँडाइ, बोलाइ र व्यवहारमा परिवर्तन आए, गम्भीर बनौँ ।

ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा आत्महत्या रोकथामका लागि अस्पताल र फोनमार्फत मनोपरामर्श गर्दै आउनुभएका मनोविद् मनिल महर्जन भन्नुहुन्छ, “त्यस्तो सङ्केत पाए ‘तिमी एक्लाे छैनौ, तिम्रो हर दुःखमा हामी छौँ’ भन्ने भावना जगाइदिनुपर्छ ।” 

पछिल्लो समय दैनिक १७/१८ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । सात हजारभन्दा बढीले आत्महत्या गरेको वा यसखाले परिस्थितिमा पुग्ने गरेको अनुसन्धानले बताउँछ । आत्महत्याबाट हुने मृत्युदर दश र १२ प्रतिशत हुँदै वार्षिक रुपमा बढ्दो छ । गएको कोभिड–१९ महामारी र बन्दाबन्दीको समयमा दैनिक २२ वटासम्म आत्महत्याको घटना प्रहरीमा रिपोर्ट भएको थियो । 

दुर्गम क्षेत्रमा प्रहरीसम्म नपुगेका घटना अहिलेको तथ्याङ्कभन्दा बढी पनि हुनसक्ने मनोविद्हरु अनुमान गर्छन् । महर्जन भन्नुहुन्छ, “एक जनाको आत्महत्या सँगसँगै २० जनाले यसको प्रयास गरिरहेको अध्ययनले बताउँछ ।” अघिल्लो वर्ष आत्महत्या गर्नेको सङ्ख्या ६ हजारमा हुनुको अर्थ यसको बीसौं गुणा मान्छे आत्महत्याको सोच या प्रयास गरिरहेको हुनसक्ने उहाँले बताउनुभयो । 

कहिलेदेखि सुरु भयो ११६६ हटलाइन सेवा ?

सन् २०२० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाएपछि यस अस्पतालका चिकित्सकहरुको सरसल्लाहमा मनोरोगीलाई लक्षित गर्दै ११६६ को हटलाइन सेवा सुरु गरिएको हो । यो सुरु सेवा भएको झण्डै २२ महिनामा हजारौं सेवाग्राहीले यो सेवाको उपभोग गरेको महर्जनले बताउनुभयोे । 

अस्पतालको तथ्याङ्कअनुसार २०७८ साल शुरूवातीदेखि २०७९ पुस १५ गतेसम्म जम्मा आठ हजार ६९४ फोन कल आएका छन् । यसमध्ये एकहजार ३१० जनाले मानसिक स्वास्थ्य सम्बन्धमा, ७९३ जनाले आत्महत्याको सम्बन्धमा नै परामर्श लिएको तथ्याङ्क छ । यसरी परामर्श लिनेमा पुरुष एकहजार २०२ र महिला ८९७ हुनुहुन्छ । यसरी परामर्श लिनेमा १८ देखि ४० वर्ष उमेर समूहका सेवाग्राही झण्डै ५० प्रतिशतको हाराहारीमा छन् । 

जैविक, मनोवैज्ञानिक र सामाजिक पक्ष:

आत्महत्या गर्नुका पछाडि के–के कारण हुन्छन् भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “यसको पछाडि ठ्याक्कै एउटा, दुइटा कारण भन्ने हुँदैन । साइक्याष्ट्रिकलाई पढाइएको र जनस्तरमा पनि बाहिर बुझ्नुपर्ने एउटा मोडल जैविक कारण, मान्छेको दिमागभित्रको हर्माेन, जैविक रसायनमा आउने परिवर्तन, वंशानुगत रुपमा पनि पहिले परिवारमा कसैले आत्महत्या गरेका थिए भने भविष्यमा यसो हुने सम्भावना अलि बढी हुन्छ । दीर्घकालीन वा लामो समयसम्म लाग्ने रोगहरुका कारण ।” 

