• १९ फागुन २०८२, मङ्गलबार

मङ्गलबार सर्वदलीय बैठक, मतदानस्थल तयारी

blog

डुम्रेकुनास्थित जालपादेवी मावि मतदान केन्द्रका मतदान अधिकृत वसन्तराज गौतम मतदानस्थलमा सूचना टाँस गर्नुहुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, फागुन १९ गते ।
फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छन् ।

१० वटा स्थानीय तह र दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १ मा ६२ र क्षेत्र नम्बर २ मा १०५ गरी १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनमा खटिएका सबै अतदान अधिकृतलगायतका कर्मचारीहरु मतदानस्थलमा पुगेर आवश्यक तयारी थालेको बताउनुभयो ।

‘‘मतदानस्थलमा सोमबार नै निर्वाचन आवश्यक तयारीको क्रममा सूचना टाँसलगायतका तयारी सुरु गरेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘मङ्गलबार सर्वदलीय बैठक बसेर आवश्यक तयारीसँगै मतदानस्थल निर्माणका लागि घेराबारसहितको तयारी गरिने छ ।’’

उहाँले भन्नुभयो, ‘‘मङ्गलबार सर्वदलीय बैठक बस्ने र २० गते मतदान केन्द्र निर्माण गरिने कार्यतालिका छ । फागुन २१ गते निर्वाचन हुनेछ ।’’ 

निर्वाचन क्षेत्र नम्बर २ को मकवानपुरगढी गाउँपालिका ६ डुम्रेकुनास्थित जालपादेवी मावि मतदान केन्द्रका मतदान अधिकृत वसन्तराज गौतमले मङ्गलबार निर्वाचनस्थलमा सूचना टाँसलगायतका तयारी गरिएको बताउनुभयो ।

निर्वाचनमा आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीसहित सुरक्षाकर्मी, मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्। नगर आसपासका केही स्थानमा मतपत्र मङ्गलबार पठाइएको छ ।

जिल्लामा अति संवेदनशील, संवेदनशील र मतदान केन्द्र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था गरिएको छ ।

सबै मतदान केन्द्रमा सुरक्षा निकाय परिचालन भइसकेको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा दुई हजार २४४ कर्मचारी खटिने छन् ।