• ९ साउन २०८१, बुधबार

सम्भव छ सफा नेपाल

blog

काठमाडौं, माघ ७ गते । तपाईँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो बिस्तराबाट उठ्नुहुनेछ र आफैँ बिस्तरा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि बढ्नुहुनेछ । ‘मर्निङ वाक’बाट फर्केपछि सफा बाथरुममा नुहाई आफ्नो काम गर्ने स्थानमा पुग्दा घर जत्तिकै सफा पाउनुहुनेछ र सफा विचारले आफ्नो सुन्दर जिम्मेवारी पूरा गर्नुहुनेछ । हरेक साँझ आरामको निद्रा पाउनुहुनेछ तपाईँ आफैँले बिहान ठिक हालतमा राखेको बिस्तारामा । तपाईँ हरेक राति सफा र सकारात्मक विचार लिएर सुत्नुहुनेछ र मिठो निद्रा निदाउनुहुनेछ । अनि बिहानको दैनिकी पनि माथिजस्तै सुरु हुनेछ । 

नेपालका हिमाल पहाड तराईका हरेक बस्तीमा सफा र ‘अर्ग्यानिक’ भोजनालय हुनेछन् । त्यहाँ सफा र मिठो खाना खान पाइनेछ । सेफहरूले पाहुनालाई सफा भान्सा देखाउनेछन् (विदेशतिर हिजोआज ‘ओपन किचेन’ भन्ने गरिएको) र मिठो खाना पस्कनेछन् । सफा ठाउँमा बसेर मिठो खाना खाने पाहुनाको मिठो सपना पनि पूरा हुनेछ । यही हो हाम्रो स्वच्छ नेपाल, जहाँ विद्यालयका छात्रछात्रा, कार्यालयका महिला कर्मचारी र आफ्नो काममा हिँडेका बटुवा महिला सफा शौचालयमा शौच गर्न पाउने भएकाले घरबाट पर्याप्त पानी पिएर यात्रामा निस्कनेछन् । गुडिरहेको गाडीबाट कुनै यात्रुले फोहर जथाभाबी फाल्ने छैनन् । सार्वजनिक स्थानमा अनिवार्य फोहर सङ्कलन गर्ने टोकरी (बिन) हुनेछन् र ती नियमित तालिकाअनुसार खाली र सफा गरिएको हुनेछ । सङ्कलित फोहाेर खेर फालिने छैन । सबै घर, कार्यालय, विद्यालय, स्वास्थ्यचौकी, कलकारखानाको फोहर बस्तीभन्दा अलि टाढा कुहिने र नकुहिने गरी अलगअलग टोकरीमा छुट्याएर राखिनेछ । कुहिने फोहोरले मल र ऊर्जा उत्पादन गरी गाउँघर मलिलो र उज्यालो बनाइनेछ भने नकुहिने वस्तुको उचित सदुपयोग गरी पुनः प्रयोग गर्न मिल्ने बनाइनेछ ।

देश जोड्ने लामा, छोटा राजमार्गका समुचित दूरीमा सफा शौचालयहरू हुनेछन् । एउटा गाउँसरहको फोहोर अर्को गाउँसरह बोकेर लैजानुपर्ने छैन । भवन, नदी, खोलानाला, कोरिडोर सबै सफा, सुन्दर र प्राकृतिक वासनादार हुनेछन् । श्रद्धालुहरूका लागि मठ, मन्दिर, चैत्य गुम्बा, चर्च सबै उनीहरूका मन जस्तै सफासफा हुनेछन् । अनि हामी भन्नेछौँ– यही हो हाम्रो स्वच्छ सफा नेपाल, हाम्रो देश ।

हरेक धाराको पानी हिमालको जस्तै निस्फिक्री पिउन मिल्नेगरी सफा हुनेछ । हरेक हिमाल उक्लँदा र ओर्लँदा हामीले मानव निर्मित फोहरका भारी निर्दोष हिमाललाई बोकाउने छैनौँ । हाम्रो देशमा जन्म लिने हरेक शिशुले सफा र स्वस्थ सासको झोक्का लिनेछन् । सफा हुनेछ हाम्रो धर्ती । हाम्रो माटो र मातृभूमि । सरसफाइका लागि हामीसँग व्यावहारिक कानुन र नियम हुनेछन् र ती नियमहरू हामी कसैलाई दण्डित गर्न लागू हुने छैनन् । किनभने विना दण्ड  जरिबाना नै सफा नियम सफा नियतमा बद्लिनेछन् र हाम्रो समाज सदा सफा रहनेछ । त्यसैले सम्भव हुनेछ सफा समाज अनि सफा नेपाल ।

