• १५ वैशाख २०८१, शनिबार

पश्चिमको पर्यटन प्रवर्द्धनका लागि वेस्टर्न मार्ट सुरु

blog

गोविन्द शर्मा 

बाँके, माघ १६ गते । पश्चिम नेपालमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपालगञ्जमा आइतबारदेखि वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ । 

मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टुर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ । 

कार्यक्रममा सहभागी भारतीय व्यवसायी लिएर सोमबार बुद्ध एयरले कैलाश मानसरोवरको अवलोकन उडान गर्ने आयोजक नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो । कार्यक्रमको अवसर पारेर वागेश्वरी मन्दिरमा सन्ध्याकालीन महाआरती पनि शुभारम्भ गरिने भएको छ । 

“यो कार्यक्रम भारतीय पाहुनालाई पर्यटकीय र धार्मिक गन्तव्य चिनाउनका लागि हो,” आयोजक नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भन्नुभयो । नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नाट्टा बाँकेले गत वर्षदेखि वेस्टर्न ट्राभल मार्टको सञ्चालन भइरहेको हो ।

ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका अध्यक्ष ज्योति मेयलले पर्यटकीय विकासका लागि बजारीकरण पनि महत्वपूर्ण हुने भन्दै यो कार्यक्रम उपयोगी रहेको बताउनुभयो ।  

आइतबार आयोजित उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नाट्टाका अध्यक्ष रमेश थापा, पूर्वअध्यक्ष अच्युत गुरागाईं, पर्यटन बोर्डका प्रबन्धक श्रद्ध श्रेष्ठलगायतले नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसार तथा प्रवद्र्धनका लागि मार्ट आयोजना गरिएको बताउनुभयो ।  

मार्टको उद्घाटनमा पश्चिम नेपालमा विभिन्न समुदायमा प्रचलित लोकप्रिय संस्कृति प्रस्तुति गरिएको छ । मार्टमा पर्यटकीय स्टल राखिएका छन् । यो कार्यक्रम नेपाल र भारतका पर्यटन व्यवसायीबीच अनुभव तथा सीपको आदानप्रदान र व्यवसाय प्रवद्र्धनका लागि उपयोगी हुने व्यवसायीले जनाएका छन् । पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।