अर्काे मनोवैज्ञानिक पक्ष अन्तर्गत मान्छेको आत्मविश्वास कम हुने, एकदम निराशावादी कुरा मात्रै गरिरहने, समस्यासँग समाधान गर्ने क्षमताको कमी, आत्तिने, सङ्घर्ष गर्न नसक्नाले पनि हुन्छ । 

यस्तै, सामाजिक पक्षमा उदाहरण दिँदै उहाँले भन्नुभयो, “जस्तो कि, जागिरबाट निकालिएको, बाल्यकालमा कुनै हिंसा भएको, यौनजन्य वा शारीरिक हिंसा अथवा सानोमा धेरै सजाय पाउँदा, सम्बन्धविच्छेद, प्रेममा विछाेड, गरिबी, बाआमाले सानोमा छोडेका कारणले जैविक, मनोवैज्ञानिक र सामाजिक गरी तीन पक्षबाट आत्महत्या हुने गरेको देखिन्छ ।

उहाँले भन्नुभयो, “एउटै कुराभन्दा दुई, तीन, चार धेरै समस्या एकैपटक आइलाग्छन् । त्यसको सामना गर्न नसक्दा आत्महत्याको सोचाइसम्म पुग्छ । उसको सोचाइबारे ठिक बेठिकबारे सम्बोधन भएन, त्यस्तो जटिल परिस्थितिमा उसलाई सुन्दिने मान्छे कोही भएन भने त्यस्तो योजना बन्नसक्छ । अरुले मेरो कुरा बुझेन भनेर त्यस्तो आत्महत्याको योजनाको लागि डोरी, विषादी, हतियार जोहो गर्दा पनि अरुले बेवास्ता गरेमा साँच्चिकै अवस्थामा आत्महत्या गर्न लागेको व्यवहार स्पष्ट रुपमा देखिन थाल्छ, एकपछि अर्काे गरेर ।” 

योजनामा हुन्छ, ९५ प्रतिशत आत्महत्याः 

पाँच प्रतिशत मान्छे उनीहरुको क्षणिक दिमागमा आउने बित्तिकै आत्महत्या गर्ने र योजना नै बनाएर ९५ प्रतिशत आत्महत्या हुने गरेको अनुसन्धानले देखाउँछ । 

उहाँ भन्नुहुन्छ, “यसलाई घुर्क्याएको वा आफ्नो कुरा सिद्व गर्न खोजेको हो भनेर बुझ्नु हाम्रो समाजले देखेको एउटा गलत धारणा, अन्धविश्वास हो । पाँच प्रतिशत मात्रै क्षणिक दिमागमा आउनेबित्तिकै गर्नेगरेको र ९५ प्रतिशत मान्छे योजना बनाएरै आत्महत्या गरेको तथ्याङ्क छ । समयमै उपचार पाएको भए, ज्यान बच्थ्यो पनि । यो मानसिक स्वास्थ्य समस्याको परिणाम हो भनेर अनुसन्धानले देखाएको छ ।” 

मदिराले थप हानि:  

प्रायः मानिसले तनाव वा खुसीमा मद्यपान सेवन गर्छ । मदिरा तथा लागूपदार्थ सेवन गर्दा केही क्षणका लागि तनाव टरे पनि त्यसले दीर्घकालीनरुपमा मानसिक स्वास्थ्यमा  प्रभाव पार्नसक्ने उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “क्षणिक पीडा भुल्न सेवन गरिने मदिरा र लागूपदार्थ अन्ततः अमृत होइन मन्दविष बन्छ । लागूपदार्थ धेरै सेवन गरेकै कारण मानसिकरुपमा विक्षिप्त भएर रक्सी धेरै खाएर र काम गर्दा गाह्रो भयो भनेर हाम्रो सम्पर्कमा आउनुहुन्छ ।” 

मदिराजन्य पदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा समस्या भएकाहरु पनि ११६६ को हटलाइन सेवामा जोडिनुभएको उहाँ बताउनुहुन्छ । 

समयमै परामर्श लिए ज्यान बच्छ:  