माथि व्यक्त विचार कल्पना र भावनाका उपज होइनन् । नत यी कुनै साहित्यिक रचना नै हुन् । यी पूर्णरुपले सम्भव विचार मात्र हुन् । किनभने हामीले ‘सफा नेपाल सम्भव छ’ भनेर सोच्नुको कारण पनि यही हो कि यो निसन्देह सम्भव छ । यो आधुनिक यान्त्रिक विज्ञानको जटिल अनुसन्धान नभएर हाम्रो नियमित जीवन शैलीलाई नियमन गरेर हाम्रो स्वास्थ्य मन र हृदयले खोजेको र गर्नसक्ने काम हो, सुन्दरता कल्पना मात्रै होइन ।

एउटा बहस गरौँ– नेपालको गाउँदेखि सहरसम्म व्याप्त फोहरमैलासहितका समस्यासँगै समाधानका सम्भावना खोज्ने के हुन सक्छन् ? यसका सम्भव र सकारात्मक उपायहरू किन अवलम्बन नगर्ने ? यो बहसले एकल प्रयासभन्दा माथि उठ्दै सामूहिकरुपमा अठोट गर्ने अवस्था सिर्जना गर्नेछ । यदि यसो भयो भने विश्वका उत्कृष्ट सफा सहर र देशमा नेपाललाई समाहित गर्न किन धेरै समय पनि लाग्नेछैन ।

फोहर व्यवस्थापन र फोहर पानी शुद्धीकरणसँगै पर्यावरणीय कामहरूका आधारमा सफा देशको सूचीकरण हुने गर्छ । सन् २०२३ लाग्नेबित्तिकैको ग्लोबल सफा इन्डेक्सअनुसार विश्वमा स्विट्जरल्याण्ड सफा देशको अग्रस्थानमा छ भने नेपाल ‘टप १००’ देश भित्रको सूचीमा पनि छैन । जबकि कुनैबेला विश्वकै बढी फोहर भएका देशको सूचीमा रहेर चिनिएका कतिपय देशहरूले एक दशककै प्रयासमा आफ्नो देसलाई सफा देशको सूचीमा राख्न सफल भएका छन् । सफा सूचीको ४२औँ स्थानमा रहेको कोलम्बिया र ७०औँ स्थानमा रहेका श्रीलङ्काबाट नेपालले धेरै कुरा सिक्न सक्छ । यी देशहरूले पछिल्ला २० वर्षमा फोहर व्यवस्थापन र पानी शुद्धीकरणमा सुरक्षा क्षेत्रमा जति नै लगानी गरेको पाइन्छ ।

सफा नेपाल सम्भव बनाउनका लागि हामी नेपालीमा रहेको बेवास्ता, लापरबाही तथा समस्याकैबीचमा सम्झौता गरेर बाँच्ने स्वभाव भने परिवर्तन गर्नपर्छ । यो परिवर्तन सरकारमा बस्नेदेखि प्रतिपक्ष र तटस्थ बस्नेसम्म सबैमा समान ढङ्गले आउनु आवश्यक छन् । नेपाल प्रकृतिले दिएका अनुपम सम्पदाहरूले भरिपूर्ण देश हो । विश्वका मानिस नेपाललाई प्रकृतिको स्वर्ग भन्छन् । हामीसँग विश्वमा अरू कसैसँग नरहेको हावा, पानी र वनौषधिहरू छन् । हाम्रा हिमालमा स्वस्थ, सफा र स्वच्छ हावापानी छ । अधिकांश नदीहरू हिमालबाटै उत्पत्ति भएर बगेका छन् । पर्यावरणका यति धनी हामी सरसफाइका मापदण्डमा विश्वसामु सफा परिचयको पर्याय बन्न भने सकेका छैनौँ । संसारकै सफा देशको सूचकाङ्कको सर्वाधिक अग्रस्थानमा उभिन नसक्नु पक्कै पनि खुसीको कुरा होइन ।

