• १२ साउन २०८१, शनिबार

सामाजिक सञ्जालका कारण चुनौती बढ्दै

पाँच हजार ९३८ महिला र बालबालिका सम्पर्कविहीन

blog

मानव बेचविखनको प्रमुख नाका बनेको जमुनाहा नाका । तस्बिर– सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, माघ ८ गते । नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा  सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन परेको जनाइएको छ । 

निवेदन परेकाहरूको खोज तलास गर्दा हालसम्म एक हजार ६३८ जनालाई मात्र फेला पार्न सकेको र अझै पनि पाँच हजार ९३८ जना महिला र बालबालिका सम्पर्कविहीन रहेको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले बताउनुभयो । 

उहाँले भारतबाट उद्धारका लागि सरकारले अझै पनि उद्धार संयन्त्र निर्माण नगरेकाले खोजतलास र उद्धारमा समस्या भइरहेको बताउनुभयो । 

भारतको दिल्लीको जीवी रोड, कलकत्ताको सोनागाछी, मेरठको कवाडी बजार, आगराको काश्मीरी बजार र मुम्बईका विभिन्न रेडलाईट क्षेत्रमा नेपाली चेलीबेटीहरू विक्री हुँदै आएको कोइरालाको भनाइ छ । 

माइती नेपाल नेपालगञ्जले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म यो नाकाबाट शङ्कास्पद रूपमा भारत जान लागेका आठ हजार ५६८ जनाको उद्धार गरिएको, ती मध्ये आठ हजार ६६० जनालाई पारिवारिक पुनः मिलन गराइएको छ । 

सोही प्रकारले ३६५ जनाको भारतका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएको र बेचबिखनका ९३ वटा मुद्दा सम्बन्धित निकायमा दर्ता गराइएको पनि माइती नेपाल, नेपालगञ्जका प्रमुख कोइरालाले बताउनुभयो । 

उहाँका अनुसार गत एक वर्षको अवधिमा मात्र जोखिमपूर्ण रूपमा भारत छिर्न लागेका ५२९ जना महिला तथा बालबालिकाको नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । 

दलालले प्रलोभित गरेर नाका पार गर्न लागेको ५२९ जना मध्ये सुर्खेतका ८६ जना र बाँकेका ८२ जना रहेका थिए । 

सामाजिक सञ्जालको प्रयोगले मावन बेचविखन बढ्यो

सामाजिक सञ्जालको प्रयोग बढेसँगै मानव बेचबिखन तथा ओसारपसार पनि बढ्दै गएको पाइएको छ । 

टिकटक, फेसबुक, इमो, मेसेन्जर, ह्वाट्सअपलगायतका सामाजिक सञ्जालमा प्रयोग हुने प्रविधिहरू मानव बेचबिखन तथा ओसारपसारमा प्रमुख सहयोगी बनेको बेचबिखन रोकथाममा लागेकाहरूको अनुभव छ । 

मानव बेचबिखन तथा ओसारपसारका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको माइती नेपालका अनुसार सामाजिक सञ्जालको प्रयोग बढेपछि मानव बेचबिखन बढेको र नियन्त्रणमा समेत चुनौती थपिएको छ ।