• ११ वैशाख २०८१, मङ्गलबार

पाठेघर खस्ने समस्या

blog

पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन् । कुनै पनि सङ्क्रमणले, बच्चाको जन्मको समयमा अत्यधिक बलको प्रयोगले, बच्चाको जन्मको समयमा मांसपेशीमाथि परेको जोरको प्रभाव कम हुन नपाउँदै घरेलु वा अन्य खालका जोर पर्ने काम गर्दा ती तन्तु कमजोर भएका कारणले पाठेघरमा दुष्प्रभाव पर्दछ । 

यति मात्र होइन धेरै गर्भधारण र प्रसूतिले समेत पाठेघरलाई आफ्नो ठाउँमा अड्याइराख्ने डोरीजस्ता तन्तुको क्षमतामा प्रतिकूल प्रभाव पर्दछ । जसले गर्दा खुकुलो भएको पाठेघर आफ्नो ठाउँबाट तल झर्दछ र कहिलेकाहीँ त योनिमार्गबाट बाहिर निस्कने वा स्थायी रूपमा बाहिर निस्किइराख्ने हुन सक्छ ।

पाठेघरको यस्तो अस्थिरताका कारण त्यसले आफ्नो ठाउँ छाड्दा त्यसको ठ्याक्कै अगाडि बसेको पिसाबको थैली र मूत्रनलीमा पनि दबाब पर्छ । यसो हुँदा मूत्रप्रणालीमा सङ्क्रमणको विकास हुन सक्छ र छिटोछिटो पिसाब लाग्ने अथवा पिसाब पोल्ने हुन सक्छ । सङ्क्रमणका कारणले पनि पाठेघर खस्न सक्ने कुरा त पहिले नै उल्लेख भइसकेको छ । तर अर्को महत्त्वपूर्ण जानकारी के पनि हो भने आफ्नो ठाउँ छाडेको पाठेघर सङ्क्रमणको उच्च जोखिममा हुन्छ । 

त्यस्तो सङ्क्रमण पाठेघरबाट तल्लो पेटका विभिन्न अङ्ग, खासगरी योनिमार्ग वा योनिमुखतिर सर्दछ अथवा त्यसको ठीक उल्टो मूत्रनली, योनिमार्ग वा मलद्वारका सङ्क्रमण सजिलैसँग पाठेघरसम्म पुग्छ ।

पाठेघरले आफ्नो ठाउँ छाड्नाको अर्को महत्त्वपूर्ण कारण हो कुपोषण । किनभने पाठेघरलाई आफ्नो ठाउँमा अड्याउने तन्तुहरूको क्षमता कुपोषणले घटाएर तिनीहरूलाई कमजोर बनाउँछ । पाठेघरको यस्तो अवस्थाले महिलाको शारीरिक र मानसिक दुवै स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दछ । 

महिलामा तल्लो पेट दुख्ने, महिनावारीमा गडबडीका लक्षण देखिने, योनिमार्ग वा योनिमुख चिलाउने, छिनछिनमा पिसाब लाग्ने अथवा पिसाब पोल्ने, टुक्रुक्क बसेर गरिने कुनै पनि काम गर्दा योनिद्वारबाट केही कुरो निस्किन लागेजस्तो गरी अप्ठ्यारो हुने, योनिमार्गबाट सेतो बाक्लो अथवा अन्य रङको पातलो दूधजस्तो पदार्थ निस्कने, तल्लो ढाड दुख्ने र यौनसम्पर्कको समयमा योनिमार्ग पोल्ने, दुख्ने वा अप्ठ्यारो महसुस भएर विस्तारै यौन चाहना नै कम हुनेजस्ता लक्षणमध्ये कुनै वा सबै एकैपटक देखिन सक्छन् ।

महिनावारीका बेलामा तल्लो पेट दुख्ने समस्या बढी हर्मोनको गडबडीका कारणले हुन्छ भने महिनावारीको समयबाहेक अरू बेला तल्लो पेट दुख्ने समस्यामा यस्ता सङ्क्रमण जिम्मेवार हुन्छन् । यस्तो सङ्क्रमणका कारणबाट योनिमार्गबाट प्रवेश गर्ने शुक्रकीटहरू योनिमार्गमै नष्ट भएर महिलाले गर्भधारणसमेत गर्न सक्दिनन् । अर्कातिर यौन समागम वा सम्भोगको समयमा योनि पोल्ने, दुख्ने वा अप्ठ्यारो हुने कारणले महिलामा यौन सम्पर्क अघि उत्पन्न हुने एक किसिमको मानसिक त्रासले प्राकृतिक यौनेच्छा घट्न सक्छ । 

यस्तो समस्या हुँदाहुँदै पनि कहिलेकाहीँ आफ्नो कष्टको वास्ता नगरी दाम्पत्य जीवनको रक्षार्थ महिलाले पतिसँग सम्भोगका लागि प्रस्तुत हुनुपर्ने तथा त्यसो नगरी सम्भोगप्रति अरुचि देखाए दाम्पत्य सम्बन्धमा समेत कटुता उत्पन्न हुने डर रहन्छ । 

पोषण र शिक्षाको अभाव भएका तथा नारीको प्रजनन स्वास्थ्यप्रति कम संवेदनशील ग्रामीण क्षेत्रमा यो समस्या बढी देखिएको छ । नारीसुलभ लज्जाले गर्दा धेरै महिला अस्पतालको वा स्वास्थ्य संस्थामा पुगेर पनि आफ्ना समस्या खुलेर भन्न सक्दैनन् । त्यति मात्र होइन उनीहरू जीवनका सबै सुखदुःख र यौनसम्बन्धी तिता, मीठा अनुभव साटासाट गर्नुपर्ने आफ्नो जीवनसाथीसँग पनि यस्ता कुराबारे सरसल्लाह गर्न अप्ठ्यारो मान्छन् ।