आफ्नो कथा आफ्नै अनुभव

‘सम्भव छ सफा नेपाल’ अभियानको सुरुआत हामी आफ्नै अनुभवबाट गर्न चाहन्छौँ । यहाँहरू धेरैलाई थाहा छ या बिर्सिनुभयो केही वर्षअघि अस्ट्रेलियाबाट नेपाल फर्कँदा हामीले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको सफाइ अभियानको चौतर्फी प्रशंसा भएको थियो । त्यो सफाइबाट हामीले सफाइ कस्तो हुन्छ भन्ने एउटा नमुना नै प्रस्तुत गरेका थियौँ । अन्तर्राष्ट्रिय विमानस्थल विश्वका नागरिक नेपाल आउने र फर्किने प्रवेशद्वार भएकाले हामीले सबैसामु सफाइको नमुना पेस गर्न पनि विमानस्थल छानेका थियौँ । पहिलो पटक नेपाल अाएको कोही विदेशीले नेपाल प्रवेश गर्नासाथ उसलाई हाम्रो देशप्रतिको दृष्टिकोण राम्रो बन्न सकोस् भनेर पनि हामीले त्यो काम गरेका थियौँ ।

त्यो हाम्रो कामबाट हामीले प्रशंसा पाएपछि अर्थात् सबैले राम्रो मानिदिनुभएपछि हामीले नेपालका सबै सम्माननीयसहित तीन सयभन्दा बढी राष्ट्रिय व्यक्तित्वको हस्ताक्षर सङ्कलन गरी तत्कालीन प्रधानमन्त्रीलाई बुझाएपछि नेपाल सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गरेको थियो । त्यसपछि नेपालको पर्यटन मन्त्रालयले सन् २०२० मा नेपालका दुई दर्जन विमानस्थलको सरसफाइको अनुगमनको जिम्मेवारी दियो र त्यो पनि हामीले नै सफलतापूर्वक सुम्पन गरेका थियौँ । मलाई लाग्छ देशका विभिन्न विमानस्थलमा एक हदसम्मको सफाइको मापदण्ड हामीले स्थापित गराएका थियौँ । तर विमानस्थल प्रशासनहरूले त्यो गुणस्तरलाई कायम राख्न भने नसकेको देखिएकै छ । 

सरसफाइको अनुगमनपछि नेपालमा सरसफाइको खास समस्याको सम्बोधन गर्न २०२२ मा नेपाल सरकार पर्यटन मन्त्रालयको आयोजनामा हामीले सफाइकर्मीहरूका लागि आफ्नो पेसाप्रति गौरव गर्ने र सीपको मूल्याङ्कन हुनेगरी पहिलो पटक तालिम सञ्चालन गर्‍यौँ । हाम्रो यो अभियानबाट हाल एक हजारभन्दा बढी मजदुर तालिमप्राप्त भइसकेका छन् र उनीहरू आआफ्नो काममा छन् । हामी चाहन्छौँ हरेक वर्ष राष्ट्रपतिले प्रदान गर्ने विभूषणमा अब सफाइकर्मीको पनि सम्मान हुनुपर्छ । सफाइकर्मी आफ्नो पेसाप्रति गौरव गर्न थालेका छन् र उनीहरूसँग यो पेसासँग सम्बन्धित सीप भएको प्रमाणपत्र छ । यसरी हेर्दा त लाग्छ नेपाली समाजले सफाइकर्मीहरूलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ । हिजोको सफाइकर्मीको परिभाषा आज बदलिएको छ ।  

