पाँच वर्ष ललितपुरको लगनखेलमा अवस्थित सेनाको राजदल ब्यारेकले आकाशबाट परेको पानी जमिनमुनि पठाउन भनी ५१ वटा रिचार्ज बेल बनाएको छ । आकाशबाट परेको पानी सङ्कलन गर्न बनाइएको इनारलाई नै रिचार्ज बेल भनिन्छ । आकाशबाट परेको पानी छतको किनारमा जडान भएको पाइपमार्फत ट्याङ्कीमा जम्मा गरिन्छ र पानीलाई जमिनमुनि पठाइन्छ । उक्त ब्यारेकमा कार्यरत एक कर्मचारीका अनुसार सुरुको पानी सिधै पठाउँदा फोहोर हुने भएकाले त्यसलाई फिल्टर गरेर मात्रै जमिनमा पठाइन्छ । ३० रोपनी क्षेत्रफलमा रहेको यो रिचार्ज सेन्टरले प्रतिवर्ष पाँच करोड १० लाख लिटर बढी पानी पुनर्भरण गर्छ । एक करोड लागतमा निर्माण गरिएको रिचार्ज प्रणाली प्रत्येक दुई वर्षमा मर्मत गर्नु पर्छ ।
उपत्यकामा पानी रिचार्जका लागि अर्को महìवपूर्ण क्षेत्र हो, बालाजु बाइसधारा । जसमा २१ वटा रिचार्ज बेल जडान गरिएको छ । जुन दुई वर्षअघि मात्रै सम्पन भएको थियो । यस्तै, वडा नम्बर ३ मा रहेको रानीबारी जङ्गलमा ३७२ मिटर लामो रिचार्ज गर्न खाडल बनाइएको छ । यस्तो रिचार्ज गर्दा लगाइएका फिल्टरमा लेदो जम्ने र पानी पुनर्भरणमा समस्या हुने भएकाले कम्तीमा दुई वर्षमा सफा गरेर पुनः सुचारु गर्नु पर्छ । बाइस धारामा जस्तै ०७० सालमा स्टाफ कलेज जाउलाखेलमा रिचार्ज वेलबाट अहिले पनि पानी पुनर्भरण गर्ने काम भइरहेको छ ।
ललितपुर महानगर वडा नं २० पुल्चोकमा रहेको त्रि–पद्य विद्याश्रम माध्यमिक विद्यालयले गत वर्षदेखि पुनर्भरण गर्ने कामलाई सञ्चालनमा ल्याएको छ । विद्यालय भवनका छतमा जम्मा भएको पानी पाइपको माध्यमबाट छुट्टै ट्याङ्की राखेर इनार हुँदै फिल्टर गरेर जमिनमा पठाइन्छ । एकीकृत सहरी विकास केन्द्रको सहयोगमा ललितपुरका २९ वडामध्ये वडा नम्बर ६,१२ र २० का ३ वटा स्कुलमा यस्तो प्रविधि जडान गरिएको छ । ललितपुर महानगरपालिकाका इन्जिनियर अखिल पोखरेल सहरी क्षेत्रका सार्वजनिक सङ्घ संस्थामा पर्याप्त रिचार्ज योग्य खुला ठाउँ नभएको बताउँछन् । खुला ठाउँ हुने भएकाले विद्यालयले भने चासो राखेको उहाँको भनाइ ।
“व्यक्तिगत रूपमा आकाशको पानी पुनर्भरण गर्ने विषयमा पनि अहिले सर्वसाधारणले चासो राख्न थालेका छन्,” पोखरेल भन्नुहुन्छ । काठमाडौँ महानगरपालिका वार्ड नम्बर ७ का वडाअध्यक्ष विमल होडाले नगर विकास प्राधिकरणको समन्वयमा वडाका ६० घरमा यो प्रणाली विकास गर्न लाग्नुभएको छ भने उपभोक्ताको पनि यसमा सहगोग रहेको उहाँ बताउनुहुन्छ । एउटा घरमा कम्तीमा पनि दुई लाखसम्म खर्च गर्दा वर्षाको पानी सङ्कलन गरेर जमिनमुनि पठाउने व्यवस्था गर्न सकिने उहाँको भनाइ छ ।
