• १६ चैत २०८०, शुक्रबार

प्रकाश र समपाल्मुलाई ताप्लेजुङ दौड उपाधि

blog

सातदेखि ११ वर्ष उमेर समूहअन्तर्गत बिजेता बालिका दीपिशा खबास । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १५ गते । ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ दौडको उपाधि प्रकाश लिम्बू र समपाल्मु शेर्पाले जित्नुभएको छ । ताप्लेजुङ रन नामक संस्थाको आयोजनामा सम्पन्न दौडको पुरुषतर्फ मैवाखोला गाउँपालिका–३ प्रकाश र महिलातर्फ मैवाखोलाकै वडा ५ की समपाल्मुले उपाधि जित्नुभएको हो ।   

खुला दौड प्रतियोगितामा निर्धारित १० किलोमिटर दूरी ३४.२१ मिनेटमा पूरा गर्दै पुरुषतर्फ प्रकाशले उपाधि जित्नुभएको हो । त्यस्तै महिलातर्फ सोही दूरी ४७.१८ मिनेटमा पूरा गर्दै उपाधि जित्नुभएको हो । पुरुषतर्फ फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका दिवस लिम्बू द्वितीय र झापा बिर्तामोडका समीर कन्दङ्वा तृतीय हुनुभएको छ । 

महिलातर्फ फुङ्लिङ नगरपालिका–९ की आरती गुरुङ द्वितीय र मिक्वाखोला गाउँपालिका–३ की लाक्पाडोमा शेर्पा तृतीय हुनुभयो । पुरुष र महिला दुवैतर्फ विजेताले समान प्रथम १० हजार, द्वितीय पाँच र तृतीयले तीन हजार रुपियाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

त्यस्तै १२ देखि १६ वर्ष उमेर समूहका लागि तय गरिएको पाँच किलोमिटर दूरीमा पुरुषतर्फ साजन लिम्बू प्रथम, दिसन राई द्वितीय र सविन विश्वकर्मा तृतीय हुनुभएको छ । महिलातर्फ पेम्बालामु शेर्पा प्रथम, रुपा राई द्वितीय र जमुना शेर्पा तृतीय हुनुभयो । सातदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि दौड गरिएको छ । उनीहरूका लागि ३.५ किलोमिटर दूरी तय भएको थियो । 

‘स्वास्थ्य शरीर सुन्दर मन, स्वास्थ्य नै सबैभन्दा ठूलो धन, रन ताप्लेजुङ रन, लागूऔषध दुर्व्यसनीविरुद्ध हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ताप्लेजुङ रनले दौड प्रतियोगिता आयोजना गरेको हो । साप्ताहिक रूपमा दौड सुरु भएको एकसय हप्ता पुगेको अवसरमा प्रतियोगिता आयोजना गरिएको ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले जानकारी दिनुभयो ।

विजेताहरूलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।