• १४ वैशाख २०८१, शुक्रबार
blog

काठमाडौँ, माघ १५ गते  ।  कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश जानुभएकाले उहाँको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपियाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपियाँ प्राप्त ग-यो । 

दुई वर्षअघि भ्रमण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई)मा जानुभएका चितवनका महेश अधिकारीको सडक दुर्घटनाका कारण मृत्यु भयो । यूएईको स्टार होटलमा काम गर्ने अधिकारीको काम गरुन्जेल कमाइ राम्रै भए पनि भ्रमण भिसामा गएर काम गरेकाले उहाँको परिवार कल्याणकारी कोष र बीमाबाट प्राप्त गर्ने रकम लिनबाट वञ्चित भयो । 

वैदेशिक रोजगार बोर्डका निर्देशक मैया कँडेलले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई भ्रमण भिसामा जानेलाई हामीले चाहेर पनि आर्थिक सहायता रकम दिन नसक्ने बताउनुभयो । श्रम स्वीकृति लिएर गएका, श्रम स्वीकृति लिएको करार अवधि सकिएको पनि एक वर्ष कटेकालाई आर्थिक सहायता दिन नमिल्ने व्यवस्था रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “विदेशमा काम गर्न जाँदा श्रम स्वीकृति लिएर जानुपर्छ र श्रम स्वीकृति लिएर पनि करार अवधि सकियो भने पनि दूतावासबाट दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सकिन्छ ।”

श्रम स्वीकृति लिएर दुई वर्षको करार गरेर खाडी र मलेसिया जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा दुई हजार पाँच सय रुपियाँ जम्मा गर्नुपर्छ भने दुई वर्षभन्दा माथिको करार अवधिमा दक्षिण कोरिया, इजरायललगायतमा जानेले प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ जम्मा गर्नुपर्छ । 

निर्देशक कँडेलले श्रम स्वीकृति नलिई विदेशमा गएर मृत्यु भएका श्रमिकको हकमा सम्बन्धित श्रमिकको घरसम्म निःशुल्क शव ढुवानी गरिदिनेबाहेक अन्य आर्थिक सहायता गर्ने कानुनी व्यवस्था नभएको बताउनुभयो । “भ्रमण भिसामा गएर विदेशमा मृत्यु भएका र करार अवधि सकिएपछि विदेशमा मृत्यु भएका श्रमिकका परिवारका सदस्य आर्थिक सहायताका लागि आउनुहुन्छ तर हामी दिन सक्दैनौँ, कानुनमा नभएको व्यवस्था के गर्ने ?” कँडेलले प्रतिप्रश्न गर्नुभयो । 

बोर्डका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार वा अङ्गभङ्ग भएर फर्किएका गरी ६३८ जनाले बोर्डबाट आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ लिएका छन् । आव २०७९/८० को साउनदेखि माघ महिनासम्म विदेशमा मृत्यु भएका परिवार र रोजगारीकै क्रममा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई कल्याणकारी कोषबाट २६ करोड १४ लाख ५० हजार रुपियाँ प्रदान गरेको बोर्डको सचिवालयले जनाएको छ । बोर्डका अनुसार ६४ जना अङ्गभङ्ग भएर फर्किएकासहित ६३८ जनाले आर्थिक सहायता लिएका छन् । 

बोर्डका अनुसार सो अवधिमा क्षतिपूर्ति लिएकामध्ये सबभन्दा धेरै विदेशमा काम गर्ने क्रममा मृत्यु भएका १५४ जना रहेका छन् भने प्राकृतिक मृत्यु भनिएका १३७ रहेका छन् ।

सो अवधिमा सडक दुर्घटना र ट्राफिक दुर्घटना कारण ८२ जनाको मृत्यु भएर उनीहरूको परिवारले आर्थिक सहायता लिए भने आत्महत्या गरेका ४६ जना, हृदयाघातबाट मृत्यु भएका ४३ जनाको परिवारले आर्थिक सहायता लिएका छन् । कार्यस्थल दुर्घटनाबाट १४ जनाको मृत्यु भएको छ भने मृत्युको कारण नखुलेका ६७ जना रहेको बोर्डको सचिवालयले जनाएको छ ।

सो अवधिमा सबभन्दा धेरै आर्थिक सहायता लिने साउदी अरबमा ज्यान गुमाएका १८८ जना छन् । सो अवधिमा साउदीमा मृत्यु भएको भनेर बोर्डबाट आर्थिक सहायता लिनेमध्ये ६० जनाको मृत्यु प्राकृतिक भनिएको छ । साउदीमा सो अवधिमा ट्राफिक दुर्घटनाका कारण ३२ जना, आत्महत्याका कारण २७ जनाको मृत्यु भइको छ । अन्य कार्यक्षेत्र दुर्घटना, हत्या, हृदयाघातलगायतका कारण रहेको बोर्डले जनाएको छ ।