एकीकृत सहरी विकास केन्द्र र बोटर्लस नेपाललगायतको प्राविधिक तथा आर्थिक सहयोगमा अहिले काठमाडौँ उपत्यकाभित्र एक सय बढी स्थानमा आकाशे पानीको पुनर्भरण प्रणाली सञ्चालनमा छन् । आकाशबाट परेको पानी प्रकृतिक रूपमै जमिनमा रिचार्ज हुन्छ । सहरी भेगमा भने पर्याप्त खुला स्थानको अभावले कृत्रिम रिचार्ज प्रव्रिmया अपनाएर पनि आकाशे पानीलाई जमिनतर्फ फर्काइन्छ । एकीकृत सहरी विकास केन्द्रका कार्यव्रmम निर्देशक सुदर्शन राजभण्डारीका अनुसार, खुला जमिन भएका सार्वजनिक कार्यालय पुनर्भरणका लागि उपयुक्त क्षेत्र मानिए पनि सुरक्षा संवेदनशीलताको विषय उठाएर ती क्षेत्रमा पुनर्भरण प्रणाली विस्तार गर्न कठिन भएको छ ।
“यस्तो प्रणाली जडानका लागि प्राविधिक टोलीले माटोको परीक्षण गरेर त्यस क्षेत्रमा जमिनले पानी कति मात्रामा ग्रहण गर्न सक्छ भनेर माटोको बनोट हेरेर मात्रै उपयुक्त क्षेत्र छनोट भएपछि प्रव्रिmया अघि बढ्छ,” राजभण्डारीले भन्नुभयो, “प्राविधिक टोलीले सिंहदरबारभित्रको खुला क्षेत्र आकाशे पानीको पुनर्भरणका लागि उपयोगी भएको भनेर निष्कर्ष निकाल्यो तर सुरक्षा संवेदनशील क्षेत्र भएको भन्दै काम अघि बढाउन सकिएन ।”
लैनचौर, नक्साल, शीतल निवासलगायत काठमाडौँ उपत्यकाभित्र बलौटे माटो भएका स्थान पुनर्भरणका लागि उपयुक्त देखिएको अध्ययनमा उल्लेख छ । मुख्य त कालिमाटी क्षेत्रबाहेकका बलौटे माटो भएका अधिकांश क्षेत्रमा रिचार्ज वेल बनाउन सकिने केन्द्रको प्रतिवेदनमा उल्लेख छ । जमिनमुनिको पानीको अत्यधिक प्रयोगपछि पानीको मात्रामा कमी आउँछ । खुला जमिन मासिँदै गयो, भौतिक संरचनाको निर्माण तीव्र रूपमा बढ्न थालेपछि आकाशबाट आएको पानी जमिनमा रिचार्ज हुन नपाएर खोलानालामा मिसाउने वा भिरालोतिर बगेर जाने व्रmम बढेको छ । भूगर्भविद् डा. सुबोध ढकालका अनुसार यस्तो नहोस् भन्नका लागि जमिन रिचार्ज गर्दा जमिनमुनि भएको पानीको मात्रामा कमी आउन पाउँदैन र वातावरण सन्तुलनमा पनि सकारात्मक प्रभाव पर्छ ।
काठमाडौँ उपत्यकामा सार्वजनिक ढुङ्गे धारा प्रशस्त मात्रामा छन् । उपत्यकामा रहेका ३६६ ढुङ्गे धारामध्ये काठमाडौँमा २०४, ललितपुरमा ६३ भक्तपुरमा ९९ वटा धारा छन् तर अधिकांश धारामा पानी आउँदैन । दुई दर्जन हाराहारी यस्ता धारामा बर्सातको समयमा मात्रै पानी आउँछ । अहिले सीमित ढुङ्गे धारामा मात्र प्राकृतिक रूपमा पानी आउने गरेको छ । केही धारामा भने कृत्रिम रूपमा पानी जडान गरेर सञ्चालनमा ल्याइए पनि अधिकांश धारा प्रयोगविहीन रहेको त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डा. सन्ध्या खनाल बताउनुहुन्छ । जुन रूपमा पानी डिस्चार्ज हुन्छ, त्यसको अनुपातमा पानी रिचार्ज गर्ने हो भने बिस्तारै ती सार्वजनिक इनार र धारामा अबको केही वर्षमा पानी आउने बनाउन सकिने विज्ञहरूको दाबी छ । प्रभावित क्षेत्रका बासिन्दा, सहरी गरिब बस्ती मजदुर, बटुवा जसले दैनिक उभोगका लागि सार्वजनिक धारा र इनार प्रयोग गर्दै आइरहेका थिए उनीहरू अहिले यसबाट वञ्चित छन् । आकाशे पानीको पुनर्भरणका प्रसस्तै फाइदा भए पनि आमसर्वसाधारणलाई बुझाउन अहिले पनि सकिएको छैन ।
