• ११ मंसिर २०८१, मङ्गलबार

सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालन

blog

चितवन समाचारदाता

चितवन, माघ १३ गते । चितवन मेडिकल कलेजले सरकारी अस्पतालले लिने शुल्कमा उपचार गर्नेगरी सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ। मेडिकल कलेजले आफ्नो भगिनी संस्थाका रूपमा क्यान्सर अस्पताल सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो। 

डा. लम्सालले भन्नुभयो, “दुई अर्ब रुपियाँभन्दा बढीको लगानीमा निर्मित अस्पतालमा आधुनिक उपचार पद्धति रहेको छ। हामीले सरकारी अस्पतालले लिने शुल्कमा यहाँ उपचार गर्नेछाैँ।” भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएकाले निर्धक्क भएर उपचार गर्न सकिने उहाँले जानकारी दिनुभयो। अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड रुपियाँ खर्च गरेको डा. लम्सालले बताउनुभयो। अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्ब रुपियाँभन्दा बढी खर्चमा अस्पताल निर्माण भएको छ। अस्पतालमा रेडियसनलगायतका सेवा अहिले सञ्चालनमा आइसकेको छ।

सरकारी अस्पतालमा लिने शुल्कमै यस अस्पतालमा उपचार हुने भएकाले उपचारमा निजीले महँगो शुल्क लिन्छ कि भन्ने लागेको छ भने त्यो शङ्का हटाउन निर्देशक डा. लम्सालले आग्रह गर्नुभयो। इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सर उपचारसहित प्रत्यारोपण हुने निर्देशक डा. लम्सालको भनाइ छ।

निर्देशक डा. लम्सालले क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नुपर्ने र विदेश जानुपर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल सुरु गरेको दाबी गर्नुभयो।