• १२ साउन २०८१, शनिबार

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

भाैतिक पूर्वाधारलगायतका क्षेत्रमा तीव्ररूपमा काम हुने

blog

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता हुँदै । तस्बिर –उपप्रधानमन्त्रीकाे सचिवालय

उपेश महर्जन

काठमाडाैँ, माघ १५ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ सरकारसँग भौतिक पूर्वाधारलगायतको क्षेत्रमा सहयोग गर्न माग गर्नुभएको छ । चिनियाँ राजदूत चेन सङले आइतबार मन्त्रालयमा भएको भेटमा आपसी हित, दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।

नेपालका लागि चिनियाँ राजदूतका रूपमा नियुक्त भएर आउनुभएका चेनलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल हुँदै कोटेश्वर सडकखण्ड विस्तारको कामलाई चाँडै बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गर्नुभयो ।



भेटपछि चिनियाँ राजदूत चेन सोङले नेपालको भौतिक पूर्वाधारको विकासमा चीनले तीब्र रुपमा काम अगाडि बढाउँदै लगेको र चीन सँधै नेपालको विकासमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

राजदूत चेनले भन्नुभयो, ‘हामीबीच अहिले निर्माण भइरहेका र निकट भविष्यका आयोजनाहरुबारे सामान्य छलफल भए, हामी सबै आयोजनाको काम तीब्र रुपमा अगाडि बढाउँदै नेपालको सामाजिक र आर्थिक विकासमा सहयोग गरेर योगदान दिन चाहन्छौँ ।’

उहाँले नेपालमा सामूहिक रुपमा पर्यटक भित्र्याउने सम्बन्धमा दुई देशबीच सहमति गर्न आवश्यकतामा जोड दिनुभयो । केही दिन अघि चीनले सामूहिक रुपमा चिनियाँ पर्यटक घुम्न पाउने देशको सूची तयार पारेको थियो ।

‘हामी नेपाल सरकार र नेपाली उद्योगपतिहरुसँग मिलेर नेपालका भौतिक पूर्वाधारलगायतका क्षेत्रमा मिलेर काम गर्न चाहन्छौँ ।’ असाधारण तथा पूर्णाधिकार प्राप्त चिनियाँ राजदूत चेनले गोरखापत्र अनलाइनसँगको कुराकानी सो कुरा बताउनुभयो ।

सोही विषयमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।


चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।

यस्तै, चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गर्नुभयो । सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

यस्तै, अरनिको राजमार्गको मर्मत र विस्तारमा समेत थप सहयोग उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो । टोखा–छहरे सुरुङमार्ग, सङ्खुवासभा–किमाथाङ्का सडकखण्डका अलावा सीमा नाका खुलाउने विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तै, मन्त्रालयका प्रेस संयोजक कमल गिरीका अनुसार नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडकखण्डलाई तदारुकताका साथ निर्माण सम्पन्न गर्न मन्त्री श्रेष्ठले चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।