• ९ मंसिर २०८१, आइतबार

शहीदको उचित सम्मानकै खोजी

blog

काठमाडौँ, माघ १६ गते । आज शहीद दिवस । विक्रम संवत् १९९७ मा चार जना नेपाली सपुतलाई राणा शासकले मृत्युदण्ड दिएको स्मरण तथा शहीदको सम्मान स्वरूप हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रूपमा मनाउने गरिन्छ । माफी मागेर निरङ्कुश शासनसामु झुक्नुभन्दा मुलुकमा लोकतन्त्र र जनताको अधिकारका लागि ज्यान सजाय स्वीकार गर्ने चार जना र अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मानमा हरेक वर्ष मुलुकमा माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहको रूपमा मनाइने गरिन्छ ।

तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौँ नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौँ नगरपालिकाले शहीद दिवस मनाउँदै आएको छ । आज पनि शहीद दिवस मनाउने जिम्मेवारी राज्यको केन्द्रीय स्तरमा नभई काठमाडौँ महानगरपालिकालाई नै छ ।

संवत्  १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा, माघ ११ गते धर्मभक्त माथेमालाई सिफलस्थित रुखमा झुण्ड्याएर मारिएको थियो । त्यसैगरी दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीस्थित विष्णुमतीको किनारमा गोली ठोकेर मारिएको थियो ।

तर नेपाली जनताको सबै अधिकार खोसिएका बेला शहादत प्राप्त गरेका नेपालका शहीदको अहिले पनि उचित सम्मान भएको छैन । शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित छ । मुलुकमा गणतन्त्र आए पनि शहीदको योगदानको कदर हुन नसकेको धारणा शहीद परिवार, राजनीतिज्ञ, लेखक, विश्लेषक र विद्वान्हरूको  छ ।

वरिष्ठ राजनीतिज्ञ तथा लेखक पुरुषोत्तम बस्नेतले मुलुकमा लोकतन्त्र आए पनि राज्यले शहीदहरूको योगदानको कदर गर्न नसकेको जिकिर गर्नुभयो ।  

अहिलेसम्मको शहीद दिवस औपचारिकतामा मात्र सीमित रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘मुलुकमा गणतन्त्र आए पनि शहीदको कल्पनाको समाज अझै निर्माण हुन सकेको छैन । आज पनि समाजमा आमनागरिकमाथिको शोषण उत्पीडन कायमै छ ।’’

शहीद दिवसका अवसरमा पञ्चातकालमा समेत दिइँदै आएको बिदा गणतन्त्रमा कटौती गर्नु शहीदप्रतिको घोर अपमान भएको उहाँको भनाइ छ । केही वर्षयता शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने गरिएको छैन । अधिकार प्राप्ति तथा देश र जनताको हितका निम्ति आफूलाई उत्सर्ग पनि गर्न सक्छु भन्दै बलिदानपूर्ण सङ्घर्षमा उत्रेर मारिने सबै शहीद हुन भने उहाँको भनाइ छ ।

राज्यद्वारा चार जनाबाहेकका शहीदहरूको अवमूल्यन र न्यूनीकरण भएको बताउँदै राजनीतिज्ञ बस्नेतले शहीद गेटमा शहीदहरूको टाउकोमाथि राजा त्रिभुवनको सालिक राखेर राज्यले ती चार जना शहीदको पनि घोर अपमान गरेको धारणा व्यक्त गर्नुभयो । शहीद धर्मभक्त माथेमाका भतिजा प्राडा केदारभक्त माथेमाले अहिलेसम्म शहीदको सपना साकार हुन नसकेको धारणा व्यक्त गर्नुभयो । अहिले मुलुकमा मौलाउँदै गएको बेथिति, भ्रष्टाचार र सामाजिक असमानताले शहीदको सपनामाथि ठूलो तुषारापात गरेको उहाँको भनाइ छ । 

शहीद धर्मभक्त माथेमाका अर्का भतिजा माधवभक्त माथेमाले शहीदको योगदानको कदर नभएको बताउनुभयो । उहाँले शहीद कुनै घर परिवारको नभई सबै नेपालीको साझा भएको बताउनुभयो । उहाँले शहीद दिवसका अवसरमा शहीदको सालिकमा माल्यार्पण गर्नुभन्दा शहीदहरूको सपना के थियो, उहाँहरूले किन हाँसीहाँसी ज्यानको आहूति दिनुभयो भन्ने कुरालाई राज्यले मनन गर्नुपर्छ भन्नुभयो ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले राज्यद्वारा अहिलेसम्म शहीद घोषणामा समेत विभेद गरिएको बताउँदै  राज्यले दुर्गानन्द झालाई शहीद घोषणा गरे पनि अन्य चार जना शहीद जत्तिको सम्मान राज्यबाट उहाँले नपाएको गुनासो गर्नुभयो । उहाँले राजधानीको शहीद गेटमा दुर्गानन्द झाको सालिक निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । २००७ सालदेखि अहिलेसम्म दुर्गानन्द झालगायत मधेश आन्दोलनका शहीदहरूको मूल्याङ्कन राज्यले गर्न नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले दुर्गानन्द झाले शाहदत प्राप्त गरेको दिन माघ १५ गते नै शहीद दिवस मनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।