सम्भव छ समाधान  

सरसफाइको बहस नेपालको चुलोचौकादेखि सर्वोच्च निकायसम्म स्थापित गरिसकेपछि अब सफा नेपाल यसरी सम्भव छ भन्ने कुरातिर लागौँ । नेपाल प्राकृतिकरूपमा सफा र उज्यालो छ तर यहाँका धेरैजसो मानवबस्ती भने फाेहोर र दुर्गन्धित छन् । हामीले स्वीकार गर्नैपर्ने तीतो सत्य हो यो । नेपाललाई अझै पनि सुनको चराको उपमाले चिनाउँदा कुनै गल्ती हुँदैन । यहाँका प्राकृतिक वैभव र धर्म संस्कृतिभित्रका रैथाने भाषा, साहित्य एवम् पहिचान, अतिथि सत्कार आफैँमा दुर्लभ सौन्दर्य हुन् । तर खानपानदेखि बसाइ व्यवस्थापनसम्मका क्षेत्रमा हामीले सिक्न नपर्ने कुरा विदेशी राष्ट्रहरूको सिको गर्नाले र सिक्नुपर्ने कुरा नसिक्नाले हामीले अव्यवस्था र फोहर मात्र निम्त्याएनौँ उल्टै आफ्नोपनबाट नै हामी विमुख हुँदैछौँ ।

हाम्रो देशमा अझै पनि नीति निर्माणको तहमा हेर्ने हो भने सरसफाइलाई पहिलो प्राथमिकतामा राखेर नीति बन्दैनन् । नत यो प्राथमिकताबाट योजना र कार्यक्रमहरू नै बन्छन् । हाम्रो देशको राजधानी, अन्य सहर वा गाउँ होस् वा गल्ली वा इलाका होस्, जहाँ पनि फोहर जथाभाबी फालेको पाइन्छ । हाम्रो देशलाई विकासको सूचकाङ्कमा माथि उठाउन नदिने धेरै तत्त्व र वस्तुहरूमध्ये फोहरको अव्यवस्था पनि एक हो भन्दा फरक पर्दैन । किनभने फोहरकै कारण हामीकहाँ आएका विश्वका महँगा र महत्त्वपूर्ण पाहुनाहरू दोहोर्‍याएर आउन नरुचाएको पनि हुनसक्छ । के यसतर्फ हामीले सोचेका छौँ ? के यस्ता विषयमा अनुसन्धान गर्न हामीले फुर्सद र स्रोत निकाल्न सकेका छौँ ? अहँ, छैनौँ ।   

दुःखका साथ भन्नुपर्छ, यहाँ धेरैले धेरै कुरा गरे पनि देशलाई पूर्णतया स्वच्छ बनाउन सफा सपना भयको व्यक्ति अझै भेटिएको छैन । पाँच वर्ष लगातार टिक्न नसकेका हाम्रा दर्जनौँ सरकारले सरसफाइका क्षेत्रमा सामान्य कुरा मात्रै गरेका छन् तर एउटा ठोस काम भने गरेका छैनन् । मलाई लाग्छ आज मैले यसो भन्नु भनेको आरोप नभएर खबरदारी मात्र हो । विगतमा यी विषयमा राष्ट्रियस्तरका योजना नबनेका होइनन् र अभियान नचलेका पनि होइनन् । तर यसले निरन्तरता पाएको देखिएन । सहर र बस्तीका हरेक स्थानमा फोहर सङ्कलन गर्ने टोकरी (बिन) राख्ने कुरा गरियो र राखियो पनि । तर त्यो बिनभित्रको पोहोर त्यहाँबाट भोलिपल्टै अर्थात् दैनिक हटाउने बारेमा भने सोचेको देखिएन  ।

आज पनि हाम्रो देशका गाउँमा थोरै घरमा मात्रै शौचालयको सुविधा छ । आज पनि मानिस गाउँघरमा दिसा गर्न खुला स्थलमा बाहिर निस्किने चलन कतैकतै देखिएकै छ । प्लास्टिकका झोला र बोटलहरु गाउँघर, खेतीपातीसम्मै पुगेका छन् । सहरको कुरा गर्ने हो भने पर्याप्त सार्वजनिक शौचालय नै छैनन् । शौचालय भए पनि सफा छैनन्, उल्टै रोग भित्र्याउने किराहरू बग्रेल्ती देखिन्छन् । कलकारखानाबाट निस्कने फोहर, ढल, घरेलु फोहर धेरै छ तर यसको लेखाजोखा नै छैन । यस्तो फाेहोर सडकमा यति धेरैमात्रामा अव्यवस्थित छ कि कतैकतै त हाम्रो देशको सडक नै देखिँदैन, फोहाेर मात्रै देखिन्छ । त्योभन्दा दुःखको कुरा त यो पफाहोर हाम्रा पवित्र नदीमा पनि बग्छ । सरकारको अनुहार देखिने सरकारी निकाय वा मन्त्रालय गयौँ भने शौचालय सोध्न पर्दैन, गन्धबाटै भेउ पाउन सकिन्छ । शौचालय दायाँ कुनामा छ कि बायाँ नाक थाप्दै जाँदा आफैँ भेटिन्छ ।

