• १५ वैशाख २०८१, शनिबार

कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजीलाई

blog

काठमाडौँ, माघ ११ गते । आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो । सोही निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन सूचना जारी गरेको छ । यसअघि कक्षा १–३ का मात्र पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।

केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुङ्गानाले मन्त्रालयको निर्णयका आधारमा कक्षा १–५ सम्म नै निजी क्षेत्रलाई छपाइको जिम्मा दिइएको बताउनुभयो । विद्यालय तहको प्रिन्ट रेडी कपी (पीआरसी) पाठ्यक्रम विकास केन्द्रले तयार गरेर पुस्तक छपाइका लागि जनकशिक्षा सामग्री केन्द्र वा निजी क्षेत्रलाई दिने गरेको छ । कुन तहदेखि कुन तहसम्म जनक शिक्षा वा निजी क्षेत्रलाई छपाइको जिम्मा दिने भन्ने बर्सेनि निर्णय गर्नुपर्ने व्यवस्था छ । 

हरेक वर्ष शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको छ । यस वर्ष तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रको भनाइ छ । 

गत कात्तिकमा पाविकेले कक्षा १–३ सम्म नै निजी क्षेत्रलाई छपाइको जिम्मा दिने प्रस्ताव तयार गरी शिक्षा मन्त्रालयमा निर्णयार्थ पठाएको थियो । मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको थियो । केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । 

कक्षा १–५ मा चार रङको पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । आगामी वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइँदै छ । ती तहका सबै पाठ्यपुस्तकका पीआरसी अझै तयार भइसकेको अवस्था नभएकाले आगामी वर्ष पनि पाठ्यपुस्तकको अभाव हुन सक्ने अनुमान गरिएको छ । निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा दिँदैमा पाठ्यपुस्तक अभावको समस्या रोकिनेमा सरोकारवालाले शङ्का व्यक्त गरेका छन् । 

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो, “पाठ्यपुस्तक छपाइ र वितरणमा हरेक वर्ष समस्या आइरहेको छ । जति गर्दा पनि समयमा विद्यार्थीले पाठ्यपुस्तक पाइरहेका छैनन् । तसर्थ आउने वर्ष पनि सहजै पाठ्यपुस्तक वितरण हुनेमा शङ्का छ ।” आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई दुई करोड ५५ लाख थान पुस्तक छाप्नुपर्ने हुन्छ । 

यसैबीच सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आगामी शैक्षिक सत्रका समयमा नै पाठ्यपुस्तक उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पाठ्यपुस्तक समयमा पु-याउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी वर्ष विगतका जस्तो समस्या नहुने स्पष्ट पार्नुभयो ।