यसर्थ, मानसिक स्वास्थ्य समस्यालाई उपचार गरेर निको पार्न सकिने बताउनुहुँदै उहाँले भन्नुभयो “टाउको दुख्ने बित्तिकै औषधि खाएजस्तै मानसिक रुपमा समस्यामा परेको व्यक्ति आफैँ मनोपरामर्शमा जाने वा त्यस्तो समस्यामा परेको व्यक्तिलाई चिनेपछि मनोपरामर्शमा ल्याउनुपर्छ । सामाजिक र पारिवारिक रुपमा त्यस्ता व्यक्तिहरुलाई मनोपरामर्श दिएमा त्यसले औषधिको काम गर्छ र मानसिक समस्या निको हुन्छ”, उहाँले भन्नुभयो ।

आत्महत्या गर्ने सोचाइ आउन नदिन उहाँ भन्नुहुन्छ, “कसैलाई यस्तो सोच आएमा, बेवास्ता नगर्ने । कस्तो कायर भनेर गिजोल्ने काम नगर्ने । ऊ जे हो त्यही रुपमा स्वीकार गरेर उसको तनावलाई बुझेर सम्बोधन गर्ने, शान्त पार्ने, तनावमुक्त गर्ने प्रयास गर्ने, साथ नछोड्ने र मानसिक स्वास्थ्य सेवा प्रदायकमा जोडिदिने, ११६६ जस्ता थुप्रै हेल्पलाइन छन् । आफ्नो पहिचानलाई गोप्य राखेर आफ्नो समस्यालाई स्पष्ट रुपमा राख्न सकिन्छ ।” 

केही गरेर पनि आत्महत्याबाट कसैलाई बचाउन सकिएन भने पनि सो घटनाबाट प्रत्यक्ष असर परिवार वा सम्बद्ध पक्षलाई हुनेभएकाले सो बारे ध्यान दिन जरुरी छ । आत्महत्या गरेर मृत्यु भएका व्यक्तिको पहिचानलाई मिडियाबाजी गर्न आवश्यक नभएको तर्क गर्नुहुँदै उहाँ भन्नुहुन्छ, “डाक्टरले, धर्मगुरुले वा कुनै चर्चित व्यक्तिले आत्महत्या गरेकाे भनेर मिडियामा समाचार प्रस्तुत गर्छन् । यसबाट नकारात्मक प्रभाव पर्छ । मानसिक स्वास्थ्य समस्याका कारणले कुनै व्यक्तिकाे मृत्यु भयो भनेर प्रस्तुत गर्दा राम्रो हुन्छ ।”

महर्जनले ११६६ को हटलाइन सेवामार्फत देशैभरका पालिकाहरु जोडिएको र विकट एवम् गाउँ–गाउँबाट मानसिक स्वास्थ्य सम्बन्धमा सेवाग्राहीको फोन कल आउनेगरेको बताउनुभयो । उहाँले कर्णाली र सुदूरपश्चिम क्षेत्रबाट अझ बढी फोन आउनेगरेको बताउनुभयो ।

“जङ्गलमा डोरी लगाएर आफूलाई झुण्ड्याउँदैछु भन्ने व्यक्तिलाई पनि बचाएका छौँ, औषधि बढी मात्रामा खाएर छट्पटाएका व्यक्तिलाई पनि एम्बुलेन्स पठाएर बचाएका छौँ । कसैले छोराछोरीलाई वा परिवारलाई केही गर्न असमर्थ भएँ, केही गर्न नसक्ने भएँ, सक्दै सकिनँ भन्ने विक्षिप्त अवस्थामा रहेकाहरुलाई पनि मनोपरामर्श दिएर बचाएका छौँ । मनोपरामर्श प्रभावकारी रुपमा दिएका छौँ ।

यसै अवसरमा मनोविद् मनिल महर्जनसँग गोरखापत्र अनलाइनका लागि सपना थामी र मनोजरत्न शाहीले गर्नुभएको कुराकानीमा आधारित भिडियो सामग्री:

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।