• ७ वैशाख २०८१, शुक्रबार

भिडियो सामग्री

वसन्तपुर क्षेत्रको पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने

blog

काठमाडौं, माघ ११ गते। २०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनर्निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ। हनुमानढोका दरबार सङ्ग्रहलयका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार पुनर्निर्माण पूर्णरुपमा सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको हो। 

२०७२ को भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोकसमेत गरेर ९५ वटा सानाठूला सम्पदामा क्षति पुर्याएको थियो। त्यसमध्ये काष्ठमण्डप, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ। 

सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत गरेपछि हनुमानढोका र वसन्तपुर दरबार क्षेत्र विश्वसामु परिचित छन्।

हनुमानढोका दरबार संग्राहलयका कार्यकारी निर्देशक खनालका अनुसार, वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै सङ्घ–संस्थाले सहयोग गरेका छन्। पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्तासमिति मार्फत काम भइरहेको छ। ठूला परियोजनामा अमेरिका र चीन सरकारको सहयोग रहेको छ। गद्दी बैठक र नौतले दरबारको पुनर्निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ। 

काठमाडौं महानगरपालिकाले उपभोक्ता समितिमार्फत काष्ठमण्डपको पुनर्निर्माण गरेको छ। प्रदेश सरकारको सहयोगमा जगन्नाथ मन्दिर पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। शिव मन्दिर क्षेत्रको भने पुनर्निर्माण भइराखेको छ।

भूकम्पले क्षति पुर्याएका केही सम्पदाको पुनर्निर्माण काम अझै सुरु हुन सकेको छैन। वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नवआदर्श स्कुल, संस्कृत विद्यालयको भवन, हनुमानढोका प्रवेशद्वारसँगै रहेको आगँ छेँ, सुन्दरी चोक, मोहन चोक, कामदेव मन्दिरको काम सुरु हुन सकेको छैन। पूर्णरुपमा क्षति भएको माजुदेग आठ करोड ११ लाखको लागतमा निर्माण हुँदैछ। 

काम सुरु हुन बाँकी रहेका संरचनाको काम तत्काल सुरु भएमा दुई वर्षभित्र यो क्षेत्रको सम्पूर्ण काम पूरा हुने उहाँको भनाइ छ। नौतले दरबार चीन सरकारले बनाएको हो। पुनर्निर्माण सम्पन्न भए पनि यो हस्तान्तरण भएको छैन।  हस्तान्तरण भएपछि प्रदर्शनीका लागि करिब एक वर्षको समय लाग्ने उहाँले बताउनुभयो। भूकम्पले क्षति पुर्याएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्रबारे गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री  :