आकाशबाट आएको पानी दैनिक आवश्यक भएमा प्रयोग गर्न र बढी भएको पानीलाई पुनर्भरण गर्न सके बाढीबाट हुने क्षति पनि कम गर्न सकिन्छ भने अर्को तर्फ पानीको सङ्कट कम गर्न मद्दत पुग्छ । जमिनमुनिको पानीको अत्यधिक दोहन, अव्यवस्थित संरचना निर्माण, प्राकृतिक रूपमा पुनर्भरण हुन सक्ने स्थान बन्द हुँदा भूमिगत पानीको सतह कम भएको छ । कुनै समयमा यहाँका प्राकृतिक पानीका स्रोत नै उपत्यकाभित्रका खानेपानीका मुख्य स्रोतका रूपमा थिए । बढ्दो सहरीकरण र खुला स्थान अतिव्रmमण हुँदा प्राकृतिक रूपमा जमिन रिचार्ज हुन पाएन, जसको प्रत्यक्ष असर पानीका स्रोतमा देखियो ।
उपत्यकामा वार्षिक सरदर १५०० मिमि वर्षा हुने गर्छ । झन्डै ८० प्रतिशत उपत्यकाका घरबाट आकाशे पानी सङ्कलन गर्न सकिन्छ । यसरी आएको सबै पानी सङ्कलन गरेर राख्न नसके पनि पाँच प्रतिशत मात्रै पानी पुनर्भरण गर्न सके उपत्यकामा आवश्यक पर्न पानी पु¥याउन सकिने पानी विज्ञ दीपक ज्ञवाली बताउनुहुन्छ । ‘प्राकृतिक रूपमा रिचार्ज हुने ठाउँ बनाउन र कृत्रिम पुनर्भरण प्रणालीको तीव्र विस्तार गर्न अब ढिला गर्नु हुँदैन । जसरी हरेक घरमा सेफ्टी ट्याङ्की अनिवार्य गरिएको छ, त्यसै गरी हरेक घरमा पानी पुनर्भरण गर्न इनार बनाउन आवश्यक छ । “उपत्यकाको नेतृत्व लिएकाहरूले दूरदर्शिता देखाउनु पर्छ । यहाँ आवश्यक पर्ने पानीको लेखाजोखा गरेर, पानीको सन्तुलन मिलाउन सके पर्याप्त पानी पु-याउन सकिन्छ,” सहप्राध्यापक खनालले भन्नुभयो । उपत्यका वरपर भएका ससाना डाँडाकाँडामा थोरै खर्चमा निर्माण गर्न सकिने साना पोखरी बनाउने हो भने आवश्यक जमिन रिचार्ज पनि हुने र पानीका स्रोत बढान सकिने विज्ञ ज्ञवालीको सुझाव छ ।
पुनर्भरणको महत्त्व
कुनै समय भूमिगत पानीमै निर्भर भएको उपत्यका अहिले पानीको सङ्कट बेहोरिरहेको छ । भूमिगत जमिनमुनि पानीको मात्रा घट्दा ‘भ्याकुम व्रिmयट’ हुन्छ र जमिन र बस्तीमा समेत जोखिम निम्तिन सक्छ भने अर्कोतर्फ जमिनमुनि पानी घट्नु भनेको जमिन भासिने जोखिम पनि बढ्ने चेतावनी विज्ञहरूले दिँदै आइरहेका छन् । समय समयमा परेको पानी जमिनमुनि सञ्चित भइरहनु भनेको जमिनमा हावा भरिन नपाउनु हो । हावा भरिनु भनेको गम्भीर जोखिम हो । सञ्चित पानी आवश्यक परेको समयमा निकाल्न मिल्छ भने आकाशबाट परेको समयमा ट्याङ्कीमा सङ्कलन भएको पानी सरसफाइ सिँचाइलगायतमा प्रयोग गर्न सकिन्छ । पुनर्भरण भनेको नै कृतिम रूपमा पानी जमिनमा पठाउनु हो । जुन स्थान पुनर्भरणका लागि उपयुक्त मानिएको छ, त्यस्ता ठाउँमा यो प्रविधि अपनाउन सके उपत्यकामा आवश्यक पर्ने पानी बनाउन सकिन्छ ।