• १२ साउन २०८१, शनिबार

आयोजना सकिने बेला सडक निर्माण सुरु

blog

धनगढी समाचारदाता

धनगढी, माघ १६ गते । ठेक्का भएको दुई वर्षपछि बल्ल धनगढीको मुख्य सडक निर्माण कार्य सुरु भएको छ। कैलाली पुलदेखि पश्चिमतिर ट्राफिक चौराहासम्म बजार क्षेत्रको सडक निर्माणको काम थालिएको हो। यो सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ठेक्का भए पनि अहिले मात्रै काम सुरु भएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिनुभयो। 

उहाँका अनुसार यसअघि ठेक्का भएको १०.२ किलोमिटर सडक निर्माण प्याकेजअन्तर्गत नै यो सडकको काम हुनेछ। कैलाली पुलदेखि ट्राफिक चौराहासम्मको दूरी करिब १.५ किलोमिटर छ। दुवैतिर नालीसहित २४ मिटर फराकिलो सडक बन्ने इन्जिनियर भट्टले बताउनुभयो। 

एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा केही वर्षअगाडि नै यहाँ क्षेत्रीय सहरी विकास आयोजना लागू भएको थियो। आयोजनाको समयावधि सकिने बेला मात्रै कैलाली पुल–ट्राफिक चौराहा सडक निर्माणको कार्य सुरु भएको छ। गत डिसेम्बरमा यो आयोजनाको समयावधि सकिएको थियो। हाल छ महिनाका लागि अवधि थप भएको इन्जिनियर भट्टले जानकारी दिनुभयो। सडक निर्माणको अवधि चार महिना रहेको उहाँको भनाइ छ। 

आयोजनाअन्तर्गत धनगढीका सातवटा सडक निर्माणका लागि ठेक्का भएको थियो। ठेक्का भएका अरू सडकको निर्माण कार्य भने अन्तिम चरणतिर पुग्दैछ। सडक अधिकार क्षेत्रमा परेको संरचना हटाउनुपर्नेलगायतका कारणले कैलाली पुल–ट्राफिक चौराहा सडक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन। 

सातवटै सडक निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो। ६८ करोड पाँच लाख ९८ हजार रुपियाँमा ठेक्का पाएर सो निर्माण कम्पनीले काम गरिरहेको छ। निर्माणको समायवधि दुई वर्ष छ। 

यसैबीच ढिलै भए पनि सडक निर्माणको कार्य सुरु गरिएको भन्दै वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले हातेमालो गरेर सबैलाई धनगढीको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो। “विकास सबैका लागि हो,” उहाँले भन्नुभयो, “हाम्रो धनगढी हामी आफैँ बनाउँछौँ भन्ने अभियानअन्तर्गत अहिले हामीले धनगढीमा विकास निर्माणको कार्यलाई अगाडि बढाइरहेका छौँ।”