नेपालमा अर्बौँ लगाएर निर्माण भएका भवन उद्घाटन गर्दा थुप्रिएको फोहाेर अर्को दिनसम्म सफा नभएका उदाहरण पनि धेरै छन् । सत्तामा कसरी पुग्ने भन्ने खेलका समाचारहरू दिनदिनै पढ्न पाइन्छ तर देशको स्वास्थ्य र सभ्यतासँग जोडिएको सरसफाइका बारेमा नेताका एजेन्डा जनताले सुन्न पाएका छैनन् । कतै घोषणापत्रमा सुनेका भए पनि व्यवहारमा देख्न पाएका छैनन् । यस्तो लाग्छ कि नेपालमा सरसफाइ भनेको केही सफाइकर्मीको रोजगारीसँग र केही अभियन्ताको अभियान सँगमात्रै जोडिएको सामान्य विषय मात्र हो ।

देश सफा गर्ने जिम्मा सफाइकर्मीको मात्र हुँदै होइन । सरकारको नीति र आम नागरिकको भूमिका प्रमुख विषय हुन् । यसका लागि हामीले हाम्रो सोच नै परिवर्तन गर्नुपर्छ । सोच परिवर्तन गर्न सही नीतिका साथ एउटा स्पष्ट योजना र पुग्नुपर्ने लक्ष्य निर्धारित हुन आवश्यक छ । नीति निर्माण गर्दा निर्धारण गरिएका मापदण्डअनुसारको परिणाम देखिनुपर्छ । यी नीतिको अभ्यास नै हुन सकेन, कार्यान्वयनको त झन् के कुरा गर्नु ।  

निष्कर्ष : सरसफाइ प्राधिकरण

सरकार र नागरिकस्तरमा सरसफाइ अभियानहरू उद्देश्य प्राप्त नभएसम्म निरन्तर चलिरहनुपर्छ । त्यसका लागि सरसफाइ मात्रै हेर्ने अधिकार सम्पन्न प्राधिकरण बनाउन आवश्यक छ । उक्त प्राधिकरणले नेपालको सरसफाइको आजसम्मको अवस्थाको मूल्याङ्कन गरेर भविष्यमा नेपालले गर्नुपर्ने स्पष्ट मार्ग चित्र बनाएर लागू गर्नसक्छ । ‘सफा नेपाल सम्भव’ बनाउन यस विषयका विज्ञ, अभियन्ता र जिम्मेवार सरकारी निकायको सहभागिता रहने उक्त प्राधिकरण बन्नु नै अहिलेको महत्त्वपूर्ण आवश्यकता हो । यो बनाउन ढिला गर्नु पनि हुँदैन ।

द्वन्द्वपछिको समाजमा एकता, शान्ति र स्थिरता कायम गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग बने जस्तै सरसफाइको हिसाबले प्राचीनताबाट आधुनिकतातर्फ गइरहेको नेपाली समाजको सफा मानचित्र निर्माण गर्ने एकमात्र उपाय सरसफाइ प्राधिकरण हो । उक्त प्राधिकरणले माथि देखिएको ‘सफा नेपालको सुन्दर सपना’ पूरा गर्न कम्तीमा निम्न चार काम गर्नेछ । स्पष्ट सरसफाइ नीति निर्माण, कार्यान्वयनको ठोस विधि र मूर्त संयन्त्र निर्माण, तत्काल कार्यान्वयन र प्रत्यक्ष तथा परिणाममुखी अनुगमन । यी चार कामकाबारेमा विस्तृत व्याख्या गर्न हामीले समयमात्र लगानी गर्नुभन्दा पनि योजना निर्माणमा लाग्दा सफा नेपाल सम्भव हुनेछ । यी र यस्तै अन्य एजेण्डाहरुमा बहस त हामी गर्ने नै छौँ । तर सफा जमिनमै उभिएर सफा श्वास फेर्दै बहस गर्न पाए कति जाति हुन्थ्यो होला ?