बिष्णुप्रसाद पोखरेल
दमक, फागुन १९ गते । भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको नेपालको पूर्वी नाका झापा जिल्लामा ७२ घण्टाका लागि सीमा सिल गरिएको छ । निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको बताइएको छ ।
मङ्गलबार बिहानैदेखि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन भएका छन् । सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मी आ–आफ्नो देश तर्फ तैनाथ भएका हुन् । निर्वाचनको समयमा ७२ घण्टा सिमा क्षेत्र सिल गरिने गर्छ ।
अतिआवश्यक काम बाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभएको छ । केहि दिन अघि भारतीय अधिकारीहरुसँग निर्वाचन केन्द्रित छलफल भएको थियो ।
बिहीबार हुने निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको गेलालले जनाउनुभयो । सीमा क्षेत्रदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गरिएको र गस्तीसमेत तीव्र पारिएको छ ।