काठमाडौं, माघ १२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालय मातहतका कार्याल्यमा शौचालय सफाइ अभियान सुरु गरिएको बताउनुभएको छ।
किरात राई खेलकुद संघको स्थापना दिवस तथा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाइ ज्ञापन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो।
मन्त्री किरातीले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि फाइदाजनक रहेको भन्नुहुँदै यसलाई आर्थिक उपार्जनको क्षेत्रको रुपमा पनि विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले ठूलो काम थालेका छैनौं। मन्त्रालय मातहतकै कार्यालयमा शौचालय सफाइ अभियान सुरु गरेका छौं। हामीलाई खाना राम्रो हुनुपर्ने तर, शौचालय राम्रो नराख्ने ? यो पर्यटन, सभ्यतासँग पनि जोडिन्छ। यो संस्कृति निर्माण गर्नु पनि हो।”
उहाँले देशैभरका मन्त्री, जनप्रतिनिधिले महिनामा करोडौंको फूलमाला, खादा लगाउदै आएकोमा यस विषयमा चिन्तन गर्नुपर्ने बताउनुभयो।
मन्त्री किरातीले अब वसन्तु ऋतु आएसँगै कृषक कृषितिर फर्कने भन्नुहुँदै वसन्त पञ्चमीको शुभकामना पनि व्यक्त गर्नुभयो। कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता कार्यक्रममा पदक विजेता खेलाडीलाई सम्मान पनि गरेको थियो।